दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिका अन्तर्गत हुनैनाथ – ४, औतालेकमा अवस्थित न्यायका देवता हुनैनाथ मन्दिरलाई वरदानी ढाेका पनि भनिन्छ । जय हुनैनाथ स्वामी ! श्री हुनैनाथले हामी सबैकाे कल्याण गरुन् ।
दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिकाअन्तर्गत वार्ड नम्बर -४ औल्लेक (औतालेक) गाउँकाे माथि सिरानमा हुनैनाथ मन्दिर रहेकाे छ । हुनैनाथ छिप्लकेदार (पिता) र भागाश्री (माता) का पुत्र तथा बैजनाथका भान्जा हुन । हुनैनाथलाई स्थानीय भाषामा विभिन्न ठाउँमा हुन्शिखर, हुष्कर आदि नामले पनि पुकारिन्छ । दार्चुलाकाे लेकम क्षेत्रमा न्यायका देवताले पूजित हुनैनाथ मन्दिरलाई वरदानी ढाेका पनि भन्ने गरिन्छ । हुन्शिखरकाे जप ध्यान गर्नाले मनले चिताएकाे पुराहुने जनविश्वास रहिआएकाे छ ।
आराध्यदेव हुनैनाथ प्रतिकाे आस्था, बिश्वास, महिमा, भराेसा आदिकाे बारेमा चर्चा गर्दा हुनैनाथकाे उत्पत्ति सम्बन्धमा पनि केही कुरा श्रुति, आख्यान र किम्बदन्तिका आधारमा उलेख गर्नु बाञ्छनिय देखिन्छ । वेद, पुराण, उपनिषद, धर्मग्रन्थ, लाेकश्रूति, झाेडाे, फाग, भक्तिगाथामा वर्णित ईश्वरीय शक्तिबाट प्रकट भएका ब्रह्मा, विष्णु, शिव लगायतका सृष्टि कालमै अजन्मा, अविनाशी, अलाैकिक शक्तिपुञ्ज मध्येका श्रीकेदार, ध्वजकेदार, राैलकेदार, ग्वाल्लेककेदार र छिप्लकेदार गरि पाँच महादेवले केदारकाे दर्जा प्राप्त गरेकाे कुरा विभिन्न वेद, पुराण तथा अन्य धार्मिक ग्रन्थहरुबाट स्पष्ट हुन्छ । त्यसै गरि सृष्टि कालमै ईश्वरीय शक्तिबाट प्रकट भएका ५६ काेटी भगवती मध्येका हिम पुत्रीहरु भागाश्री, शाेभाश्री, शैल्यश्री, पूर्णाश्री र शुर्माश्रीलाई पञ्चश्री भगवतिकाे रुपमा वर्णन गरेकाे पाइन्छ ।
यिनै पञ्चकेदार मध्येका छिप्लकेदार (छिपलाे) र पञ्चश्री मध्येका जेष्ठ हिम पुत्री भागाश्रीकाे जेष्ठ सुपुत्र हुनैनाथ (हुष्कर, हुन्शिखर) बैजनाथका भान्जा हुन भनी हुनैनाथकाे भक्तिगाथामा समेत उल्लेख गरिएकाे छ । इष्टदेव हुनैनाथकाे बारेमा लेख्दै गर्दा मैले सुनेकाे र तत् सम्बन्धी केही कुराहरु अध्ययन गरेकाे आधारमा आफ्नाे मनले कुनै पनि कुरा बढाई चढाई नगरिकन हुनैनाथकाे चमत्कारिक अवतार सन्दर्भलाई यस लेखमा समेट्ने प्रयास गरेकाे छु । आराध्यदेव हुनैनाथ स्वामीकाे हामी माथि सधैं कृपा रहिरहाेस । जय हुनैनाथ …
