नेपाल राष्ट्र बैंक सेयर बजार प्रति सकारात्मक नै छः गभर्नर अधिकारी

धनगढी। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक शेयर बजार (पुँजी बजार) प्रति नकारात्मक नरहेको बताउनुभएको छ ।
आइतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक पुँजी बजारको विकास गर्न प्रतिबद्ध रहेको भन्दै कहिल्यै पुँजी बजारप्रति नकारात्मक नभएको बताउनुभयो । उहाँले शेयर बजार बढ्नु र कहिलेकाहीँ घट्नु स्वाभाविक भएको बताउनुभयो । पुँजी बजार हेर्ने छुट्टै केन्द्रिकृत नियमन निकायहरू भएको बताउँदै गभर्नर अधिकारीले धितोपत्र बोर्डले पुँजी बजारलाई नियन्त्रण र अनुगमन गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘पुँजी बजारप्रति राष्ट्र बैंक नकारात्मक हुनुपर्ने अवस्था छैन । पुँजी बजार हेर्ने छुट्टै केन्द्रिकृत नियमन निकायहरू रहेका छन् । धितोपत्र बोर्डले पुँजी बजारलाई नियन्त्रण र अनुगमन गर्छ । राष्ट्र बैंकले नियमन गर्ने भनेको वित्तीय क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरूलाई हो । नेपाली पुँजी बजारमा बाफियाभित्र ७० प्रतिशत संस्थाहरू समावेश भएको कारणले राष्ट्र बैंकले यी संस्थाहरूलाई गरेको रेगुलेशनको कारण कुनै न कुनै विषयले प्रभाव परेको होला । राष्ट्र बैंकले पुँजी बजारलाई असर परोस् भन्ने नियत लिएको हुँदैन । बैंकहरूसँग भएको पुँजी उत्पादनमूलक क्षेत्रमा लगानी होस् भन्ने चाहिना हो । प्रत्यक्षरूपमा शेयर बजारको विषयमा बोलेका हुँदैनौँ । शेयर बजारको शब्दहरू मौद्रिक नीतिमा नभएकाले अन्यथा लिएको पाएको छु ।’
गभर्नर अधिकारीले विदेशी मुद्रा सञ्चितिमा सन्तुलनमा राख्नका लागि आयात प्रतिबन्धको नीति लिएको भन्दै सहज भएसँगै खुल्दै गरेको बताउनुभयो । स्रोतः उज्यालो अनलाईन

Leave A Reply

Your email address will not be published.