धनगढी । राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सव धनगढीमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । बैंकको प्रादेशिक कार्यालय धनगढीले बुधबार एक औपचारिक कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो । कार्यालयले वार्षिकोत्सवको अवसरमा त्यसअघि रक्तदान, कार्यालय परिसर सरसफाइ, फुटसल, व्याटम्यान्टिन, तातो आलु, घैँटाफोड लगायत कर्मचारीबीच मैत्रीपूर्ण खेलकुद कार्यक्रम गरेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय धनगढीका प्रमुख भोजराज भट्टको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक बिनोद लेखक प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राजेन्द्र आचार्य, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेता कर्मचारीहरूलाई समारोहमा पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा बैंकका बैकंका प्रदेश उप प्रमुख कर्णदेब मल्लले बैंकले परम्परागतसँगै आधुनिक प्रविधिका माध्यमबाट सेवा प्रवाह गरिरहेको बताउनुभयो । मोबाइल बैंकिङ, अनलाइन बैंकिङलगायत डिभिजन सेवालाई बैंकले परिस्कृत गर्दै लगेको मल्लले बताउनुभयो । ‘आगामी दिनमा बैंकिङ सेवालाई सरल र सहज बनाउन बैंकको उच्च व्यवस्थापपनले प्राथमिकतामा राखेको छ ।’ उहाँले भन्नुभयो ।
बैंकले देशभर दुई सय ६५ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६८ एटिएम र एक सय दुई वटा शाखारहित बैङ्किङ सेवामार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । त्यस्तै सात प्रदेशमा बैंकका सात वटा प्रादेशिक कार्यालय रहेका छन् । बैंकले कृषि कर्जा, अनुदान कर्जा र विपन्न वर्ग कर्जामा राष्ट्रिय वाणिज्य बैंक ग्राहकको पहिलो रोजाइमा रहेको मल्लले बताउनुभयो ।
वार्षिकोत्सव समारोहमा नेपाल राष्ट्र बैंक धनगढीका निदेशक विनोद लेखकले नयाँ प्रविधिको प्रयोग गरेर सेवा दिनु अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले राष्ट्रिय वाणिज्य बैंकप्रतिको सबैको भरोसा र विश्वास रहेको उल्लेख गर्दै विश्वासलाई कायम राखेर काम गर्ने वताउनुभयो ।