धनगढी । विश्व मानसिक स्वास्थ्य दिवस मंगलबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि “मानसिक स्वास्थ्य सबैको अधिकार” भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी मनाइँदै छ।
सुदुरपश्चिम प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख हेमराज खड्काले यो दिवसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्द्धन एवं संरक्षण गराउने कार्य गर्न प्ररित गर्ने वताउनुभयो।
मानसिक स्वास्थ्यबारे उहाँ भन्नुहुन्छ, “ हामी प्रत्येकले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्ने उपाय अवलम्बन गर्नै पर्छ, नत्र विभिन्न किसिमका मानसिक तनाव र दिर्घ रोगहरु बढ्दै जान्छ” मानसिक स्वास्थ्यको मुद्दालाई समाज विकासको प्रमुख विषय बनाउन आवश्यक रहेको उहाँको भनाई छ। दैनिक जीवनमा आउने तनावलाई त्यो क्षमताले व्यवस्थापन गरेर आफ्नो जीवनमा सकारात्मक किसिमको भूमिका निर्वाह गर्नुपर्ने उहाँको भानाई छ ।
मानसिक स्वास्थ्य स्वस्थ राख्न शारीरिक स्वस्थ्य र सकारात्मक सोचमा ध्यान दिनुपर्छ।
‘युद्ध, अशान्ति, आर्थिक संकट, बेरोजगारी र कतिपय सम्बन्धले मानिसमा निरासा, रिस, द्वेषलगायत विभिन्न कारणले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ, व्यक्ति आफूले यस्ता तनाब बहन गर्ने क्षमताको वृद्धि गर्नुपर्छ। आफू प्रतिकूल परिस्थितिलाई स्वीकार र सामना गर्न क्षमता विकास गर्नुपर्छ।’
दैनिक शारीरिक अभ्यास, सन्तुलित आहारको सेवन, राम्रो निद्रा र सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्ने उहाँको सुझाव छ। उहाँका अनुसार मनोचिकित्सकको परामर्श लिने बिरामीको सङ्ख्या बढ्दो छ। मानसिक स्वास्थ्यमा देखिएका समस्यामध्ये ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत पाँच वर्षदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।
सरकारले मानसिक स्वास्थ्य परामर्श र औषधि निःशुल्क वितरण गर्दै आएको छ। संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य (२०१६–२०३०) मा पनि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी मानसिक स्वास्थ्यको प्रवर्द्धन र नसर्ने रोगबाट हुने मृत्युदरलाई एकतिहाइले कम गर्ने लक्ष्य छ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा धनगढीमा पनि विश्व स्वास्थ्य संगठन नेपाल र “वाक द टक” को आयोजनामा विहानी विशेष “मर्निङ्ग वाक” कार्यक्रम गरिएको छ ।