श्री हुाैनाथ छिप्लकेदार र भागाश्रीकाे काेखबाट अवतार भएकाे कुरा विभिन्न आख्यान, श्रुति, किम्बदन्ति र भक्तिगाथा तथा झाेडाे, फाग, सगुन आदिबाट पुष्टि हुन्छ । दाेभाषे कुरा गर्दा पाठकहरुकाे मनमा खिन्नता प्रकट हुनु त स्वभाविकै हाे आफूलाई पाठककाे रुपमा हेर्दा । यस लेखमा हुनैनाथकाे उत्पत्ति सम्बन्धी केही राेचक प्रसंगहरु प्रस्तुत गर्ने प्रयास गरेकाे छु ।
प्राचीन औल्लेक क्षेत्र भित्रका गाउँहरुमा विभिन्न जात जातिका मानिसहरुकाे बसाेबास थियाे । बिभिन्न जातका मानिसहरु बसाेबास गरेकाे कुरा अहिलेका गाउँहरुकाे नामबाट पनि पुष्टि हुन्छ । प्राचीन कालमा बाेहराहरुले बसाेबास गरेकाे क्षेत्रका ऐतिहासिक स्थानहरुमा बाेराइजर, बाेरेकाफल, बाेरामाणाैं, बाेरेपानी आदि स्थानहरु रहेका छन् । ओजिगाड, ओजिखेतमा ओझाकाे बस्ती रहेकाे र जाेशीगाउँमा जाेशीकाे बस्ती, मलबाबमा मल्ल जातका मानिसहरुकाे बसाेबास रहेकाे कुरा पुष्टि हुन्छ । प्राचीन कालमा गाईवस्तु चराउन वनमा ग्वाला जाने गर्दथे भन्ने कुरा त द्वापरयुगमा कृष्णले गाेकुल मथुरामा गाईहरु चराएकाे कुरा महाभारत ग्रन्थबाट पनि पुष्टि हुन्छ । औल्लेक गाउँका मानिसहरु पनि दिनहुँ जसाे वनमा गाई भैंसी चराउन जाने गरेकाे तथ्य यहाँकाे स्थानीय भाषामा गाईने भक्तिगाथा झाेडाेबाट पुष्टि हुन्छ ।
एउटा काली दुहुनाे गाई वनमा चर्न गएपछि सधैं घरमा रित्ताे थुन बनाएर जाने रहेछ र साँझ दूध दुहुँदा थुनबाट दूध नै नआउने रहेछ । महिनाैं दिन सम्म पनि यस्तै भएपछि एक दिन हंशराज भट्टका छाेराले थरका उक्त कालीगाईलाई आफ्नाे निगरानीमा राखेछ र एक दिन लुकेर हेर्दा एउटा शिलामा गाईकाे थुनबाट आफै दूध चुहिरहेकाे देखेछ । याे क्रम केही दिन सम्म चलि नै रह्याे । केही दिन पछि गाईकाे थुनबाट दूध चुहिरहेकाे अवस्थामा हंशराज भट्टका छाेराले देखे पछि के रहेछ त भनी शिलापत्रमामा हँसियाले हान्दा उक्त शिलापत्रबाट रगतकाे धारा बगेछ र तत्कालै त्याे मानिसले आफ्नाे शरीरमा लगाएकाे बाेदलाे (बाेरा) ले छाेपेछन् । यसरी त्याे दिनदेखि शिलापत्र देवत्वमा परिणत भइ पूजन गर्न थालियाे र हुन्शिखर देवताकाे अवतार भएकाे कुरा हुन्शिखरकाे झाेडाे तथा भक्तिगाथाबाट पुष्टि हुन्छ ।
साेहि दिन देखि हंश राज भट्टमा हुन्शिखरकाे अवतार देखा परेकाेले उक्त शिलापत्र भित्रकाे लिङ्गकाे पूजन गर्न थालिएकाे कुरा हुन्शिखरकाे झाेडाे तथा भक्तिगाथामा उल्लेख गरिएकाे छ । हंश राज भट्ट कत्यूर (भारत) बाट आएर औल्लेकमा बसेका हुन । कत्यूर कुमाऊँकाे बारेमा यस लेखमा उल्लेख गर्नु बाञछनिय देखिन्छ ।
