“ओल्के सङ्क्रान्ति” सुदूरपश्चिमको मौलिक चाड
डोटेली शब्दकोषका अनुसार ओल्को भन्नाले भाद्र सङ्क्रान्तिका दिन मान्यजन वा आफन्तका घरमा फलफूल वा सागपात दिने कोसेली/उपहार अथवा सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ ।
धनगढी । आफू दार्चुलेली, त्यसमा पनि सुदूरपश्चिमेलीको हैसियतले हाम्रो समाजमा चलिआएका रीतिरिवाज, चाडपर्व, धार्मिक एवम् सामाजिक संस्कारहरूमा नविनता आइरहेको परिप्रेक्ष्यमा पश्चिमा मूलुकहरूको अनुसरण, चाडपर्व मनाउने नाममा छरछिमेकमा तडकभडक तथा प्रतिस्पर्धाको होडबाजी, हुनेखानेहरूले त सजिलैसँग चाडपर्व मनाउँछन् भने मध्मम तथा निम्नवर्गीय जो हातमुख जोड्न पनि अप्ठ्यारोमा छन्, तिनको लागि भने चाडपर्व दसा जस्तै भएको छ ।
हाम्रो परम्परागत खानाका परिकारहरूको ह्रास, शिष्टाचारमा नौलोपना आदिले गर्दा कतै हाम्रो मौलिकता, परम्परा, संस्कार तथा रीतिरिवाज लोपहुने अवस्थामा त छैनन् कि ! आफू संस्कृतिविद तथा इतिहासविद नभएपनि यस्ता कुराहरूमा चाँसो भने अवश्य राख्ने गरेको छु । हाम्रा यस्ता चाडपर्वहरू आएपछि फेसबुक, ट्वीटर, मेसेन्जर लगायतका विद्युतिय सामाजिक सञ्जालमा प्रसस्त मात्रामा खानाका परिकारहरू पोष्ट्याई शुभकामना आदान प्रदान गरेको देखिन्छ । यस्ता कुराहरूमा भने मेरो विमति रहेको छ । हामीले पोष्याएका कागजी तथा विद्युतिय परिकारहरू के साँच्चिकै हामी घरमा बनाएर खाने गर्छाैं कि ! यस्ता कुराहरूले हाम्रा परम्परागत धार्मिक, सामाजिक चालचलन, रीतिरिवाजहरू लोपहुने छन् भन्ने लेखकको बुझाई रहेको छ ।
आज भाद्र – १ गते ओल्के संक्रान्ति हो । यसको सामान्य जानकारी पाठक समक्ष पेशगर्ने जमर्काे गरेको छु । डोटेली शब्दकोषका अनुसार ओल्को भन्नाले भाद्र सङ्क्रान्तिका दिन मान्यजन वा आफन्तका घरमा फलफूल वा सागपात दिने कोसेली/ उपहार अथवा सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ । यस्तो उपहार दिने “विशेष दिन” नै ओल्के संक्रान्तिका नामले सुदूर–पश्चिममा धुमधामसंग मनाईन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात (गाभा), फलफूल आदि दिनु, सेल, पुरी, लाउन, बटुक, मासको फाङो, खजुरा, निस्सासे, पलेउ, गाभाको तरकारी, डुब्का, खजुरा, खीर आदि मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ । तर हाम्रो ओल्कोलाई शाब्दिक अर्थले उपहार लिनु दिनुमा मात्रै सीमित राखेमा यो पर्वको खासै महत्त्व नरहेको तथा उपहास गरेको ठहर्दछ । ओल्को लिनु दिनु यहाँको संस्कृति, परम्परा र आस्थाको प्रतीक पनि हो ।
सुदूरको जनजीवनमा वर्षाको समयलाई अती विपत्तिको एकांकी समय मानिन्छ । बाढी पहिरोले गाउँहरूको आपसी सम्पर्कमा बाधा पुग्दछ । तथापि अहिलेको सञ्चार प्रविधिले भने सम्पर्कमा केही सहजता अवश्य पनि भएको छ । प्रकृतिको रुप–रंग फेरिन्छ । खोला–नाला सुसाएका हुन्छन् । तर समय परिवर्तनशील छ । यस वर्ष मेरो दार्चुलामा खोला सुसाएको सुनिएन है । हरियालीले पाखा पर्वत ढाकेको हुन्छ । कामको चटारोले कसैलाई फुर्सद हुँदैन । यस पर्वमा आफन्तहरूलाई सम्मान स्वरुप उपहारसहित ढोग भेट गर्न जाँने चलेको रहेको छ । यो शास्वत भावमा ओल्कोको परम्परा अहिले अझ सान्दर्भिक हुन गएको छ।
यो पर्व विशेषमा ओल्कोको रूपमा फलफुल, सागपात, अन्न, दूध, दही, घिउ, गूड, सेलरोटी, पुरी, लाउन, खीर, खजुरा आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ । शिल्पकर्मीहरूले आ–आफ्ना सिर्जनासमेत पठाउन गर्दछन् (डोको, नाम्लो, कुड, हलेनो आदि) । अचेल लुगा–कपडा, पैसा वा यस्तै अन्य उपहारसमेत दिने प्रचलन बढ्दो छ । यतिमात्रै होइन, किसानहरूले इष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को चढाउँछन् । विभिन्न जातिहरूमा नयाँ अन्नको न्वागि चढाउने चलन पनि रहेकोछ । यस्ता दिनमा मिठो मसिनो खानपानको जोहो त हुने नै भयो ।
