धनगढी । कैलाली बहुमुखी क्याम्पसको मानविकी तथा समाजशास्त्र विभाग अन्तर्गत पत्रकारिताका विद्यार्थी र सञ्चारविज्ञ बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपालमा व्यवसायिक पत्रकारिताका चुनौतीहरु विषयक उक्त अन्तरक्रिया कार्यक्रममा क्यानडाको ओटवा विश्वविद्यलयमा प्राध्यापन गर्दै आउनुभएका लेखक एवं सञ्चार अनुसन्धानकर्ता भानुभक्त आचार्य –पिएच.डीले नेपाली मिडिया क्षेत्रमा स्वार्थ बाझिने मिडिया अन्तरवस्तुको उत्पादन पछिल्लो समय प्रमुख चुनौतीको रुपमा रहेको वताउनुभयो ।
यस्तै क्रियाशील पत्रकारले राजनितिक दल वा कुनै कम्पनीका प्रेस सल्लाहकार जस्ता अन्य पेशा वा दोहारो जागिर गर्ने कुरा पनि चुनौतीको विषय रहेको उहाँले वाताउनु भयो । यसले समाचार सामग्रीको गुणस्तरियता र निष्पक्षतामा कमी ल्याउने उहाँको भनाई छ । यस्तै आर्थिक तथा वित्तिय समस्या, नैतिक सिद्धान्तको पालना, राजनितिक हस्तक्षेप र राजनितिक संगठनमा पत्रकारको आवद्धता व्यवसायीक पत्रकारिताका प्रमुख चुनौतीहरु रहेको उहाँको भनाई छ ।
कार्यक्रममा सुदुरपश्चिमका वरिष्ठ पत्रकार एवं नेपाल प्रेस युनियन सुदुरपश्चिम प्रदेशका अध्यक्ष मनमोहन स्वारले सुदुरपश्चिममा व्यवसायिक पत्रकारिताको अभ्यासबारे चर्चा गर्दै न्यून लगानी र आर्थिक चुनौतीका बाबजुत यस क्षेत्रका मिडियाले आफ्नो अस्तित्व जोगाईराख्न सामना गर्नुपर्ने अवस्था रहेको वाताउनुभयो । यस्तै पत्रकारिता पेशालाई व्यवसायीक र संस्थागत बनाउन अझै धेरै चुनौतीहरु रहेको उहाँको भनाई छ । उहाँले पछिल्लो समय अनलाईन मिडियाको समाचार एक अर्काबाट कपि गर्ने र प्रविष्ट गर्ने प्रवृत्ति बढेको र विट पत्रकारिता शुन्य रहेको वताउनुभयो । विज्ञापन वितरणमा भेदभाव रहेको पनि उहाँको गुनासो छ ।
यस्तै पत्रकार महासंघ कैलाली जिल्लाका अध्यक्ष हिमाल जोशीले राजनितिक आवद्धता पत्रकारहरुको प्रमुख पेशागत र व्यवसायिक चुनौती रहेको वताउनु भयो । कैलालीमा पत्रकारहरुको संलग्नता र सक्रियता बारे चर्चा गर्दै उहाँले पछिल्लो समय महासंघको सदस्यतामा शुद्धिकरण अभियान मार्फत पनि पत्रकारहरुलाई फिल्टर गरिरहेको वताउनु भएको छ । जस मार्फत कैलाली जिल्लामा १९१ जना पत्रकारहरुको सदस्यता रहेका मध्ये ६० जनाको सदस्यता नै नविकरण नगरिएको र ५० जना नयाँ थपिएको उहाँले जानकारी दिनुभयो । यस्तै क्षमता अभिवृद्धिका लागि समय–समयमा अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्ने गरेको उहाँले वताउनुभयो। यस्तै श्रमजिवी पत्रकारले पारिश्रमिक नपाउने, कोरोना महामारी पछिको आर्थिक मन्दी जस्ता समस्याले पत्रकारितामा चुनौती थपेको उहाँको भनाई छ । शुद्ध आचरण र नैतिकताको पालनाले मात्रै पत्रकारितालाई दिगो र व्यवसायिक बनाउन सकिने उहाँले वातउनु भयो ।
