विद्यार्थी प्रतिभा उजागर गर्ने ‘चैतन्य दोस्रो विद्यार्थी महोत्सव’

धनगढी :
धनगढीस्थित चैतन्य पाठशालाले ‘चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ। महोत्सव आगामी पौष २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
“ज्ञानको जागरण, संस्कृतिको सम्मान, नवप्रवर्तनको प्रवाह” भन्ने मूल नारासहित आयोजना हुने महोत्सवको उद्देश्य विद्यार्थीमा अन्तर्निहित प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्नुका साथै नेतृत्व क्षमता, आत्मविश्वास, सिर्जनशील सोच, सामाजिक चेतना र व्यवहारिक सीपको विकास गर्नु रहेको विद्यालयका प्रमुख कार्यकारी अधिकृत गणेशराज जोशीले जानकारी गराउनुभयो।

 

महोत्सवअन्तर्गत विद्यार्थी प्रतिभा प्रदर्शन, अन्तर–विद्यालय प्रतियोगिता, गीत तथा नृत्य, नाटक मञ्चन, विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (क्त्भ्ः) प्रदर्शनी, सामाजिक तथा शैक्षिक छलफल, सामुदायिक सेवा तथा स्थानीय परिकार प्रदर्शनीलगायत विविध कार्यक्रम सञ्चालन गरिनेछ। साथै कला, साहित्य र संस्कृति प्रवद्र्धनका लागि कविता तथा कथा वाचन, पुस्तक समीक्षा, चित्रकला, हस्तकला, माटो कला, स्क्र्याबल च्याम्पियनशिप र बहस प्रतियोगिता समेत आयोजना गरिने प्रमुख कार्यकारी अधिकृत जोशीले जनाएको छ। उहाँका अनुसार महोत्सवले विद्यार्थीलाई कक्षाकोठामा सीमित नराखी व्यवहारिक र जीवनोपयोगी सिकाइको अनुभव प्रदान गर्नेछ।
चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ विद्यार्थीभित्र लुकेका बहुआयामिक प्रतिभा उजागर गर्ने साझा मञ्चका रूपमा तयार गरिएको चैतन्य पाठशालाका निर्देशक कटक ब. सिंहले बताउनु भयो । उनका अनुसार महोत्सवमा शैक्षिक, वैज्ञानिक, सांस्कृतिक, साहित्यिक, सामाजिक तथा सिर्जनात्मक गतिविधिलाई समान महत्त्व दिइएको छ। महोत्सव अवधिभर विद्यार्थीहरूले आफ्नो सोच, सीप र सिर्जनशीलता खुला रूपमा प्रस्तुत गर्ने अवसर पाउनेछन् भने विज्ञान, प्रविधि र नवप्रवर्तनदेखि कला, साहित्य र संस्कृतिसम्मका विविध आयाम समेटिने निर्देशक सिंहले बताउनु भयो ।
महोत्सव सफल बनाउन विद्यार्थी, शिक्षक, अभिभावक तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको विद्यालयका प्राचार्य प्रेमनिधि ओझाले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.