धनगढी। सर्वप्रथम त यही मंसिर – १ गतेदेखि हुनगइरहेको मेलाको सम्पूर्णमा शुभकामना व्यक्त गर्दछु ।
म दार्चुलेली र हाम्रो क्षेत्रको प्रमुख चाडपर्व, परम्परा र रीतिरिवाजहरू मध्ये जौलजिबी मेला पनि प्रमुख मनोरञ्जनात्मक चाडको रुपमा रहेको छ । यही २०८० मंसिर – १ गतेदेखि धुमधामसँग जौलजिबी मेला लाग्दैछ छ । मलाई पनि जौलजिबी मेलाको झझल्को आइरहेको छ । हुन पनि झझल्को किन नआओस र ! सानोमा जौलजिबीबाट नै नुनतेल, लत्ताकपडा, भाँडाकुँडा आदि सरसामान किनमेल गरेको, घिउ लगायत गुड, सुन्तला, दलहनको बिक्रीवितरण गरेको तथा झन २ वर्ष आई. एस्सी. जौलजिबीबाट नै गरेकोले पनि कहिलेकाहीं आफू बसेको, अध्ययन गरेको, आवतजावत गरेको ठाउँको झझल्को त कसलाई पो नआउला र ! अझ भन्नु पर्दा दिनभरी जौलजिबी मेला हेरेर साँझ यसै मेलाबाट वि. सं. २०४६ सालमा जम्मु कास्मिरको यात्राको थालनी गरेको ।
दार्चुला जिल्लाको जौलजिबी भन्ने ठाउँमा महाकाली नदीले भारत र नेपाललाई सिमाङ्कन गरिदिएको छ । जौलजिबी वारिपारि मंसिर – १ गते देखि १०÷१२ गते सम्म प्रत्येक वर्ष ठुलो मेला लाग्ने गर्दछ । उक्त मेला भर्न हाम्रो नेपालको तर्फबाट जुम्लाबाट सयौंको सङ्ख्यामा घोडाहरु जान्छन । दार्चुला जिल्लाका सबै क्षेत्रहरू दुहुँ, ब्यास, मार्मा र लेकम तथा छिमेकी जिल्ला बैतडी, बझाङ, डडेल्धुरा, कैलाली र कञ्चनपुरबाट व्यापारगर्न र मेला हेर्न हजारौंको सङ्ख्यामा मेला अवलोकनकर्ताको उपस्थिति हुने गर्दछ । भारतमा टाढा टाढाबाट आएका भारतीयहरु घोडाको मोल मोलाई गरी घोडाहरुको किनबेच गरिन्छ । जौलजिबी मेला दार्चुलाबासीका लागि ठुलो पर्वको रुपमा लिइन्छ । भारतमा पनि मुम्बई, दिल्ली, मथुरा, हल्द्वानी, बरेली, टनकपुर, चम्पावत, लोहाघाट, पिथौरागढ, मुन्स्यारी, थल, गोरीछाल, धारचूला लगायतका विभिन्न ठाउँबाट प्रत्येक वर्ष ब्यापारीहरु मेला भर्न आउने गर्दछन् । जौलजिबी मेलाको बारेमा चित्रण गर्दैगर्दा उक्त ठाउँको परिदृश्यको बारेमा पनि वर्णन गर्नु सान्दर्भिक हुन्छ । जौलजिबी दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाअन्तर्गत वडा नम्बर – ७ मा महाकाली नदीको किनारमा अवस्थित रमणीय ठाउँ हो । अहिले त सडक बाटो घाटो यातायाको सुबिधा आदिले गर्दा भारतीय बजारमा व्यापार व्यावसायले गति लिन नसके पनि पहिलेको भने व्यपारिक नाका नै हो । महाकाली नदीको पारि भारतमा पनि जौलजिबी रहेको छ । उक्त ठाउँ महाकाली नदी र गोरी गंगा नदीको संगम दोभानमा अवस्थित छ । महाकाली नदीमा भारत नेपाल जोड्ने झोलुङ्गे पुल रहेको छ । मेलाको बारेमा वर्णन गर्दैगर्दा यसको सुरुवातीलाई पनि उल्लेख गर्नु सान्दर्भिक ठानेको छु ।
