मंगलवार गएको भुकम्पका कारण बैतडी र बझाङमा क्षति

धनगढी । मङ्गलवार दिउँसो चैनपुर केन्द्रविन्दु भएर आएको भूकम्पका कारण छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
२ बजेर ४० मिनेटमा बझाङ जिल्लाकै तल्कोट आसपास भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको र ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरस्केलको भूकम्प गएको भूकम्पविद् डा. लोकविजय अधिकारीले बताउनु भयो । सत्यवादी मावि भोपुरका चार विद्यार्थीसहित पाँच जना र केदारस्युँ गाउँपालिकाका एक जना गरी छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेश चौधरीले जानकारी दिनुभयो । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै जयपृथ्वी नगरपालिका ४ बालबिकास मा.वि गोलाईको भवन भत्काएको छ । विद्यार्थीलाई पहिलो पराकम्प आएपछि घर पठाउदा ठुलो क्षति भने नभएको शिक्षक नरेन्द्र उपाध्यायले बताउनु भयो । बझाङ जिल्लाकै दुर्गाथलीमा रहेको श्री महालिङ्ग आधारभुत विद्यालय भवनमा पनि क्षति भएको छ । भूकम्पका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । राजमार्गका ठाउँठाउँमा पहिरो जाँदा गाडी आवतजावत रोकिएको छ ।
बैतडीको सिगास गाउँपालिका, पुर्चौडी नगरपालिका, डिलासैनी गाउँपालिका र पाटन नगरपालिकामा दर्जनौँ घर र विद्यालयका भवनमा क्षति पुगेको छ । बैतडीको डिलासैनीमा एक बालिका घाइते भएकी छन् ।

Leave A Reply

Your email address will not be published.