शुक्रबार दिनभर सुदुरपश्चिम प्रदेशभर के कस्ता घटना घटे, ती मध्येका मुख्य पाँच समाचारलाई हामीले यस खण्डमा उल्लेख गरेका छौं । यो खण्ड आजदेखि नियमित हुनेछ:
सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना बढ्दो
सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परी छ सय ७४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७७/७८ देखि गत फागुन मसान्तसम्म सुदूरपश्चिमका नौवटा जिल्लामा सवारी दुर्घटनाबाट छ सय ७४ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।
ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार चालु आवको फागुनसम्म सुदूरपश्चिममा एक सय १४ जनाको मृत्यु भएको छ । आव २०७७/७८ मा एक सय ८७, आव २०७८/७९ मा एक सय ९६, आव २०७९/८० मा एक सय ७७ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक अनिल उप्रेतीले जानकारी दिनुभयो । अनियन्त्रित गति र सडकका कारण बढीजसो दुर्घटना हुने गरेको उहाँको भनाइ छ ।
घर तथा विद्यालय भवनहरू पुनर्निर्माण हुन नसक्नुमा सङ्घीय सरकार जिम्मेवार:सामान्य प्रशासनमन्त्री जोशी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले समृद्धिका लागि समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । बाजुरा जिल्ला समन्वय समितिको छैटौँ सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री नियुक्त भइसकेपछि पहिलो पटक गृह प्रदेश भ्रमणमा रहेका मन्त्री जोशीले सङ्घीय सरकारबाट सञ्चालित योजनाको अनुगमन गर्नुभएको छ ।
‘भूकम्पका कारण प्रभावित भएका घर तथा विद्यालय भवनहरू पुनर्निर्माण हुन नसक्नुमा सङ्घीय सरकार जिम्मेवार रहेको छ,’ उहाँले भन्नुभयो । उहाँले भूकम्प प्रभावितलाई राहत तथा पुनस्र्थापनाका लागि पहल गर्ने समेत बताउनुभयो ।
सिमसार गज अब शुक्लाफाँटामा
शुक्लाफाँटामा राष्ट्रिय निकुञ्जमा हात्तीको रिक्त दरबन्दीमा ‘सिमसार गज’लाई ल्याइएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट सिमसार गजलाई रिक्त दरबन्दीमा शुक्रबार सरुवा गरेर ल्याइएको हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको निर्णयअनुसार साढे तीन वर्षको भाले सिमसार गजलाई सरुवा गरी ल्याइएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए। उनका अनुसार निकुञ्जमा दशवटा हात्तीको दरबन्दी रहेको छ। त्यसमा नाराणकली, सुर्तिकली, रुपकली र शुक्लाकली गरी चार पोथी तथा लवप्रसाद, सिद्धप्रसाद, शेषचन्द्र गज, नारायणप्रसाद र सिमसार गज गरी भाले पाँच हात्ती रहेका छन्।
नाउपा अध्यक्ष श्रेष्ठद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन् । पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले संसदीय दलका नेता घनश्याम चौधरीलाई कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन् ।
संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउदै, नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन् । फिर्ता नलिए कारबाही गर्ने उनले चेतावनी समेत दिएकी हुन् ।
सेती लोकमार्ग द्रुत गतिमा निर्माण गर्न बाजुरा जिल्ला सभाको माग
बाजुरा जिल्ला सभाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने सेती लोकमार्ग दु्त गतिमा निर्माण गर्न माग गरेको छ । सभाले प्रदेश र सङ्घ सरकारसँग ढिलासुस्ती रोकेर निर्माणका काम शिघ्रताका साथ गर्न माग गरेको हो ।
धनगढीको टीकापुर बर्दगोरियाबाट डडेल्धुरा, डोटी, अछाम, बझाङ हुँदै बाजुरा जोड्ने लोकमार्ग निर्माणले गति नलिएपछि तीन जिल्लाको समन्वयमा सरकारसँग लोकमार्ग निर्माणलाई ध्यान दिन दबाब दिने जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताउनु भयो ।