भव्यताका साथ मनाईयो केएमसीको ४४औँ स्थापना दिवस

“क्याम्पसको भलाई हुनु भनेको यो समाजको भलाई हुनु हो, यो माटोको भलाई हुनु हो, यहाँबाट उत्पादन हुने दक्ष जनशक्तिबाट सभ्य समाजको निमार्ण गर्ने मार्ग पहिल्याउनु हो ।”

धनगढी। कैलाली बहुमुखी क्याम्पसको ४४औँ स्थापना दिवस शुक्रबार भव्यताका साथ मनाईएको छ ।
क्याम्पसमा रहेको रिसर्च म्यानेजमेन्ट सेलको आयोजनामा एक औपचारिक कार्यक्रमकाबिच क्याम्पसको स्थापना दिवस मनाईएको हो ।

क्याम्पसको ऐतिहासिक विकासक्रम
वि सं २०३० सालमा शिक्षाका लागि जनसभागिता जुर्मिरियो र वि सं २०३१ सालमा यस क्षेत्रमा क्याम्पस हुनुपर्छ भनी जमर्को गरियो तर तत्कालीन परिस्थितिमा त्रिभुवन विश्वविद्यालयबाट निजी क्षेत्रमा क्यम्पस सञ्चालनका लागि अनुमति नदिने नियम भएकाले त्यो प्रयास सफल हुन सकेन। तत्पश्चात २०३७ सालमा तत्कालिन अञ्चलाधीशले क्याम्पस सञ्चालन गर्ने जिम्मेवारी आफुले लिई तत्कालीन राजा श्री ५ वीरेन्द्र शाहको हुकुमपश्चात धनगढी नगर पञ्चायत वडा नं ८ मा पर्ने २७ बिघा जमीन क्याम्पसको नाममा दर्ता गरी वि सं २०३७ माघ १९ मा यस क्याम्पसको स्थापना गरियो। सुरुवातमा यस क्याम्पसको अध्यापन पञ्चोदय माध्यमिक विद्यालय बाट गरिएको थियो। त्यस समयमा क्याम्पसको स्वीकृति र क्यम्पस प्रमुख को खोजीको लागि तत्कालीन धनगढी नगर पञ्चायतका प्रधानपञ्च यज्ञराज पन्तको नेतृत्वमा एक प्रतिनिधि मण्डल काठमाण्डौ प्रस्थान गर्यो। उक्त मण्डलले क्याम्पसको सञ्चालनको लागि स्वीकृति प्रक्रिया अघि बढाउनुका साथै प्राध्यापक चन्द्रधर उप्रेतीलाई अनुरोध गरी राजी गराएर क्यम्पस प्रमुखमा नियुक्त गरी पठनपाठन कार्य अघि बढाएको थियो।

यस क्याम्पसमा हाल व्यावस्थापन संकाय, शिक्षा संकाय, मानविकी संकाय, विज्ञान संकाय, कानून संकायको पढाई भईरहेको छ र प्राविधिकतर्फ प्राकृतिक स्रोत व्यवस्थापन अन्तर्गत वन विज्ञानको डिनको कार्यालय स्थापना गरि चालु शैक्षिक सत्रबाट पठनपाठन हुँदै छ । कैलाली बहुमुखी क्याम्पस सुदूर पश्चिमकै अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित छ।

तीन दशक अघि सम्म कैलाली जिल्लामा उच्च शिक्षाका लागि कुनै पनि शैक्षिक संस्थाहरू थिएनन्। यस आवश्यकतालाई मध्य नजर गर्दै कैलाली बहुमुखी क्याम्पसको स्थापना भएको हो । सुरूमा कैलाली कमर्श क्याम्पसका नाममा खोलिएको क्याम्पसको पछि कैलाली बहुमुखी क्याम्पस नामाकरण गरिएको थियो।

यो क्याम्पस वि.स. २०४० मा हालको स्थानमा स्थानान्तरण गरिएको हो। गुणस्तरिय शिक्षा, पर्याप्त भौतिक पूर्वाधार, सस्तो शुल्क र सुविधाजनक अवस्थितिले यो क्याम्पस उत्कृष्ट बन्न सफल छ। वि.स. २०४६ मा त्रिभुवन विश्वविद्यालयले यस क्याम्पसलाई नेपालको उत्कृष्ठ निजी क्याम्पस घोषणा गर्दै १ लाख ४५ हजारको पुरस्कार समेत प्रदान गरेको थियो। यो क्याम्पसले उत्पादन गरेका धेरै विद्यार्थीले विभिन्न क्षेत्रमा आफ्नो भविष्य बनाईसकेका छन्। हाल यस क्याम्पसमा विभिन्न संकायमा सात हजार बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

४४औँ स्थापना दिवस

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता मान्यता प्राप्त यस क्याम्पस हाल सुदुरपश्चिम विश्वविलयको आंगिक क्याम्पस बनेको छ । क्याम्पसको ४४औँ स्थापना दिवस कैलाली बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन केन्द्र (रिसर्च म्यानेजमेन्ट सेल)को आयोजनामा भव्यताका साथ एक औपचारिक कार्यक्रम आयोजना गरि मनाईएको छ ।

क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्टको अध्यक्षतामा अयोजना भएको उक्त कार्यक्रममा क्याम्पस प्राध्यापक संघ सुदुरपश्चिम विश्वविद्यालयका केन्द्रिय अध्यक्ष डा.राजेन्द्र विर चन्द प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा प्राज्ञिक व्यक्तित्वहरुलाई सम्मान, केएमसी जर्नल विमोचन तथा शुभकामना आदान–प्रदान समेत गरिएको थियो ।

