धनगढी। राति नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट एक दर्जन बढीको सङख्यामा आउने हात्तीको बथानले तीन दिनदेखि लगातार स्थानीय किसानको खेतबारीमा छिरेर पाक्नै लागेको गहुँबाली खाएर नोक्सानी पुर्याउन थालेको छ ।
“विगतमा हात्ती आगो देखाएर, टिन ठटाएर र होहल्ला गरेर भाग्ने गरेको थियो”, शुक्लाफाँटा–५ का वडा सदस्य जीतबहादुर साउदले भन्नुभयो, “हात्ती छिर्ने बाटोमै काठका मुढा सल्काएर आगो बालेका थियौँ, हात्ती कुनै पर्वाह नगरी खेतबारीमै छिर्यो ।” साइरन बजाएर भगाउन खोजियो, पटाका पड्काइयो तैपनि हात्ती नभागेको उहाँले बताउनुभयो ।
तीन छावासहितको १५ को सङ्ख्यामा रहेका हात्तीको बथानले गहुँबाली खानेसँगै खुट्टाले कुल्चेर नोक्सानी पुर्याउने गरेको स्थानीय बासिन्दाको भनाइ छ । रातभर हात्ती भगाउनकै लागि जाग्राम बस्नुपर्ने अवस्था रहेको मालती पालले बताउनुभयो । हात्तीले बर्सेनि क्षति पुर्याउँदै आए पनि हालसम्म क्षतिपूर्तिबापतको रकम स्थानीयले नपाएको गुनासो गर्नुभएको छ । हात्तीसँगै चितल, निलगाई र बँदेलले किसानका खेतमा पुगेर गहुँलगायतका बालीमा नोक्सानी गर्ने गरेको छ । खेतमा लगाएको अन्नबाली जङ्गली जनावरले खाएर नोक्सानी गर्न थालेपछि परिवारको वर्षभरिको भरणपोषणका लागि अन्न खरिद गर्न गर्जमुनि गाउँका अधिकांश बासिन्दाले रोजगारीका लागि भारततर्फ लाग्नुपर्ने अवस्था सिर्जना भएको छ ।
वडाध्यक्ष चक्रबहादुर खड्काले वडा कार्यालयमा जङ्गली जनावरले खेतमा लगाएको बालीनाली नोक्सानी पुर्याएकाले क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा सिफारिस गर्नका लागि ३० जना बढी किसानले निवेदन दिएको बताउनुभयो । जङ्गली जनावरले क्षति पुर्याएकोबारे सिफारिस गरिँदै आए पनि वन्यजन्तुले बालीनालीमा पुर्याउने क्षति न्यूनीकरण गर्ने भरपर्दो उपायबारे निकुञ्ज कार्यालय, नगरपालिका र प्रदेशमा पत्राचार गरे पनि अहिलेसम्म ठोसरूपमा कुनै कार्य अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो । स्रोत रासस