धनगढीः देउसी–भैलो खेलेर संकलित रकमबाट खान पुगोस्, दिन पुगोस् अभियान नेपालले बालबालिकालाई न्यानो लुगा सहयोग गरेको छ ।
अभियानले सोमबार धनगढी उपमहानगरपालिका–१० स्थित विपी आधारभूत विद्यालयमा अध्ययनरत ७६ जना बालबालिकालाई स्विटर र टोपी वितरण गरेको हो।
चिसो मौसमका कारण बालबालिकाको पठन–पाठनमा असर नपरोस् भन्ने उद्देश्यले देउसी–भैलोबाट संकलित रकम उपयोग गरी न्यानो लुगा वितरण गरिएको अभियानका संयोजक घनश्याम भट्टले जानकारी दिनुभयो।
संयोजक भट्टका अनुसार अभियानमा जोडिएका सहयोगीदाता तथा देउसी–भैलो, सहयोग संकलनलगायत विभिन्न माध्यमबाट प्राप्त रकम प्रयोग गरी सुदूरपश्चिम प्रदेशका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो लुगा तथा शैक्षिक सामग्री वितरण गरिने बताउनु भएको छ ।

विद्यालयमै उपस्थित भई बालबालिकालाई न्यानो लुगा सहयोग गरिएकोमा विद्यालयकी प्रधानाध्यापक निर्मला चौधरीले अभियानप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा अभियानका सदस्यहरू, विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।