भुवन जोशी र किरण प्रकाश उपाध्याय/
धनगढी। धनगढीमा यहि माघ ५ गते देखि १६ गते सम्म दिपेन्द्र स्वार स्मृति (डिसिए कप) क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
मंगलबार पत्रकार सम्मेलन आयोजना गरी आयोजक धनगढी क्रिकेट एकेडमीले उक्त प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा कैलाली र कञ्चनपूरका माध्यमिक तहका विद्यालयबाट २० वटा टिम सहभागी हुनेछन र खेल T-20 नकआउट चरण अनुसार खेलाइने आयोजक धनगढी क्रिकेट एकेडेमीका व्यवस्थापक समुयल न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता भोली विहिबारबाट धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । उक्त क्रिकेट प्रतियोगिताको विजेताले ५० हजार तथा उप–विजेताले ३० हजार रुपैँया बराबरको पुरस्कार पाउने आयोजकले जनाएको छ ।
यस्तै प्लेयर अफ द टुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने डिसीएका व्यवस्थापक न्यौपानेले बताउनु भयो । त्यसबाहेक उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले ३–३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउनेछन् ।
धनगढी क्रिकेट एकेडेमीका पुर्व खेलाडी दिपेन्द्र स्वारको सडक दुर्घटनामा मृत्यु भएको थियो । उहाँको स्मृतिमा परीवारले हरेक वर्ष क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ । पत्रकार सम्मेलनमा वोल्दै उहाँकी आमा बासु बम स्वारले खेलले अनुशासनमा बस्न र स्वास्थ्य नागरिक उत्पादनमा सहयोग पुर्याउने बताउनु भयो ।
यस्तै डिसिएका व्यवस्थापक न्यौपानेले विद्यालय तह देखि नै ग्रासरुट क्रिकेटको विकासमा योगदान पुगोस् भन्ने हेतुले स्कुल स्तरीय प्रतियोगिता आयोजना गरिएको वताउनुभयो उहाँले भन्नुभयो “स्कुलमै थुप्रै क्रिकेटप्रति रुचि भएका प्रतिभावान खेलाडीहरु हुनुहुन्छ उहाँहरुलाई उचित प्लेटफर्म दिन र उहाँहरुको प्रतिभा चिनेर त्यसलाई तिखार्ने प्रतियोगिताको उद्देश्य हो ।’
डीसीएको स्कुल स्तरीय प्रतियोगिताबाट पहिचान भएका नारायण जोशी, बसन्त कार्कीलगायत खेलाडीहरु हाल राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् ।