२० औं शताब्दिको सुरुवात सन १९१४ मा भारत अस्कोटका पाल राजा गजेन्द्र बहादुर पालले जौलजिबी मेलाको सुरुवात गरेका हुन् । त्यति बेला जौलजिबी अति नै दुर्गम क्षेत्र थियो । यहाँबाट आवश्यक सामान किनमेल गर्न मानिसहरू पैदल अल्मोडा वा टनकपुर जाने गर्दथे । मानिसहरूको दुःख कष्टलाई ध्यानमा राखेर बर्षभरीकोलागि चाहिने सबै मालसामानहरू एकमुष्ट मेलामा नै उपलब्ध गराउने अभिप्रायले तल्लो मल्लो अस्कोटको केन्द्रबिन्दु महाकाली नदी र गोरी नदीको संगम स्थल दोभानमा अवस्थित अति रमणीय स्थान जौलजिबी (भारत) मा अस्कोटी राजाले यो मेलाको सुरुवात गरेका हुन् । मेलाको लागि चाहिने आवश्यक सरसामानको लागि आगरा, मथुरा, बरेली, दिल्ली, रामपुर मुरादाबाद, मेरठ, काशीपुर, रामनगर , अल्मोड़ा, हल्द्वानी र टनकपुरका व्यापारीहरू यस मेलामा आउने गर्दछन् । उक्त मेलामा मित्र राष्ट्र नेपाल र छिमेकी देश तिब्बतका व्यापारीहरूलाई पनि बोलाएकादथिए । मेलामा नेपाल र तिब्बतीहरूको उपस्थितीले गर्दा अन्तर्राष्ट्रिय स्तरको मेला हुन पुग्यो । यो मेला सुरुवातमा एक महिनासम्म लाग्ने गर्दथ्यो । सन १९६२ मा भारत र चीन बीच युद्धभएपछि मेलामा तिब्बतीहरूको उपस्थिती बन्द भयो । तीस वर्षपछि भारत–चीन व्यापार प्रारम्भ भएपछि फेरी भारतीय व्यापारी तिब्बती सामानहरूको पसल लगाउन थालेका हुन् ।
अतः जौलजिबी मेला दार्चुलाबासीहरूको लागि एक महत्त्वपूर्ण चाड मेलाको रुपमा रहेको छ । मेलामा चर्खा, सर्कस, कलाकारहरुको सानदार प्रस्तुती, रामलिला, भाँडाकुँडा , कपडा, मिठाईँका परिकारहरू आदि सबै सुपथ र सुलभ मूल्यमा उपलब्ध हुन्छन् । दार्चुला जिल्लाका नौ वटै स्थानीय तहबाट हजारौंको संख्यामा मेला भर्न जाने गर्दछन् । घरमा उत्पादित घिउ, मह, सुन्तला, भटमास तथा अन्य दलहन, गुड लगायतका खाद्यवस्तुहरू जौलजिबी मेलामा बिक्रीवितरण पनि गरिन्छन् । नेपालको जुम्लाबाट आयातित घोडाहरू पनि मेलाको विशेष आकर्षणको रुपमा रहेका हुन्छन् । समग्रमा महाकाली नदीले सिमाङ्कन गरेको नेपाल र भारतको सिमाना जौलजिबीमा प्रत्येक वर्ष मंसिर –१ गतेबाट १०÷१२ गते सम्म ठुलो मेला लाग्ने गर्दछ ।
केही वर्षयता जौलजिबी नेपालमा पनि पारि जौलजिबी जस्तै भव्य मेला लाग्ने गर्दछ । यसपाली २०८० को मेलामा पनि दार्चुलाको स्थानीय तह विशेषगरि मालिकार्जुन गाउँपालिकाले मेलालाई अझ सभ्य, भव्य र आकर्षक बनाउन साँस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरेको छ । उक्त साँस्कृतिक समारोहमा दामाहा, झ्याली, मसकिविन, विगुल, झाँकी सहित हुनैनाथ, मालिकार्जुनको फाग, झोडो, विभिन्न कलात्मक नाचगानका साथमा स्थानीय जनप्रतिनिधिहरू, भारतका जनप्रतिनिधिहरू, विशिष्ट व्यक्ति, समाजसेवी, वुद्धिजिवी लगायत नेपाल र भारतका हजारौं दर्शकहरूको उपस्थिति हुनेछ ।