मैले हुन्शिखर देवताकाे बारेमा उल्लेख गर्दैगर्दा औल्लेकमा बसाेबासगर्ने औल्लेकी धामीहरूकाे बाेमा छाेटाे चिनारी उल्लेख नगर्दा याे लेख नै अधुराे हुने सम्झेर थाेरै परिचय गराउने ध्येयका साथ किम्बदन्ति, जनश्रुति तथा इतिहासका जानकारहरूकाे भनाईलाई आधार मानेर औल्लेकी धामीहरूकाे नालीवेली उल्लेख गर्ने प्रयास गरेकाे छु । औल्लेकी धामीहरूकाे पुर्खा कत्यूर (कुमाऊ गडवाल) बाट यस औल्लेक क्षेत्रमा आएर बसाेबास गरेकाे कुरा इतिहासका जानकारहरू र गाउँका समाजसेवी, बृद्ध नागरिक, जनश्रुतिबाट हंश राज भट्ट औल्लेक (औतालेक) मा आएर बसाेबास गरेकाे भन्ने कुरा स्पष्ट हुन्छ । औल्लेकी धामीहरूकाे पुर्वज हंश राज भट्ट हुन । हंश राज भट्टकाे औल्लेकमा आगमन पश्चात् हालकाे मालिकार्जुन गाउँपालिका अन्तर्गत वार्ड नम्बर -६ उकु, सलेती, र लेकम गाउँपालिकाकाे कुणी, गराडी, सर्माेली लगायतका क्षेत्रमा हिन्दु धर्मकाे संस्कार अनुसार वृत्ती (कर्मकाण्ड) गर्ने कार्यमा संलग्न थिए भनेर औल्लेकीहरूकाे वंशावलीसंग सराेकार राख्ने जानकारहरू र गाउँका बुढापाकाहरू बताउँछन् ।
हुन्शिखर औल्लेकीहरूकाे इष्टकूल देवता भएकाेले रैथान (बसाेबास) औल्लेक र ओगाई खानू ( कर्म गरेर खाने) कुणी, गराडी भन्ने कुरा हुन्शिखरकाे भक्तिगाथा र जनश्रुतिबाट पनि हुन्शिखर देवताकाे हेरालाे (रेखदेख गर्ने) हंश राज भट्ट माथि उल्लिखित क्षेत्रहरूमा गई पूजापाठ तथा वृत्ति कर्म गर्ने गर्दथे भन्ने कुरा प्रष्ट हुन्छ । तथापि हंश राज भट्ट वेदका ज्ञाता भने थिएनन् भनेर गाउँका जानकारहरू बताउँछन । याे लेख पढ्ने पाठकहरूलाई हंश राज भट्ट कसरी भाट भएछन् त भन्ने जिज्ञासामा एउटा राेचक प्रसंग उल्लेख गर्नु सान्दर्भिक ठानेकाे छु ।
औल्लेक गाउँ भटमासकाे लागि निकै उर्बर भूमि थियाे । अहिले पनि याे क्षेत्रमा विभिन्न प्रजातिका भटमास (कालाे, धाैलाे, करडाे रङ्ग) हरूकाे उत्पादन हुने गर्दछ । त्यति बेला स्थानीय भाषामा भटमासलाई भट्ट भन्ने गर्दथे । अहिले पनि भट्ट नै भन्ने गर्दछन् । हंश राज भट्टकाे औल्लेकमा आगमन पश्चात् त्यहाँ बसाेबास गर्ने अन्य जातिहरू मल्ल, जाेशी, बाेहरा आदि जातिका मान्छेहरुले कालाे, धाैलाे, करडे उपनाम लगाएर भट्ट सम्बाेधन गर्दा आफू अपहेलित भएकाे महसुस गरी हंश राज भट्टले म भट्ट हाेइन भाट हुँ भने पछि भट्ट थरकाे अपभ्रंश भएर हंश राज भाट भएकाे र दैवीय अवतार पश्चात् काम्ने मान्छेलाई धामी भन्ने हुँदा हंश धामी भएकाे हाे भनेर गाउँका बुढापाका जानकारहरू बताउँछन् ।
किम्बदन्ति तथा जनश्रुति अनुसार हंश राज भ्ट्ट भाट (क्षेत्री) हुनुकाे अर्काे पनि राेचक प्रसंग रहेकाे छ । औल्लेक क्षेत्रमा विभिन्न प्रजातिका भट्ट (भटमास) उत्पादन हुने गरेकाे कुरा माथि उल्लेख गरिएकाे छ । हंश राज भट्ट सन्या (गायत्री मन्त्र) जप र बिहान पुजापाठ नगरिकनै भटमासकाे सातु (भट्ट भुटेर ओखलमा गुड, खुदाे मिसाएर कुटेकाे) कलेउ (नास्ता) खाएकाे हुनाले गाउँका भद्र भलादमीहरूले हंश राज भट्टलाई भाटकाे संज्ञा दिएकाे हुनाले हंश राज भाट भएकाे भन्ने अर्काे थरिकाे तर्क तथा बुझाई रहेकाे छ । अहिले पनि अाधा दिनकाे हंश भाट, आधा दिनकाे हंश धामी भन्ने गर्दछन् । हंश राज भाटका सन्तान औल्लेकीहरू भारद्वाज गाेत्री हुन । करीब १२ औं शताब्दीको मध्यतिर कत्यूर (कुमाऊँ गडवाल) मा हिन्दु मुश्लिमकाे लडाई पश्चात् धर्म संस्कृतिकाे बचाऊ गर्न र ज्यान बचाउन भागेर औल्लेकमा आएर बसाेबास गरि आफ्नाे वंश विस्तार गरेकाे कुरा इतिहासबाट पनि पुष्टि हुन्छ ।
हंश राज भट्टबाट भाट हुँदै दैवीय अवतार पश्चात् धामी औल्लेकीहरू हाल औल्लेक बाहेकका अन्यत्र क्षेत्र र ठाउँहरू (उकु सलेती, कञ्चनपुर, कैलाली, काठमाण्डाै आदि) मा समेत छरिएर रहेका छन् । औल्लेकी धामीहरू संस्कारी, पुर्खाहरूकाे बिंडाे, वचनलाई पालनगर्ने, धार्मिक अध्यात्मिक प्रवृत्ति र सरल स्वभावका छन् । आफू स्वयम् औल्लेकी धामी भएकाेले औल्लेकीहरूकाे बखान गर्नु त मेराे मुर्खता नै हाे, किनकि नजाति छु नराम्राे छु कुन बन्छ र ? औल्लेकीहरूकाे विशेषता तथा राम्रा नराम्रा पक्षहरू केलाउने जिम्मा पाठकहरूलाई नै सुम्पन चाहन्छु ।
हुनैनाथ मन्दिर औल्लेक गाउँकाे सिरानमा एक सुन्दर रमणिय स्थानमा रहेकाे छ । मन्दिरकाे उत्तर पूर्वमा सल्ला, बाज, लालीगुराँश आदि वनस्पतिहरु, दक्षिणमा भिरालाे पातलाे जंगल र पश्चिममा रानीपातल रहेकाे छ । रानीपातलमा विभिन्न प्रजातिका बनस्पति विरुवाहरु (सल्लाे, लालीगुराँस, उतिस, काफल, बाज, सिर्पा, ऐसेलु, किरमडा) आदिकाे घना जंगल रहेकाे छ । उक्त रानीपातल अझै संरक्षणकाे पर्खाईमा रहेकाे छ । मन्दिर परिसरकाे चारैतिर विभिन्न आकार प्रकारका घण्ट, त्रिशूल, मूर्तिहरुले सु-सज्जित रहेकाे छ । मन्दिरकाे दक्षिण-पश्मिमतिर केहि खुडकिलाहरु पारगरेर मन्दिर परिसरकै तल हिङलाे (पिङ) गाडिएकाे छ । मन्दिरकाे मुख्य आकर्षण रहेकाे हिङलाेकाे संरक्षण गरिनु जरुरी छ । मन्दिरकाे दक्षिण-पश्चिम केहि तल औल्लेक गाउँकाे माथि हंशराज भट्टकाे कुमाउँ कत्युर आगमन स्थल पारसिला गाउँ रहेकाे छ । हंशराज भट्ट भारद्वाज ऋषिका सन्तान हुन् । कालान्तरमा भट्ट थर अपभ्रंश भएर भाट र हुनशिकरकाे दैवीय अवतार पश्चात् धामी भनिने गरेकाे गाउँका बुढापाका तथा इतिहासका जानकारहरू बताउछन् । औल्लेकी धामीहरु भारद्वाज गाेत्रका हुन । पारसिलामा भणारी घर (हुनैनाथ देवताकाे सरसामान राख्ने भण्डार घर) रहेकाे छ ।
