रिपोर्टसहित
धनगढी – कैलालीको धनगढीमा रहेको शैलेश्वरी इङ्ग्लिस बोर्डिङ स्कुलले दुई दिने निःशुल्क दन्त शिविर सुरु गरेको छ ।
विद्यालयले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै श्रीनगर डेन्टल हस्पिटलसँग सहकार्य गरेर बिहिबार र शुक्रबार उक्त शिविरको आयोजना गरिएको विद्यालयका संस्थापक प्रधानाध्यापक जगन्नाथ जोराले बताउनुभयो ।
श्रीनगर डेन्टलका सञ्चालक बीडीएस डाक्टर प्रेम प्रसाद रेग्मी र बीडीएस डाक्टर एलिना क्षेत्री लगायतको टोलीले नेतृत्व गरेको शिविरमा आज ७५० जना विद्यार्थी र १५० जना अभिभावकले दन्त परीक्षण गरेको विद्यालयका प्रधानाध्यापक जोराले जानकारी दिनुभयो ।
अभिभावक र विद्यार्थी सबैले दाँतको हेरचाहका लागि सचेत गराउन उक्त शिबिरको आयोजना गरिएको उहाँले बताउनुभयो । यस्तै विद्यार्थीहरुले आज चेकजाँच गराए बाफतको काडमार्फर्त थप उपचारका लागि उक्त क्लिनिकमा जाँदा प्रवेश शुल्क नलाग्ने र औषधि तथा सामानमा २५ प्रतिशत छुट पाउने छन् ।
साथै शैलेश्वरी इङ्ग्लिस बोर्डिङले प्रत्येक वर्ष विद्यार्थीहरूको स्वास्थ्य परीक्षण र दाँत चेकजाँच गर्ने गरेको छ । त्यसैगरी स्वास्थ्यसंग सम्बन्धित अन्य विषयमा आगामी दिनमा स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको उहाँको भनाई छ ।
बच्चाहरुमा दाँत ब्रस गर्ने तरिकाको बारेमा जानकारी नहुनु र झर्ने तथा नझर्ने दाँतबारे राम्ररी जानकारी राखि सरसफाईमा विशेष ध्यान दिनुपर्ने डेन्टल चिकित्सक एलिना क्षेत्रि बताउनुहुन्छ ।
दाँत शरिरका अंग भाग जस्तै संवेदनशील अंग भएकाले दाँत माझ्ने तरिका र समयबारे थाहा पाउनुपर्ने उहाँको भनाई छ । स्वास्थ्यमा दाँत माझ्ने तरिकाले ठूलो फरक पार्छ । सही तरिका र शैली पछ्याएदेखि दाँतमा देखिने धेरै समस्या कम हुने चिकित्सकको सुझाव छ । त्यसैले दाँत कसरी माझ्ने ? कति समय माझ्ने ? कस्तो ब्रस वा मञ्जनले माझ्ने ? भन्नेबारे राम्ररी जानकारी लिन र स्वास्थ्य प्रवर्द्धन गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण र अनिवार्य छन् ।