धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले विजयी अभियान कायमै राखेको छ । शुक्रबार बेलुका कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित पुरा खेल खेल्दै ८ विकेट गुमाएर १ सय ७८ रनमात्रै बनाउन सक्यो । सुदूरपश्चिमविरुद्धको खेलमा पोखराका कप्तान कुशल भुर्तेलले अर्धशतकसहित ५३ रन बनाएपनि टिमको जितका लागि भने अपर्याप्त रह्यो ।
पहिलो पावर प्लेमा ३ विकेट गुमाएर जम्मा २५ रन बनाएको पोखराका लागि जेम्स निसम र कप्तान भूर्तेल सम्हालिएर खेल्दै रनको गति बढाएका थिए । ११ दशमलव ३ बलमा आउट भएका निसमले २५ बलमा ५ छक्का र २ चौकाको मद्दतमा ४७ रन बनाएका थिए ।
९५ रनमा ४ विकेट गुमाएको पोखराका लागि ७ औं विकेटका रुपमा मैदान प्रवेश गरेका डाउथवेटले १६ बलमा ५ छक्का र १ चौकासहित ३७ रन बनाएर खेललाई रोमाञचक बनाएका थिए ।
यता पोखराविरुद्ध सुदूरपश्चिमका लागि हर्मित सिंहले २ विकेट र स्कट कुगेलिइन, कप्तान दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी, अभिनास बोहरा नरेन साउदले समान १–१ विकेट लिएका थिए ।
यसअघि पहिले व्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित समयमा ७ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । उत्कृष्ट ओपनिङ गरेको सुदूरपश्चिमले पहिलो पावर प्लेमा विना विकेटको क्षतिमा ६० रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा ५ छक्का र ६ चौकासहित सर्वाधिक ६८ रन बनाएका थिए । यस्तै, विनोद भण्डारीले ४३ रन बनाए क्रिस लिनले ३१ रनको योगदान गरे भने कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाएका थिए ।
सुदूरपश्चिमविरुद्ध टस जितेर पहिलो बलिङ गरेको पोखराका लागि जेम्स निसमले सर्वाधिक ३ विकेट, आकाश चन्द र डन डाउथवेटले समान २–२ विकेट लिएका थिए । जितसँगै सुदूरपश्चिम अंक तालिकामा ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने लगातार हार व्येहोरेको पोखरा भने अंक तालिकाको पुछारमा छ ।
भोलि शनिबार दुईवटा खेल हुनेछन् । पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स भिड्दैछन् भने दोस्रो खेल विराटनगर किङ्स र काठमाडौं गोर्खाजबीचको हुनेछ ।