विभिन्न धार्मिक चाडपर्वहरुमा पारसिलाबाट नै दमाहा, झ्याली, मिजरा, वेकुल (विगुल) भाेकरकाे बाजागाजा सहित भणारी घरकाे परिक्रमा गरि आवश्यक सामग्री लगेर हुनैनाथ मन्दिरमा जाने गरिन्छ । यस लेखमा भण्डार घरलाई भणारी घर र भण्डार गर्ने जिम्मेवारी पाएकाे व्यक्तिलाई भणरे पदले सम्बाेधन गरिएकाे छ । विभिन्न चाडपर्वहरुमा मन्दिरकाे मूल पुजारी (पाण्डा), भणरे, पतरे, भाेकरिया (भाेकर बजाउने) हरु मुख्य कारिन्दा (देवताकाे कामगर्ने) हुन्छन् । विभिन्न ठाउँहरुबाट पाेखल (चामल, घिउ, बत्ती, धूप, फूल, भेटी) ल्याएर श्रद्धालु भक्तजनहरु मन्दिरमा गाेंरा, खेडी, जात हेर्न र पुजापाठ गर्न आउने गर्दछन् ।
टाढा टाढाबाट आएका भक्तजनहरुकाे लागि नि:शुल्क भाेजनकाे व्यवस्था पनि गरिएकाे हुन्छ । चाडपर्वकाे बेलामा मन्दिर परिसरमा मेला लाग्ने गर्दछ । हुनैनाथकाे जप ध्यान गरी दर्शन गर्नाले सत्रुक्षय हुने, निराेगी हुने, निःसन्तानलाई सन्तान प्राप्त हुने, मनाेकाँक्षा पूरा हुने जनविश्वास रहि आएकाे छ। स-भक्तिभावपूर्वक दर्शन तथा पूजापाठ गरेमा मनाेकाँक्षा पुराहुने कुरामा म पनि विश्वस्त छु । जय हुनैनाथ स्वामी ! हुनैनाथ स्वामीले हामी सबैकाे कल्याण गरून् ।
अन्त्यमा मन्दिरकाे फाेटाे उपलब्धगराइ लेखलाई पूर्णता प्रदान गर्न सहयाेग गर्नुहुने आदरणीय ठुलदाजु श्री चन्द्र सिंह धामीज्यूलाई हृदयदेखि आभार व्यक्त गर्दछु । न्यायका देवता हुनैनाथकाे पवित्र मन्दिरकाे फाेटाे धनगढी उपमहानगरपालिकाकाे वालपेन्टिङ्गमा समावेश गरिदिन हुन धनगढी उपमहानगरपालिका परिवार तथा मेयर श्री गाेपाल हमालज्यूलाई हार्दिक अनुराेध गर्दछु । धन्यवाद !
स्राेत : धामी, राजेन्द्र र दामाेदर (२०७८), आराध्यदेव हुनैनाथकाे महिमा तथा औल्लेकी धामीहरुकाे वंशावली । गाेकुलेश्वर दार्चुला । पाण्डेय,बद्रीदत्त (२०२२), कुमाऊँ का इतिहास । भारत पन्त, दयाकृष्ण (२०६७), दार्चुलाकाे इतिहास । महेन्द्रनगर । तस्बिर : चन्द्र धामी
मान सिंह धामी (भौनबाटी)
उप-प्राध्यापक : कैलाली बहुमुखी क्याम्पस, धनगढी
स्थायी ठेगाना : मालिकार्जुन-४, हुनैनाथ गाेठ्युडी, दार्चुला