धनगढी। सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको रोजगारीको सुनिश्चितता गर्न अनुदानमुलक दिर्घकालीन अवधारणा लागु हुने भएको छ ।
उक्त अवधारणाबारे बिहीबार स्वतन्त्र विद्यार्थी युनियन र विद्यर्थी प्रतिनिधिहरुसंग अन्तरक्रिया गरएको छ । क्याम्पसमा रहेको ईन्क्युवेशन सेन्टर मार्फत उद्यमशीलता, शिक्षण, लोकसेवा, सुचना प्रविधि, बैङ्किङ, कानुन लगायतका क्षेत्रमा पढाईसंगै रोजगारी सिर्जना गर्ने र विद्यर्थीहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले उक्त अवधारणा लागु गर्न लागिएको क्याम्पस प्राध्याक संघ कैलाली वहुमुखी क्याम्पसका सभापति डा.शिव प्रसाद सापकोटाले बताउनुभयो । हरेक संकायमा अध्ययनरत विद्यार्धीहरुलाई सम्बन्धित क्षेत्रमा स्वरोजगार बन्न क्याम्पसबाट प्रशिक्षण, प्रस्तावना लेखन, लगायत आवश्यक तालिम केहि दिन भित्र सञ्चालन गरिने उहाँले वताउनुभयो । उद्यमशीलताका क्षेत्रमा विद्यार्थीहरुले समुह वा एकल रुपमा क्याम्पस भित्र वा बाहिर क्रियाक्लाप गर्न पाउने छन भने अन्य क्षेत्रमा विद्यर्थीको ईच्छाका आधारमा डकुमेन्ट संकलन गरेर रोजगारीका अवसर दिईने छ । त्यसका लागि विद्यार्थीहरुले फारम भर्नुपर्ने छ ।
विश्वविद्यालय अनुदान आयोग (युजिसी)ले विद्यार्थीहरुको प्रस्तावना को आधारमा आर्थिक अनुदान उपलब्ध गराउने छ । अन्तरक्रियाका क्रममा क्याम्पसका सहप्राध्यापक बिर वहादुर कडायतले अब विद्यार्थीहरुले प्रतिस्पर्धी र सकारात्मक सोच निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उद्यमी, व्यवसायी वा रोजगार बन्न सानो कामबाट सुरु गरेर भएपनि वाह्य नागरिकको स्थानलाई विस्थापित गर्न आवश्यक रहेको उहाँको भनाई छ ।
स्ववियु सभापति यमराज जोशीले विद्यार्थीहरुको पढाईसंगै काम गर्ने वातावरण सिर्जना र रोजगारीको सुनिश्चितता गर्न यो अवधारणा प्रभावकारी हुने वताउनुभयो । त्यस्तै क्याम्पसबाट आवश्यक प्रशासनिक सहयोग र क्याम्पसका निर्णयहरुलाई पारदर्शी बनाउन बैठकहरुमा प्राध्यापक संघ र स्ववियुको प्रतिनिधित्व हुनुपर्ने उहाँको माग छ ।
हाल कैलाली बहुमुखी क्याम्पसमा व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र, विज्ञान र कानुन संकायको अध्ययन अध्यापन भईरहेको छ । त्यस्तै प्राविधिक तर्फ ईन्जिनियरिङ र वन विज्ञानको पढाईका लागि नितिगत र संरचनागत तयारी भईरहेको छ ।