धनगढी ।राष्ट्रपति विद्यादेवी भण्डारीले अब केही बेरमा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको सङ्घीय संसद्को प्रतिनिधि सभा बस्ने सभा कक्षमा संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्न लागेको हो ।
राष्ट्रपतिद्वारा सदनलाई सम्बोधन गर्ने कार्य सूची रहेकाले सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरलाई सिँगारिएको छ । कोभिड–१९ को मापदण्डलाई पालना गर्दै सांसदहरूको सिट व्यवस्थापन गरिएको जानकारी संसद् सचिवालयले दिएको छ । सो संयुक्त बैठकलाई सम्बोधनमार्फत आगामी आर्थिक वर्ष २०७९÷८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । सङ्घीय संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले संयुक्त बैठकका लागि सबै तयारी पूरा भएको जानकारी दिनुभएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको गठबन्धन सरकारको पहिलो नीति तथा कार्यक्रम हो । आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्ष ०७९र८० को नीति तथा कार्यक्रम पारित गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको जानकारी दिनुभयो ।