ऐतिहासिक, धार्मिक तथा राजनैतिक हिसाबले एक छुट्टै अस्तित्व र पहिचान बोकेको मालिकार्जुन

धनगढी। दार्चुलाको मालिकार्जुन गाउँपालिकाको परिचयः
दार्चुला जिल्लाका विभिन्न स्थानीय तहहरू मध्ये मालिकार्जुन गाउँपालिका ऐतिहासिक, धार्मिक तथा राजनैतिक हिसाबले एक छुट्टै अस्तित्व र पहिचान बोकेको गाउँपालिका हो । किनकि यस गाउँपालिकामा राष्ट्रको सातौंधाम पवित्र धार्मिक स्थल मालिकार्जुन मन्दिर, न्यायका देवता मानिने वरदानी ढोका हुनैनाथ मन्दिर, भगवती मन्दिर, पारशिला मन्दिर, लटिनाथ मन्दिर, बालीचन मन्दिर, हुनैनाथ बाजस्थान मन्दिर, उकु बन्थाला र सलेती बेसीमा सालका वनस्पति, लेकमा सल्लो, बाँज, लालीगुराँस, उतिस, कटुस, जामुन, सिर्पा, काफल, किरमडा, घङारु, सानन् आदि वनस्पतिहरू पाइन्छन् । यो गाउँपालिका ओखर, आँप, अम्बा, केरा, मेवा, सुन्तला लगायतका विभिन्न फलफूलहरूकोलागि उर्बर भूमि, जिल्लाकै पहिलो हाइस्कुल शंकरपुर हाइस्कुल, प्राचीन ऐतिहासिक पुरातात्त्विक सम्पदा उकु महल, शंकरपुर विद्यालय खोल्नमा विशेष योगदान पु–याउने महापुरुषद्वय स्व. काशीराम पन्त र स्व. डा. दामोदर जोशीको जन्मस्थल शंकरको तपोभूमि शंकरपुर पस्ती, भारतसँग सिमाना जोडिएको जौलजिबी, उकु, सलेती लगायतका अन्नको भण्डार मानिने गाउँहरू, ब्राह्मण, क्षेत्री, शुद्र लगायतका सबै जातिहरूको बसोबास भएको, डाक्टर, इन्जिनियर, प्राध्यापक, वकिल लगायतका राज्यको विभिन्न निकायमा विशिष्ट स्थान ओगट्न सफल व्यक्तित्वहरू, असल सामाजिक चालचलन, सामाजिक मूल्यमान्यताहरू आत्मसात गरिएको, एकआपसमा भातृत्व, भाइचारा र बन्धुत्वको भावना भएका मानिसहरू, सलेती बन्डमा अवस्थित पवित्र धार्मिक स्थल हुनैनाथ मन्दिर, कृषकहरूकोलागि सहजै उपलब्ध हुने घाँस, दाउरा, अझ प्राचीन डिँगे राजाको कोट भएको, उकु, सलेती, ओजिगाड, मेलखेत, सेलीचामा, खुना, बसेडीमा सिचाइको प्रचुर सम्भावावना भएको यस गाउँपालिकामा अवस्थित मालिकार्जुन र हुनैनाथ स्वामीलाई कोटिकोटी नमन गर्दछु ।
यस गाउँपालिकाको पूर्वमा शैल्यशिखर नगरपालिका र लेकम गाउँपालिका, पश्चिममा महाकाली नगरपालिका, उत्तरमा महाकाली नगरपालिका र दक्षिणमा महाकाली नदीले छुट्याएको छ । मालिकार्जुन गाउँपालिकामा वि. सं. २०७८ को जनगणना अनुसार परिवार संख्या ः– ३१७४, जनसंख्या १५६३५, पुरुषको संख्या ७५८१, महिलाको संख्या ८०५४, औषत ४.९३, साक्षरता ८८.८९ र समग्र दार्चुला जिल्लाको जनसंख्या १३३३१० रहेको छ । यस गाउँपालिकामा जम्मा ८ वटा वडाहरू रहेका छन् । वडा नम्बर – १ र २ तत्कालीन भगवती गाविस, वडा नम्बर – ३ मालिकार्जुन मड, वडा नम्बर – ४ हुनैनाथ, वडा नम्बर – ५ डाँडाकोट, वडा नम्बर – ६ उकु सलेती, वडा नम्बर – ७ जौलजिबी र वडा नम्बर – ८ शंकरपुरमा विभाजित गरिएको छ ।