कार्यक्रममा रेडियो नेपालका कैलाली संवादाता जगत साउदले रेडियो नेपालको पहुँच र वस्तुस्थितिबारे चर्चा गर्दै रेडियो मार्फत सांस्कृतिक, आर्थिक, सामाजिक र पर्यटन सम्भावनालाई उजागर गर्ने प्रयासमा आफुहरु लागिपरेको वताउनु भयो । समावेशिताको सिद्धन्तलाई अङ्गीकार गर्दै रेडियो सामग्री उत्पादनमा पनि जोड दिईरहेको र पत्रकारिताका विद्यार्थीहरुले सबै किसिमका सञ्चार माध्यम अध्ययन गर्ने, सुन्ने, पढ्ने तथा हेर्ने र सहि सदुपयोग गर्ने बानीको विकास गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा केन्द्रविन्दु मिडियाकी समाचार सम्पादक कोयल पन्तले सञ्चार माध्यममा यौन दुव्र्यवहार, लैङ्गिक विभेद, पतृसत्तात्मक दृष्टिकोण जस्ता समस्या भोग्नु पर्ने भएकाले महिलाले आफैले सशक्त हुनुपर्नेमा जोड दिनुभयो । विभिन्न समस्याका बाबजुत पनि मनोवल उच्च बनाएर लागेमा मात्र महिलाले पत्रकारितामा व्यवसायिक र पेशागत सफलता हाँसिल गर्न सक्ने उहाँको भनाई छ ।
यस्तै कैलाली वहुमुखी क्याम्पसका प्रमुख डा.धर्मराज उपाध्यायले पछिल्लो समय पत्रकारितामा भाषाको चुनौती पनि बढ्दै गएको वातउनुभयो । व्यवसायिक पत्रकारिताले राज्यलाई पारदर्शी र जवाफदेही बनाउने भएकाले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागु गर्न अपरिहार्य रहेको भन्दै विद्यार्थीहरुले अझ सिर्जनशील बन्न आग्रह गर्नु भयो ।
यस्तै स्वतन्त्र विद्यार्थी युनियन कैलाली वहुमुखी क्याम्पसका अध्यक्ष यमराज जोशीले क्याम्पसमा पत्रकारिताका विद्यार्थीहरुका लागि पर्याप्त पुर्वाधारहरुको व्यवस्था रहेकाले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा पनि लागु गर्न विद्यार्थीहरुलाई सुझाउनु भयो । उच्च आदर्श र आचरणको निर्माण र अभ्यासले नै व्यवसायिक सफलतामा सहयोग पुग्ने भएकाले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्नमा आफ्नो पूर्ण सहयोग रहने उहाँले वताउनु भयो ।
यस्तै कार्यक्रममा पत्रकारिता विभागका उप–प्राध्यापक भुवन भण्डारीले व्यवसायिक पत्रकारिताका चुनौतीहरु विषयमा कार्यपत्र प्रस्तुत गर्दै पत्रकारिताका प्रमुख चुनौतीहरुबारे प्रकाश पार्नु भएको थियो । पत्रकारिता पेशामा टिकाउ र विकाउ बन्न सक्नु नै प्रमुख कुरा भएकाले अध्ययनशीलता, अद्यावधिक गर्ने क्षमता, प्राविधिक ज्ञान र दक्षताको विकास गर्न नसक्नु पनि प्रमुख चुनौती रहेको वताउनु भयो । विभिन्न किसिमका दवाव, प्रभाव र अभावहरु पत्रकारिताको अभ्यास र व्यवसायिकताको चुनौतीका रुपमा विगत देखि वर्तमान सम्म विद्यमान रहेको उहाँको भनाई छ ।
उक्त कार्यक्रमका सभापति क्याम्पसका मानविकी तथा समाजशास्त्र संकायका विभागिय प्रमुख सह–प्राध्यापक हरिराम चौधरी रहनुभएको थियो ।