“खान पुगोस्, दिन पुगोस्” अभियान नेपालद्वारा डोटीका ५४४ बालबालिकालाई न्यानो कपडा वितरण

धनगढी, “खान पुगोस्, दिन पुगोस्” अभियान नेपालले चिसो मौसमलाई मध्यनजर गर्दै डोटी जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरास्थित ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ५४४ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ।
शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई स्विटर र टोपी वितरण गरिएको हो। नेपाल निजामती कर्मचारी युनियन कैलालीको सहकार्य तथा विभिन्न सहयोगी व्यक्तिहरूको सहयोगमा नवोदय माध्यमिक विद्यालय, महाकाली माध्यमिक विद्यालय, जनता आधारभूत विद्यालय, महेन्द्र आधारभूत विद्यालय, नवज्योति आधारभूत विद्यालय र जनप्रिय आवासीय आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गरिएको कार्यक्रमका सहजकर्ता नेत्र खडायतले जानकारी दिनुभयो।
यसै अभियानअन्तर्गत धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपाल हमालले उपलब्ध गराउनुभएको १० वटा भलिबल र ५ वटा भलिबल नेट विद्यालयलाई हस्तान्तरण गरिएको थियो।
त्यसैगरी, शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले जोरायल गाउँपालिका–५ भित्रका सामुदायिक विद्यालयतर्फ कक्षा ८ को अन्तिम परीक्षामा उत्कृष्ट न्एब् हासिल गर्ने १ जना छात्रा र १ जना छात्रलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने व्यवस्था सहित नवोदय माध्यमिक विद्यालयमा २ लाख १ हजार रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरिएको छ। उक्त कोषको ब्याज रकमबाट प्रत्येक वर्ष नगद पुरस्कार वितरण गरिने सहजकर्ता खडायतले जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका सचिव डा। हेमराज रेग्मीले “खान पुगोस्, दिन पुगोस्” अभियानले गरेका कार्यहरूको प्रशंसा गर्दै विद्यार्थी लक्षित यस्ता सहयोगले शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।
अभियानका संयोजक घनश्याम भट्टले सबैसँग हातेमालो गर्दै सामाजिक सेवाका कार्यलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
६ वटै विद्यालयको सहभागितामा गड्सेरास्थित महेन्द्र आधारभूत विद्यालयमा कार्यक्रम आयोजना गरिएको थियो। न्यानो कपडा सहयोगप्रति विद्यालय प्रशासन तथा अभिभावकहरूले अभियानप्रति आभार तथा धन्यवाद व्यक्त गरेका थिए।
कार्यक्रममा जोरायल गाउँपालिका–३ का वडाध्यक्ष नवीन ओझा, गाउँपालिकाका शिक्षा शाखा अधिकृत, नेपाल निजामती कर्मचारी युनियन कैलालीका अध्यक्ष निर्मल देउवा, गड्सेरा समाजका अध्यक्ष भोजबहादुर शाह, शिक्षक, समाजसेवी, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.