मालिकार्जुन गाउँपालिकालाई केन्द्रित गरेर यस पालिकाको संक्षिप्त परिचय लेखिए पनि यस पछिको लेखमा अन्य स्थानीय तहहरूको पनि संक्षिप्त परिचय लेख्ने प्रयास गरिने छ । म मालिकार्जुन गाउँपालिकाबासी भएको नाताले थोरै पालिकाबासीहरूसँग साइनो खोट्याएर ढोग अभिवादन नगर्दा गुरु पुरोहित, इष्टमित्र, नाता कुटुम्बका अग्रज तथा भ्राता बन्धुबान्धवहरूले सभ्यता र संस्कार नभएको भौनबाटी भन्न के बेर ! भन्ने संकोचले लोकाचारअनुसार प्रस्तुत हुनु मेरो कर्तव्य हुन जान्छ । सबै इष्टमित्र, नाताकुटुम्ब सबै सबैमा दर्जाअनुसारको ढोग तथा नमस्कार टक्र्याउन चाहन्छु । पालिकाको आठवटै वडामा मेरा इष्टमित्र, नातागोता, कुलकुटुम्ब, विद्यालयतहमा पढ्दाका सहपाठी आदि पाउँदा म गदगद छु । वडा नम्बर – १,२ र ३ मा त इष्टमित्रहरू माकुराको जालो झैं फैलिएको अनुभूति गरेको छु । मामाघर, फूपु, दिदीबहिनीकोघर, भाइ बिरादरको मामाघर, ससुरालीघर, दिदीबहिनी, फूपू घर आदि पाउँदा कसको मन प्रफुल्ल नहोला र !
हंश राज भट्टका सन्तान औल्लेकी धामीहरू, अवस्थी, खत्री, ढोली, लुहार, पार्की, टाटिक्याल धामीहरू वडा नम्बर – ४ हुनैनाथका बासिन्दा हुन । म पनि औल्लेकी भएकोले कुलकुटुम्ब र अन्य जातिहरूसँगको सुमधुर सम्बन्धले थप हौंसिएको छु । वडा नम्बर – ५ डाँडाकोटमा जहाँ पाल, ओझा, अवस्थी, बोहरा, मार्कण, गिरी, नाथ, पार्की, धामी आदि जातिका मानिसहरू बसोबास गर्दछन् । यहाँ मेरा गुरुपुरोहित, इष्टमित्र, मितेरी, विद्यालय जीवनका सहपाठीहरू बसोबास गर्दछन् । वडा नम्बर – ६ उकु सलेती जहाँ औल्लेकी कुलकुटुम्ब, पाल, महरा, मौर, चन्द, लेखक, थापा, भाट, गुरुङ, पार्की, चन्द आदि जातिका मानिसहरू बसोबास गर्दछन । वडा नम्बर – ७ जौलजिबी, चौकी जहाँ चन्द, पन्त, भट्ट, धामी, ओझा, कार्की, बोहरा, महरा आदि जातिका मानिसहरू बसोबास गर्दछन् । वडा नम्बर – ८ शंकरपुर भनिएपनि अधिक जनसंख्या र व्यापक क्षेत्रफल ओगटेको यस वडामा धामी, चन्द,पन्त, जोशी, रावल, धानुक, मिश्र, कुँवर, कार्की, पार्की, ढोली, खत्री, सामन्त, औतालेकी धामी आदि जातिका मानिसहरू बसोबास गर्दछन् । सबै ठाउँमा सबैसँग नजिकको नाता र सम्बन्धले गर्दा गदगद नै छु ।
माथि मैले इष्टमित्र, नाता, कुलकुटुम्बसँगको साइनो जोडेर ढोग अविवादन गरेर मेरो पारिवारिक र सामाजिक संस्कारलाई पनि सँगसँगै जोडन खोजेको मात्र हो । नेताहुने लालचभने होइन है ।
गाउँपालिकाको राजनीति अबको २०८४ ः