उक्त कार्यक्रममा क्याम्पस स्थापना कालदेखि प्राध्यापन गर्दै क्याम्पस प्रमुख समेत भएर आजीवन क्याम्पसको विकासमा समर्पित विशिष्ट प्राज्ञिक व्यक्तित्वहरू पूर्व क्याम्पस प्रमुख तथा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा.डा. हेमराज पन्त र पुर्व क्याम्पस प्रमुख प्रा.सुरेन्द्र बहादुर चन्दको वाहुलीबाट अनुसन्धानमा आधारित छैठौँ संस्करणको केएमसी जोर्नलको नयाँ अंक विमोचन गर्दै उहाँहरूलाई सम्मान समेत गरिएको छ।

केएमसी जोर्नल अंग्रेजी विषयका सह–प्राध्यापक मोहन सिंह साउदको सम्पादन तथा संयोजकत्वमा नियमित रुपमा प्रकाशित हुने गर्दछ । जसमा वहुविधात्मक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुले अनुसन्धानान्मक आलेखहरु प्रकाशित गर्ने गर्दछन ।

यसगैगरी कार्यक्रममा केहि दिन अघि पिएचडी पुरा गर्नुभएका अंग्रेजी विषयका उप–प्राध्यापक डा.मान बहादुर जोरा र सुदूरपश्चिम विश्वविद्यालयको सेवा आयोगबाट हालसालै स्थायी उप–प्राध्यापकमा नियुक्त हुनुभएका कानून संकायका उप–प्राध्यापक केशवसिंह ऐर पनि सम्मानित हुनुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै पूर्व क्याम्पस प्रमुख तथा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा.डा. हेमराज पन्तले तत्कालिन अवस्था देखि वर्तमान सम्म कैलाली बहुमुखी क्याम्पस केबल क्याम्पस मात्र नभएर शैक्षिक अभियानको संवाहक र धरोहर रहेको वताउनुभयो । “भौतिक पूर्वाधारको हिसाबले यस क्याम्पसको संरचना विश्वविद्यालयको भन्दा कम छैन, यहाँका विद्यार्थी र प्राध्यपकहरुबिचको सौहार्दपूर्ण सम्बन्धले हामीलाई पनि हौसला मिलिरहेको छ, उहाँले भन्नुभयो, क्याम्पसको भविष्य उज्वल छ क्याम्पसप्रति रहेका अलमलहरु हामीले हटाउन सक्नुपर्छ”

त्यस्तै पूर्व क्याम्पस प्रमुख प्राध्यापक सुरेन्द्र बहादुर चन्दले सामुदायिक अपनत्व र जनसम्पर्कलाई क्याम्पसले टिकाईराख्नुपर्नेमा जोड दिनुभयो । “मैले पढाएका विद्यार्थीहरुबाटै सम्मानित हुन पाउँदा म एकदमै हर्षित छु”, उहाँले भन्नुभयो, “अहिले क्याम्पसमा जुन युवाहरुको पर्याप्त संसाधन छ, सबै मिलेर क्याम्पससंग सहज सम्बन्धका साथै सञ्चार र अन्य स्रोत साधनहरुको उपयोगमा जोड दिनुपर्छ भन्ने सुझाव म दिन चाहान्छु।”

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि रहनुभएका क्याम्पस प्राध्यापक संघ सुदुरपश्चिम विश्वविद्यालयका केन्द्रिय अध्यक्ष डा.राजेन्द्र विर चन्दले क्याम्पसलाई अझ उन्नत बनाउने मुख्य जिम्मेवारी अब नयाँ पुस्ताको भएको वताउनुभयो । “जसरी विगतका व्यक्तित्वहरुले मार्ग निर्देशन गरेर हामी सबैलाई यो क्याम्पस सुम्पिनुभएको छ, अब तपाई हाम्रो पालो हो” उहाँले भन्नुभयो, “ शिक्षा क्षेत्रमा अनेक चुनौतिका बाबजुत क्याम्पसको गर्विलो इतिहासलाई जोगाउन र एक्काईसौँ शताव्दीको प्रतिस्पर्धी शैक्षिक संस्थाका रुपमा स्थापित गर्न हामी सबैको योगदानको आवश्यकता छ।”

यस्तै स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष यमराज जोशीले पनि क्याम्पसको गरिमालाई थप उचाईमा पुर्याउन विद्यार्थी, प्राध्यापक र कर्मचारी सबैले जिम्मेवारीपुर्वक आ–आफ्नो भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । “क्याम्पसको गरिमालाई कायम राखिराख्न र थप उचाईमा पुर्याउन विद्यार्थीका तर्फबाट, प्राध्यापकहरुका तर्फबाट, कर्मचारी र सबैका तर्फबाट कसले के भुमिका निभाउन सक्छौँ हामी आफ्ना निजि स्वार्थ त्यागेर समग्र यो क्याम्पसको भलाईका लागि योगदान दिनुपर्छ, उहाँले भन्नुभयो, “क्याम्पसको भलाई हुनु भनेको यो समाजको भलाई हुनु हो, यो माटोको भलाई हुनु हो, यहाँबाट उत्पादन हुने दक्ष जनशक्तिबाट सभ्य समाजको निमार्ण गर्ने मार्ग पहिल्याउनु हो ।”

कार्यक्रममा क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख डा. धर्मराज उपाध्याय र प्रशासन प्रमुख डिल बहादुर धामीले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो । विद्यार्थी र प्राध्यापकहरुले विभिन्न संगितिक प्रस्तुति समेत राख्नुभएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.