कैलाली बहुमुखी क्याम्पसले चैत्र ६ र ७ गते राष्ट्रिय अनुसन्धान सम्मेलन आयोजना गर्ने

धनगढी।  दिगो विकासका लागि मौलिक र स्थानीय ज्ञान, उद्यमशीलता र नवप्रवर्तन भन्ने ध्येयका साथ कैलाली बहुमुखी क्याम्पसले यस वर्ष पनि तेस्रो राष्ट्रिय बहुविधात्मक अनुसन्धान सम्मेलन-२०२६ आयोजना गर्ने भएको छ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको ‘केएमसी रिसर्च म्यानेजमेन्ट सेल’(अनुसन्धान व्यवस्थापन केन्द्र)को आयोजनामा हुने सम्मेलन चैत ६ र ७ गते सञ्चालन हुने क्याम्पसले जनाएको छ।

गत वर्ष क्याम्पसले अन्तर्राष्ट्रिय अनुसन्धानात्मक प्राज्ञिक सम्मेलन सफलतापूर्वक आयोजना गरेको थियो। उक्त सम्मेलनमा नेपालसहित भारत र वङ्गलादेशका प्राध्यापक, अनुसन्धानकर्ता र विज्ञहरूको सहभागिता रहेको थियो।

त्यसैको निरन्तरताका रूपमा यस वर्ष राष्ट्रिय स्तरको बहुविषयक अनुसन्धान सम्मेलन आयोजना गर्न लागिएको केएमसी रिसर्च म्यानेजमेन्ट सेलका प्रमुख एवं कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. मोहन सिंह साउदले जानकारी दिनुभयाे।

यसपटकको सम्मेलन दिगो विकाससँग सम्बन्धित विषयहरूमा केन्द्रित रहनेछ। विशेषगरी मौलिक ज्ञान, स्थानीय अभ्यास, उद्यमशीलता, नवप्रवर्तन, शिक्षा, संस्कृति, समाज र वातावरणसँग सम्बन्धित अनुसन्धानमाथि छलफल हुने बताइएको छ। सम्मेलनमा देशका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थामा आबद्ध प्राध्यापक, अनुसन्धानकर्ताहरूले आफ्ना अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गर्नेछन्।

सहप्राध्यापक साउदका अनुसार सम्मेलनले स्थानीय ज्ञान र अनुसन्धानलाई शैक्षिक बहसको केन्द्रमा ल्याउने, अनुसन्धान संस्कृतिलाई प्रवद्र्धन गर्ने र सुदूरपश्चिम क्षेत्रलाई शैक्षिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.