कुमाऊँ तिर यस पर्वलाई घिउ तिहार भनिन्छ । यसदिन घिउ खानै पर्ने हुन्छ भन्ने मान्यता रहेको छ । त्यहाँको लोकमान्यतामा ओल्के संक्रान्ति नमानेमा अर्को जुनीमा शंखेकिरो ( गड्यौला ) भइन्छ भन्ने जनविश्वास रहेको छ । कतैकतै चतुर्मासको बेला कैलाशतिर गएका देउताहरूलाई सम्झदै देवस्थलमा बत्ती बाली नयाँ अन्नको कोसेली चढाइएको हो भन्ने मान्यता पनि छ ।
ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अलिक उच्चो टाकुरामा सबैजना मिलेर रूखका हांगाविंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानीय भाषामा ”बुढी हालेको” भन्दछन् । उच्चो टाकुरा भने पछि मैले पनि कलिलो उमेरमा बुढी हाल्दा र पोल्दा घरभन्दा माथि लेक ठुलखालीमा गएर दौंतरीहरूसंग खलेको रमाएको संस्मरण अहिले पनि छ । रुखका हाँगाबिँगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर बनाइएको बूढीलाई असोज संक्रान्तिका साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर बूढी पोल्ने पर्व मनाउने परम्परा छ । बुढी पोल्ने भनेपछि मलाईपनि विगतको बुढी पोलेको दिनको झझल्को आइरहेको छ । हामी छरछिमेकका सबै अल्लारे ठिटाठिटीहरू बुढी पोल्न एक उपयुक्त ठाउँमा गएर आफ्नो आफ्नो घरमा भएका गाईवस्तुहरूको स–साना ढुङ्गाहरूको प्रतिमा बनाई केटाकेटीको विधान सम्मत नाँच्दै, गाउँदै “थु बुढी थु“ भन्दै हात हातमा भएको आगोको राँकोद्वारा बुढीको चितामा दागबत्ती दिने गरिन्थ्यो । यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासङ्ग पनि जोडिएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा मात्रै यो ‘बूढी पोल्ने’ पर्व मनाइने गरिन्छ । घरबाट आगोको राँको निकाल्दा पूरै घरलाई घुमाएर निकाल्ने गरिन्छ । घरबाट चिरेको काँक्रो, मकैको लया लगेर पोलेको बूढीमा थुक्ने गरिन्छ । उक्त बुढी पोल्ने सृथानमा नैबेद्य स्वरुप काँक्रो तथा अन्य फलफूलहरू समेत खाने गरिन्छ । यसरी बूढी पोलेमा वर्षभरि लुतो लगायतका रोग–व्याधिबाट आफू र परिवारजन मुक्त हुने मान्यता रहेको छ ।
आजका दिनमा गाउँगाउँका युवायुवती जम्मा भएर पिङ खेल्ने, डेउडा खेल्ने, मुर्गाझपट खेल्ने, राउण्ड टाइम खेल्ने तथा दिउँसोभरी रमाईलो गर्ने र बेलुका बुढीहाल्ने गर्दछन् । आज बुढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको छ । विजय उत्सवका रूपमा मनाइने बुढी हाल्ने र पोल्ने यो पर्वमा बुढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिन्छ । राक्षसी पुतनाले आफ्नो स्तनमा कालकुट विष दलेर कृ्ष्णलाई चुसाउँदा कृष्णले पुतनाको बध गरेको कथा महाभारतमा तथा अन्य धार्मिक ग्रन्थहरूमा सुन्न पाइन्छ । परम्परागत किंबदन्ती अनुसार भगवान श्रीकृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) ले पुतनाको शव दहन गरेको कथन रहे अनुसार यो पर्व मनाइन्छ ।
साउने झरी सकिए लगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसियालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ । साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्त्वका साथ ओल्के पर्व मनाइने परम्परा रहि आएको छ ।
ओल्को भन्नाले ’उपहार’ वा ’कोसेली’ भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा मान्यजनलाई सम्मानस्वरुप कर्कलाको भित्री पात (गाभा), फलफूल, सेलरोटी, पुरी आदि दिनु, छोरीबेटीहरूलाई घरमा बोलाएर मीठो–मसिनो खानदिनु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो ।
धन्यवाद !!
मान सिंह धामी (भौनबाटी)
उप–प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी ।