पुस्तक समीक्षा : महावीर पुनको आत्मकथा पढेपछि…

एक ग्रामिण भेग, त्यो पनि हिमाली क्षेत्रको म्याग्दी जिल्लामा जन्मिनु भएका महावीर पुन नाम जस्तै महावीर, कर्मवीर र दृढ सङ्कल्पित रहेछन् भन्ने कुराको पुष्टि उनले लेखेको पुस्तकले बोलेको छ।

बोलाइमा ठाडो तर इमानदार, लवाईमा झुत्रो लुगा तर विचारमा ज्ञानी, सभ्य र निकै साहसिलो व्यक्तित्वको परिचय न नेपाल राज्यले दिन सक्यो न सम्मान दिन सक्यो स्वाभिमानी राष्ट्रका अभिमानीहरुले।

साधारण भाषामा लेखिएको यो पुस्तक उपन्यास पढ्ने मान्छेहरुका लागि झ्याउ लाग्ने वा दिक्क लाग्ने हुनसक्छ तर यथार्थमा यो पुस्तक पढिसकेपछी सामाजिक जीवनको एक बिछट्टै उर्जा दिने पुस्तक हो भन्ने कुरामा कुनै दुईमत छैन।

काल अर्थात समय सङ्कटग्रस्त त्यो पनि माओवादीको द्वन्दकाल। त्यस्तो बेलामा नेपालमै नभित्रीएको इन्टरनेट भित्र्याउनु, त्यो पनि एकल पहलमा सामान्य मान्छेले गर्न सक्दैन। यो कुरा तपाईंहामीले स्वीकार्नै पर्छ, यदि स्वीकार्दैनौँ भनेँ तपाईको क्षेत्रले किन पाएन पहिलो इन्टरनेट भन्ने प्रश्न त पक्कै उठ्छ नि हैन र? त्यसपछी ३५ वर्षको उमेरमा अमेरिका जानू, आफ्नो क्षेत्रमा पर्यटकीय गन्तव्य बनाउन अनेकन प्रयत्न गर्नु चाहिँ सामान्य होइन।

उनी अमेरिका जानुभन्दा पहिला नै नेपालमा त्यो पनि म्याग्दी जिल्लामा पर्यटक भित्र्याउने उपाय, पर्यटन व्यवसायलाई व्यवसायिकरण गर्नमा पहल, विद्यालयमा उच्च शिक्षाका लागि पहल गर्ने मान्छेलाई साधारण झुत्रे भन्ने हो भनेँ तपाईं हामी जत्तिको झुत्रे अरु को हुन सक्छ? पर्यटन व्यवसायलाई पैदलमुखी बनाउने, मार्गमा होटलका साथै अन्य व्यवस्था गर्यो भनेँ मुलुकको बृहत्तर विकास हुन्छ भन्ने कुराको सोच माओवादी द्वन्दकालमै थियो नि! यति नै बेला फेरि माओवादी देश विकासकै लागि भनेर जङ्गल पसेको थियो त्यो पनि सशस्त्र।

उनको पुस्तकको सम्झना, सपना र अविरल यात्राको गन्थन मन्थन गर्ने हो भनेँ नेपालको नेपालीको हित त नेताहरुले भाषण गरेकोभन्दा फरक शैलीले हुने रहेछ नि! नेपालको अर्थतन्त्र कमजोर हुनुका कारणहरु साधारण मानिएका कुराहरु नै रहेछन् तर यी सामान्य लाग्ने कमजोरीहरुको समाधानबाट नै असाधारण उपलब्धी प्राप्त गर्न सकिन्छ।

उनको आवरणले उनलाई झुत्रे बनाए पनि ज्ञानको हिसाबले उनको तुलना अन्य व्यक्तित्वसँग गर्न मिल्दैन। अनुसन्धान तथा आविष्कारका क्षेत्रमा सरकारले लगानी गर्नुपर्ने बेला एउटा व्यक्तिले यो आँट गर्नु आफैँमा असाधारण सुरुवात थियो। कुल गार्हस्थ उत्पादनको जम्मा एक प्रतिशत लगानी गर्ने सकिए, नसकिए पुँजीगत खर्चको एक प्रतिशत लगानी लगाउनुपर्छ भनेर मन्त्रालय धाउँदा करिब ५ वर्ष बिताएको उनको काहानी सुन्दा चित्र र बखानमा मात्र नायक भएको राजनीतिक क्षेत्र व्यवहारमा खलनायक रहेछ भन्ने कुराको पुष्टि हुन्छ।

