धनगढी,
समाजसँगै चिहान जस्तै मौनता चिर्दै
छोरी हिँड्छ—
खुट्टामा बाँधिएका हरेक शंका फुटाउँदै,
आकाशतिर हेर्ने आँट बोकेर।
घरभित्र पनि कहिलेकाहीँ
अर्कै युद्ध बोकिन्छ—
बुझाइ र अबुझाइको आगो
मन मुटुमा जल्दा पनि
छोरी मुस्कान छोपेर अघि बढ्छे।
तर सबैभन्दा ठूलो लडाई त
आफैसँगै हुन्छ—
मनभित्रका डर,
अविस्वासका छाया,
र भत्किन खोज्ने आत्मबलसँग
दिनहुँ जुद्धै
छोरी आफ्नो अस्तित्व बुनिरहन्छे।
यति सबैबीच पनि
उसले सपना देख्न छोड्दिन—
चन्द्रमासँग कुरा गर्ने,
क्षितिजसँग सम्झौता गर्ने,
र आफूलाई आफूले जित्ने
उही पुरानो तर अपराजित सपना।
छोरी लड्दै बन्छे बलियो,
सपना देख्दै बन्छे ठूलो,
र अन्ततः—
उही लडाइँ नै उसका पखेटा बन्छन्।
– दिपा अवस्थी (दिया)
बिए छैटौँ सेमेस्टर
कैलाली बहुमुखी क्याम्पस, धनगढी ।