कैलाली बहुमुखी क्याम्पसमा आयोजित शैक्षिक अनुसन्धान र प्रस्तावना लेखन सम्बन्धि तीन दिने कार्यशाला सम्पन्न

धनगढी । कैलाली बहुमुखी क्याम्पसमा आयोजित शैक्षिक अनुसन्धान र प्रस्तावना लेखन सम्बन्धि तीन दिने कार्यशाला सम्पन्न भएको छ ।
स्नातक तह विज्ञान संकायको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक अनुसन्धान र प्रस्तावना लेखन सम्बन्धि क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले उक्त कार्यशाला आयोजना गरिएको क्याम्पसका विज्ञान संकायका विभागिय प्रमुख सह–प्राध्यापक प्रकाश पन्तले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालय र सुदुरपश्चिम विश्वविद्यालयका विषय विज्ञहरुले उक्त कार्यक्रममा विभिन्न विषयमा तीन दिन छलफल तथा प्रस्तुतिकरण गर्नुभएको थियो ।
जसमा शैक्षिक अनुसन्धान र वैज्ञानिक लेखन गर्ने मुख्य विधि, परियोजना प्रतिवेदन लेखन, (लेटेक्स) लेखन उपकरण सञ्चालनबारे आधारभूत जानकारी, वैज्ञानिक विधि र अनुसन्धानमा निरन्तरता, अन्तर्राष्ट्रिय जोर्नलमा लेख प्रकाशन गर्ने प्रक्रिया, नेपालमा प्लाज्मा अनुसन्धानको अवस्था, चुनौती, अवसर र सम्भावना लगायतका विभिन्न विषयमा त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रिय विभागका प्राध्यापक डा.राजु खनाल, पुलचोक क्याम्पस काठमाण्डौँका प्राध्यापक डा.हेमराज पन्त, सिद्धनाथ साइन्स क्याम्पस महेन्द्रनरका प्राध्यापक डा.भवानीदत्त जोशी, डा.मान देव भट्ट, अमृत साइन्स क्याम्पस काठमाण्डौँका प्राध्यापक देवेन्द्रराज उपाध्याय, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. धिरेन्द्र ठाकुर, प्राध्यापक रमा जोशी, नास्ट कलेज धनगढीका प्राध्यापक डा.प्रेम वहादुर चन्दले प्रस्तुती राख्नुभएको थियो ।
यस्तै कार्यक्रममा क्याम्पसका सह–प्राध्यापक मोहन सिंह साउँदले यस्ता कार्यशाला र क्षमता अभिवृद्धिका कार्यक्रम अन्य संकायमा पनि लागु हुनुपर्ने वताउनुभयो । कार्यक्रममा सहभागी विद्यार्थीहरुले विभिन्न प्राविधिक कुराहरु सिक्न पाएकाले प्रयोगात्मक कार्य गर्न सहज हुने प्रतिक्रिया दिनुभयो ।
समापन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका सुदुरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डा.पदमराज जोशीले अब विद्यार्थीहरुले अनुसन्धान कार्यमा लगनशील हुनुपर्ने र विज्ञहरु सम्मिलित उक्त कार्यक्रम विद्यार्थीहरुका लागि नयाँ कुरा सिक्ने राम्रो अवसर भएको वताउनुभयो ।
यस्तै कैलाली बहुमुखी क्याम्पसका प्रमुख डा.धर्मराज उपाध्यायले विद्यार्थीहरुलाई अनुसन्धानमा लाग्न र निरन्तरता दिन आग्रह गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.