धनगढी । धनगढीको बेहडा बाबा मन्दिरमा शिवजीको पूजा–आराधना गरि आज महाशिवरात्रि पर्व मनाइँदै छ ।
महाशिवरात्रि भगवान शिवको प्रमुख पर्व र हिन्दुहरुको महान चाड हो । भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामाकरण भएको यो पर्व कालरात्रि,मोहरात्रि,शुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रुपमा पुराणहरुमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पुर्ण दिन दुःखी र कष्टपुर्ण अवस्थामा रहेका प्राणीहरुको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रुपमा पनि लिने गरिन्छ । व्रत उत्सव मध्य सर्वोत्तम कहलिएको शिवरात्रिका दिन भक्तजनहरुले शुद्ध भई शिव मन्दिरमा पुजा अर्चना गरी बस्ने र भगवान शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र चढाउने गरिन्छ ।आज देशभरका शिवालयहरुमा भगवान शिवको पुजा आराधना गरी हर्षोल्लासका साथ मनाइएको छ । धनगढी १६ स्थित बेहडा बाबा मन्दिरमा पनि दर्शनार्थीहरुको घुइचो लागेको छ । उक्त मन्दिरका पुरोहित चेतराज भट्ट शिवको पुजा र शिवरात्रिको उपासनाले हामीमा शान्ति, सुख र राम्रो कर्मको फल प्राप्त हुने बताउनु हुन्छ ।
बिहानै देखि मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुका लागि सुरक्षा र व्यवस्थापनका लागि बेहडा बाबा मन्दिर व्यवस्थापन समितिले मन्दिरमा लाइनको व्यवस्थापन, सिसिटिभिको व्यवस्था र सूचनाको सहज पहुँचको व्यवस्था मिलाईएको समितिका सचिब बिरेन्द्र चन्दले बताउनु भयो ।
प्रस्तुत छ यसै विषयमा तयार पारीएको एक रिपोर्ट (अडियो सहित)