“कला र विपद्” विज्ञानको नवीनतम संयोजनः टीकापुर नगरपालिकामा विपद् जोखिम न्यूनीकरण गर्न बाढी जोखिम वैज्ञानिक नक्शा अनावरण

कैलाली । बाढी प्रकोपको दृष्टिले उच्च जोखिममा रहेको कैलाली जिल्लाको टिकापुर नगरपालिकाले बाढीको जोखिमबारे स्थानीयलाई सुचित गराउन बिज्ञान र कलाको प्रयोग गरेको छ ।
युथ इनोभेसन ल्याबसँगको सहकार्यमा नगरपालिकाले स्थानीयलाई बाढीको जोखिमबारे सचेतना बढाउन आफ्नै कार्यालयमा वैज्ञानिक बाढी जोखिम भित्तेचित्र बनाएको छ । कर्णाली र मनोहरा जस्ता ठुला नदिको बीचमा रहेको यो नगरपालिका हरेक वर्षायाममा बाढीको जोखिममा रहन्छ । बाढीकै कारण यहाँ जनधनका साथै भौतिक पूर्वाधारको पनि क्षति हुदै आएको छ । विशेषगरी स्थानीय जनता बेलैमा बाढी जोखिम बारे सुचित हुन नपाएकाले बढी क्षति हुने गरेको छ । युथ इनोभेसन ल्याबले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसंगको सहकार्यमा वैज्ञानिक बाढीको जोखिम नक्शालाई भित्तेचित्रमा परिणत गरी जोखिम युक्त स्थानमा सम्बन्धित स्थानीय सरकारसंगको सहकार्यमा बनाउदै आइरहेको छ ।
यो भन्दा पहिले १० मे २०२३ मा युथ इनोभेसन ल्याबले बर्दियाको राजापुरका स्थानीयलाई बाढीको जोखिमबारे सचेत गराउन पहिलो पटक भित्तेचित्र प्रदर्शन गरेको थियो । जसले गर्दा यो संस्था ग्लोबल रेजिलिएन्स पार्टनरशिपबाट नलेज इन्टु युज ग्लोबल अवार्ड्स–२०२३ बाट पुरस्कृत समेत भएको थियो।
यो परियोजनाको सफल प्रयासलाई हालै दुबईमा भएको कोप–२८ मा पनि समावेश गरिएको थियो । टिकापुर नगरपालिकाको बाढी जोखिम वैज्ञानिक नक्शाले स्थानीय बासिन्दालाई बाढीबारे सरल तरिकाले जानकारी दिने र थप सतर्कता अपनाउन अभिप्रेरित गर्ने विश्वास गरिएको छ । भित्तेचित्रमा समावेश गरिएको नक्सा, जसमा बाढी गएको समयमा पानी कति माथिसम्म पुग्छ भन्ने देखाइएको छ, यसले सरकारलाई बाढी सम्बन्धी सूचना राख्न र नयाँ योजना बनाउन सहयोग समेत पु¥याउने छ ।

यस भित्तेचित्र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संचालन गरेको विपद् पोर्टलमा रहेको विजरिस्क मोड्युलबाट समावेश गरिएको छ । त्यसैगरी भित्तेचित्रमा क्यूआर कोड पनि राखिएको छ । यसले गर्दा उक्त कोड स्क्यान गर्ने जोकोहीले विपद्बारे थप सूचना पाउन टीकापुर नगरपालिकाको विपद् पोर्टलमा पहुँच पाउन सक्नेछन् ।
कला र विज्ञानको संयोजनले स्थानीयलाई विपद्बारे भरपर्दो सूचना दिन सकिने र यो दीगो रूपमा प्रभावकारी हुने युथ इनोभेसन ल्याबले विश्वास लिएको युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले बताउनुभयो ।
भौगोलिक डाटामार्फत आफ्नो बसोबासको क्षेत्रमा रहेको जोखिमको जानकारी सहज रुपमा प्राप्त गर्नु स्थानिय समुदाय र नगरपालिकाको लागि महत्त्वपूर्ण उपलब्धि भएको उहाँको भनाई छ । उहाँका अनुसार यस प्रकारको जानकारी हुँदा धेरै डेटा नभएका क्षेत्रहरूलाई वास्तवमै मद्दत गर्छ ।
विशेषगरी प्रकोपहरूबाट सुरक्षित रहन र त्यसका लागि आवश्यक नियम तथा योजना बनाउन यस्ता तथ्यांकमा आधारित निर्णयहरू गर्नु अति महत्त्वपूर्ण हुने युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडा बताउनुहुन्छ ।
बाढी जस्तो प्राकृतिक प्रकोपबाट स्थानीयलाई सचेत बनाउन र विकासका सन्दर्भमा पनि यस्ता नवीनतम पहलले सघाउने विश्वास नगरपालिकाले लिएको छ । भित्ते कला सफलतापूर्वक सम्पन्न भएको अवसरमा बोल्दै नगरपालिकाका मेयर रामलाल डगौरा थारुले भन्नुभयो “टिकापुर नगरपालिका कर्णाली तथा अन्य नदि खोलाहरुको तटिय क्षेत्रमा रहेको कारण बाढीको उच्च जोखिममा भएको नगरपालिका हो । यस जोखिम भित्तेचित्रले यहाँका जनप्रतिनिधि, कर्मचारी तथा स्थानियहरुमा बाढी बारे जनचेतना फैलाउने तथा बाढी जोखिमका तथ्याङ्कहरुमा आधारित भई दिगो विकासका कामहरुमा अझ टेवा पुग्ने हाम्रो अपेक्षा रहेको छ ।”

Leave A Reply

Your email address will not be published.