सुदुरपश्चिम विश्वविद्यालयका विद्यायार्थीहरुसंग कतिपय विषयको पाठ्यपुस्तकको अभाव हुँदा अध्ययनमा समस्या
धनगढी । सुदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुसंग आवश्यक पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या पैदा भएको छ । वि.स. २०६७ सालमा स्थापना भएको सुदुरपश्चिम विश्वविद्यालयले हाल इन्जिनीयरिङ्ग, कला,विज्ञान, चिकित्साशास्त्र, कानून,व्यवस्थापन,शिक्षाशास्त्र,पशु तथा कृषि विज्ञान, र अन्य व्यावसायिक विषयको पाठ्यक्रम लागु गरेको छ । तर विद्यार्थीहरुसंग पर्याप्त पाठ्यपुस्तक नहुँदा गुणस्तरिय जनशक्ति उत्पादनमा चुनौती थपिएको छ । धनगढीको कैलाली बुहुमखी क्यामपस पनि वि.स. २०७७ सालदेखी सुदुरपश्चिम विश्वविद्यालयमा गाभिएको छ । यसअघि यो क्याम्पस त्रिभुवन विश्वविद्यालयको सम्बन्धन क्याम्पसका रुपमा रहेको थियो । हाल सुदुरपश्चिम विश्वविद्यालय अन्र्तगत कैलाली बहुमुखी क्याम्पसमा विभिन्न संकायका चार वर्षे स्नातक तहका कक्षाहरु सेमेस्टर प्रणलीमा संचालन भइरहेका छन् । विद्यार्थीेको सहजताकालागि यस क्याम्पसलाई सुदुरपश्चिम विश्वविद्यालयमा गाभिएको भएपनि आवश्यक कतिपय विषयका पाठ्यसामाग्री उपलब्ध नहुँदा भने विद्यार्थीमा अन्यौलता उत्पन्न भएको छ । यस क्याम्पसमा दोस्रो सेमेस्टरको परिक्षा नजिकिदै गर्दा पनि विद्यार्थीले पाठ्यपस्तकको अभाव झेलिरहेको गुनासो गरेका छन् । कैलाली बहुमुखी क्याम्पसमा मानविकी संकाय दोस्रो सेमेस्टरमा अध्ययनरत साकु आले मगर विषयगत पाठ्यपुस्तकको अभाव हुँदा समस्या भइरहेको बताउनुहुन्छ ।
एकातिर कोभिड–१९ का कारणले भौतिक रुपमा नियमित कक्षा संचालन समेत भइरहेका छैनन् । अर्कोतिर आवश्यक पाठ्यपस्तकको अभावका कारण आफुहरुले सोचेजस्तो उपलब्धी हाँसिल गर्न नसकिने हो कि भन्ने गुनासो शिक्षाशास्त्र संकाय दोस्रो सेमेस्टरमा अध्ययनरत पारस रावलको छ ।
सम्बन्धित निकायले यस तर्फ बेलैमा आवश्यक पहलकदमी गर्नु पर्ने कुरामा यस क्याम्पसमा अध्ययनरत विद्यार्थीले जोड दिएका छन् । विश्वविद्यालय अन्र्तगत क्याम्पसमा बिएएलएलबी समेत पठनपाठन हुँदै आएको छ, तर कतिपय पाठ्यपुस्तकको अभाव हुँदा पढाइमा समस्या भइरहेको उक्त बिषय अध्ययनरत विद्यार्थीे मनोज पुन मगरको भनाई रहेको छ ।
कतिपय विषयका पाठ्यपुस्तकको अभावका कारण विद्यार्थीलाई समस्या भइरहेको बिषयमा प्राध्यापकहरुले समेत चिन्ताव्यक्त गरेका छन् । क्याम्पसका प्रशासन अधिकृत डिल बहादुर धामीले विद्यार्थीलाई पाठ्यपुस्तक अभाव भएको बिषयमा क्याम्पस प्रशासन चिन्तित भइरहेको बताउनुभएको छ । उहाँले क्याम्पसको पुस्तकालयमा कतिपय पुस्तकहरु आइसकेको र कतिपय पुस्तकहरु आउने क्रममा रहेको बताउनुभयो ।
हुन त यस क्याम्पसको पुस्तकालयमा पर्याप्त पाठ्यपुस्तक नभएको पनि होईन । तर पुस्तकालयमा केही विषयका पुस्तक भेटिदैनन् । प्रायः पुस्तकहरु त्रिभुवन विश्वविद्यालयको मात्र भेटिन्छन् । तैपनि विद्यार्थीेहरु सुदूरपश्चिम विश्वद्यिालयका सम्पूर्ण विषयगत पाठ्यपुस्तक पुस्तकालयमा समयमै उपलब्ध हुने कुरामा भने विश्वस्तै देखिएका छन् ।