साधारण मान्छे थाक्छ, गल्छ यो अवधिसम्म तर उनी, उनले भन्या जस्तै मूर्ख रहेछन्, अटेरी रहेछन् र पो थाकेनन्, गलेनन्। यी अवधि पश्चात् यात्राको नयाँ सहयात्रा खोज्न सफल महावीर पुनले कोरोना कालको भुमरीमा अल्झिनुपर्यो।

मतलब उनको आविष्कार कार्यले जुन गति समातेको थियो त्यो गतिमा ब्रेक लाग्यो। यस्तो अवस्थामा सरकारले स्वास्थ्य सामाग्री किन्दा भ्रष्टाचार गरेको खबर सुन्नमा आयो। यहि समयमा नेपाली अस्पतालमा बिग्रीएर थन्केका बायोमेडिकल सामाग्री नि:शुल्क बनाई अस्पताललाई नै वितरण गर्यो। पिपिई सेट, आइसोलेसन च्याम्बर र हुड, पापर (हावा शुद्धिकरण गर्ने मेसिन), फेस सिल्ड, स्वाव जम्मा गर्ने बुथ र हावा शुद्ध गर्ने माक्स, अस्पतालमा बिरामीको बेडसम्म खाना र औषधि पुर्याउन सक्ने र टाढैबाट नियन्त्रण गर्न मिल्ने रोबोट जस्तो गुड्ने उपकरण, एरोमेल बक्स डिस- इन्फेक्सन बक्स, सुरक्षित तरिकाले लास उठाउने थैलो, भेन्टिलेटर मर्मत जस्ता थुप्रै कार्यहरु कोरोना कालमा गरेको थियो आविष्कार केन्द्रले।

यतिमात्र कहाँ होर,कोरोना समय पश्चात् पनि आफ्ना आविष्कारका कार्यहरु तिव्ररुपले अघि बढे। उनको नेतृत्वको आविष्कार केन्द्रले बेबी वार्मर, कफी भुट्ने मेसिन र गेडागुडी तथा अन्न भुट्ने मेसिन लगायतका थुप्रै काम गरेको छ। जसले गर्दा बजारमा रोजगारी सृजना हुनुका साथै दुर्गम क्षेत्रका मानिसले पनि आविष्कारका कार्यबाट आफ्नो कला र कौशल प्रस्तुत गर्न पाएका छन्।

यसका साथै सरकारसँग सम्झौता गरेको कृषि औजार कारखाना सञ्चालनमा सरकारी पक्षबाट पाएको धोका पश्चात् यसरी पुस्तक लेखन कार्य गरि आफै विक्री गर्न देश दौडाहमा रहेका महावीर पुनले धनगढिमा रहेको साइपाल शिक्षा सदनमा पनि पदार्पण गरे । जसले गर्दा हामिले मीठो साक्षात्कार गर्न पाएका थियौँ र पुस्तक किन्ने एक गज्जबको अवसर प्राप्त भएको थियो।

अझै पनि याद छ त्यो दिन साइपाल शिक्षा सदनमा उनले भनेका थिए, “यो पुस्तक मेरो सङ्घर्षको कथा हो र यो बेचेर आएको हरेक रकमले आम जनमानस र अन्वेषण गर्न चाहने व्यक्तिको लागि नै उपयोग गरिनेछ।” कस्तो राम्रो विचार! आफ्नो जीवनको उत्तरार्धमा आत्मकथा लेखेर जीवन गुजारा गर्ने सोचेका महावीर पुनले यो किताब पनि मुलुककै लागि सुम्पिए। आफ्नो अन्तिम अवस्थाको सारथि पनि समाजलाई सुम्पिन सक्ने मन एक सच्चा देशभक्तले मात्रै गर्न सक्छ। कास् यो दिल पनि त्यस्तै बन्न पाएको भए हुन्थ्यो।

नवराज जोशी ‘अविरल’, धनगढी

जोशी शिक्षण पेशामा आवद्ध व्यक्ति हुन् ।

Leave A Reply

Your email address will not be published.