धनगढी। कैलाली बहुमुखी क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख सह–प्राध्यापक डा.लोक बहादुर बिष्टले पदभार ग्रहण गर्नुभएको छ।
आज विहान एक कार्यक्रमकाबिच उहाँलाई निवर्तमान क्याम्पस प्रमुख प्रा.तोयराज भट्टले पदभार हस्तान्तरण गर्नुभएको हो।
पदभार ग्रहण गर्दै डा.बिष्टले सुदूरपश्चिम विश्वविद्यालयसंगको समायोजन प्रक्रिया टुङ्ग्याउने आफ्नो पहिलो उद्देश्य रहेको बताउनुभयो। “मलाई ठुलो जिम्मेवारी थपिएको महशुस भएको छ, तपाईहरुको साथ सहयोगले हामी क्याम्पसलाई अझ तिब्र गतिमा लैजाने छौँ” उहाँले भन्नुभयो, “प्राध्यापक संघको सभापति हुँदाखेरी कैलाली क्याम्पसलाई समायोजन गरेका थियौँ, अब पूर्ण रुपमा समायोजन भएको हेर्ने चाहाना छ।”
त्यसैगरी उहाँले सम्पूर्ण प्राध्यापकहरुको हकहित र नेतृत्व विकासका लागि पहल गर्दै क्याम्पसलाई थप उचाइमा पुगाउने बताउनुभयो। त्यस्तै निवर्तमान क्याम्पस प्रमुखको कार्यकालमा सुरु भएको विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त हुने गुणस्तर प्रत्यायनकृत (क्युएए) को तेस्रो चरणलाई निरन्तर अगाडी बढाउदै क्याम्पसका सबै संकायहरुलाई डिजिटलाइजेसन (प्रविधि) उन्मुख गराउने बताउनुभयो।
उहाँले पूर्व क्याम्पस प्रमुखहरुको सुझाव सल्लाह र प्राध्यापक तथा कर्मचारीहरुको राय बमोजिम अगाडी बढ्न साथ र सहयोग रहने अपेक्षा व्यक्त गर्नुभयो ।

प्राध्यापकहरुसंग क्याम्पस प्रमुख बिष्ट