स्थानीय तह गठनसँगै ५ वर्षे कार्यकाल निवर्तमान अध्यक्ष श्री नरेन्द्र सिंह धामीज्यूले विताए । उहाँको कार्यशैली, योगदान, जनतासँगको हातेमालो, सकारात्मक सोच आदिको उचित सम्मान गर्दै कदरयोग्य छ । वर्तमान अध्यक्ष श्री हिरा सिंह धामीज्यूको शिक्षा, स्वास्थ्य, रोजागारी, सडक, बाटोघाटोकोलागि भइरहेको प्रयासको पनि व्यक्तिगतरुपमा सम्मान तथा कदर गर्दछु । तर राजनीति भनेको सेवा नभएर पेवा सम्झनेलाई जनताको झापडले सिद्द गरिसकेको छ । अहिले जनताहरूपनि शिक्षित र सचेत भइसकेका छन् । राजनीतिलाई सेवा सम्झने नेता र पेवा सम्झने नेतालाई जनतालेपनि राम्रोसँग चिनेका छन् । विकास निरन्तर चलिरहने प्रक्रिया भएकोले निर्वाचित जनप्रतिनिधिले मैले विकास गरे, सडक, वत्ती, स्वास्थ्य, शिक्षा, विद्यालय, मन्दिर, बाटोघाटो बनाए भन्नुको कुनै औचित्य देखिदैन । अहिले जनताले नवीन सोच, निःस्वार्थ, शिक्षित, संस्कारी, सामाजिक तथा सहयोगी भावना भएको, भ्रष्टाचार लगायतका कृयाकलापमा आरोपित नभएको, सामाजिक दाग नलागेको नेताको खोजी गरिरहेका छन् । तसर्थ पार्टीले टिकट वितरण गर्दा त्यस्तो व्यक्ति जो उल्लिखित कुराहरूमा निष्कलङ्क, शिक्षित, पारिवारिक, सामाजिक तथा राजनीतिक पृष्ठभूमि भएको, जनताका मागहरू सम्बोधनगर्न सक्ने, राजनीतिलाई पेवा नसम्झेर सेवा सम्झने व्यक्तिलाई टिकट दिनहुन सादर अनुरोध गर्दछु ।
यदि यस्तो व्यक्ति हाम्रो पालिकामा छन भने त्यस्तो व्यक्तिलाई पालिकामा किन नलैजाने त ! राम्रो व्यक्ति छ भने पार्टीले टिकट नदिएपनि गोपाल हमाल, बालेन्द्र शाह तथा हर्क साम्पाङ किन नबन्ने त ! मेरो सल्लाह यदि आमजनतालाई मान्य हुनेभए ए, बी, सी मध्ये हामी सबै मिलेर एक जनालाई माथि पठाऔं, जसको पारिवारिक, सामाजिक तथा राजनीतिक पृष्ठभूमि छ, शिक्षित पनि छ, जनताका मागहरू सम्बोधन गर्नसक्ने क्षमता पनि, दीर्घकालीन भिजन, मिसन र गोल छ । त्यस्तो व्यक्तिलाई माथि पठाउँदा हामी सबैको हित हुनेछ । सकेसम्म त्यस्तो व्यक्तिलाई टिकट दिनकोलागिपनि पुनः सम्बन्धित पार्टीलाई अनुरोध गर्न चाहे । तथापि निवर्तमान र वर्तमान अध्यक्षज्यूको बिरोधभने नगरिएको व्यहोरा अनुरोध गर्दछु । हाम्रो होइन, राम्रो रोजौं र राजनीतिलाई पेवा होइन सेवा सम्झने व्यक्ति जो जनताको सेवक बन्न लायक छ, उसैलाई रोजौं । मनका भावना व्यक्तगर्दा जेजति लेखिएपनि कुनै व्यक्ति विशेष, पार्टी, जाति विशेषलाई इङ्गित नगरेको र कुनै व्यक्ति, जाति, राठी, पार्टीसँग यो भनाई मेलखानगएमा संयोग मात्र हुनेछ । धन्यवाद !
क्रमशः …
जय मालिकार्जुन !! जय हुनैनाथ !!!
मान सिंह धामी (भौनबाटी)
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गोठ्युडी
दार्चुला
स्रोतः
राष्ट्रिय जनगणना प्रतिवेदन २०७८

1 Comment
  1. Ganesh Singh Dhami says

    लेख सन्देशप्रद रहेकाे छ , अझै भाैगाेलिक रुपमा अक्षांस देसान्तर , उचाई स्थलगत , तापत्रम , भारतीय नाकाहरु , प्रमुख नदी नाला , अाैसत तापक्रम अादि , भए अझै वेस हुन्थ्यो । छाेटाेमा यत्ति मात्र पाँए ।

Leave A Reply

Your email address will not be published.