जौलजिबी मेलाको परिदृश्य चित्रण गर्दै गर्दा यसको व्यवस्थापकीय पक्षलाई नसमेटेमा यो लेख मात्र नभइ मेला नै अधुरो पो हुने हो कि जस्तो लागेर थोरै यस मेलाको व्यवस्थापकीय पक्षलाई पनि समेट्ने प्रयास गरेको छु । यस मेलामा जौलजिबी वारिपारि दुबै देशमा अनुशासित सुरक्षाकर्मीहरू तैनाथ गरिएका हुन्छन् । मेला स्थलको सरसफाइको लागि सेनिटेरियनहरूको व्यवस्था गरिएको हुन्छ । मेला स्थलमा हुने विभिन्न भैपरी आउने घटना तथा दुर्घटनाहरूको रोकथाम तथा नियन्त्रणको लागि प्राथमिक उपचार र प्राथमिक उपचारकको पनि वारिपारि राम्रै व्यवस्था गरिएको हुन्छ । मेला स्थलको व्यवस्थापनको हाम्रो गाउँघरबाट पनि मानिसहरू काम गर्नको लागि जौलजिबी मेलामा जाने गर्दछन् । मेला अवधिभर धेरै मानिसले रोजगार पनि पाएका हुन्छन् । पारि जौलजिबी (भारत) मा मेला अवधिभर भब्य रामलिला लाग्ने गर्दछ । रामलिलामा दर्शकहरूको बस्ने व्यवस्थापनको लागि स्वयम् सेवकहरू परिचालित गरिएका हुन्छन् । मेलाको भिडभाडमा पाकेटमार तथा अन्य चोरी नियन्त्रणको लागि सादा पोशाकका सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति हुने गर्दछ । मेलामा थरिथरीका मिठाईँहरू पाइन्छ्न् । बाल मिठाई, कोभिण्डो मिठाई, खोया मिठाई आदि उपलब्ध हुन्छन् । जौलजिबी मेलाको प्रमुख आकर्षण मध्ये मिठाई पनि एक हो । गांधी आश्रमको सिरक, गद्दा, भाँडाकुँडामा टम्के, भतेलो, तावा, डिक्ची (सिल्भर), पराद (पित्तल), तामाका फोंला (गाग्रो ), दन आदि सामानहरूको किनमेल हुने गर्दछ ।
जौलजिबी मेलाको बखान सुन्दा पाठकहरूलाई एकपटक अवश्य पनि मेला हेर्न जाउँ जाउँ जस्तो मनमा पक्कै पनि लाग्छ होला । केही वर्षयता लोकतन्त्रको स्थापना पश्चात वारि नेपालमा पनि तडक भडक तथा धुमधामपूर्वक मेलाको आयोजना हुने गरेको छ । नेपालमा मांस, मदिरा, चाइनिज सामानहरू, डोको, नाङ्लो, सुन्तला लगायतका खाद्य तथा फलफूलहरू सुपथ मूल्यमा उपलब्ध हुन्छन् । अन्त्यमा यो लेख पढेर आवश्यक सुझावको अपेक्षा सहित जौलजिबी मेलाको पूर्ण सफलताको कामना गर्दै अहिलेलाई भने कलमलाई बिट मार्छु । धन्वाद !!!
श्री मालिकार्जुन र हुनैनाथ स्वामीले हामी सबैको कल्याण गरून् ।
क्रमशः …
मान सिंह धामी (भौनबाटी)
उप–प्राध्यापक कैलाली बहुमुखी क्याम्पस, धनगढी
स्थायी ठेगानाः– मालिकार्जुन गाउँपालिका हुनैनाथ –४ गोठ्युडी दार्चुला
स्रोत सामग्रीः
जोशी, गणेशराज (२०७६), मधुवन, शुभकामना प्रकाशन । प्रा.लीः काठमाण्डौ
धामी, राजेन्द्र र दामोदर (२०७८), आराध्यदेव हुनैनाथको महिमा तथा औल्लेकी धामीहरुको वंशावली । गोकुलेश्वर दार्चुला ।
पन्त, दयाकृष्ण (२०६७), दार्चुलाको इतिहास, महेन्द्रनगर ।
पाण्डेय, बद्रीदत्त (२०२२), कुमाऊँ का इतिहास, भारत