धनगढी। थारु समुदायको सांस्कृतिक पहिचानका रूपमा रहेको सखिया नाचको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका–६, सरस्वती टोलमा वडा स्तरिय सम्मेलन हिजो (आइतबार ) सम्पन्न भएको छ।
“हमार थारु सखिया नाचके पहिचान“भन्ने अभियानअन्तर्गत आयोजित कार्यक्रममा थारु समुदायका महिला–पुरुषले परम्परागत भेषभूषा र गीतसंगीतका साथ सखिया नाच प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागीहरूले पूर्वजहरूको सांस्कृतिक ज्ञान र सीपलाई भावी पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए।

सखिया नाचले छुट्टै ऐतिहासिक धार्मिक मूल्यमान्यता बोकेको पुर्खादेखि नै मान्दै आएकोले यसलाई नयाँ पुस्तासम्म पु¥याउनका लागि उक्त कार्यक्रम गरिएको धनगढी उपमहानगरपालिका ६ मटियारीका भलमानसा विनकी चौधरीले बताउनुभयो।
त्यस्तै सखिया नाज प्रस्तुत गर्दा थारु समुदायलाई झल्काउने विभिन्न किसिमका गरगहना लगाएर नाच्ने गरेको र उक्त नाचप्रति बढी आकर्षक बनाउने, संस्किृतीको जगेर्ना गर्ने गरेको पिपलचोक टोल विकास संस्थाकी अध्यक्ष सृष्टि चौधरीले बताउनुभयो।

उक्त सांस्कृतिक कार्यक्रमका लागि केही मात्रामा आर्थिक बजेट छुट्याएको वडा नम्बर ६ का वडा अध्यक्ष भागीराम चौधरीले बताउनुभयो। सम्मेलनमा स्थानीय समाजसेवी, जनप्रतिनिधि, तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो। कार्यक्रमको आयोजना पिपलचोक टोल विकास संस्था, धनगढी–६, जालीले गरेको हो भने धनगढी उपमहानगरपालिका वडा नं. ६ कार्यालय, राइजिङ स्टार इङलिस बोर्डिङ स्कुलको सहयोग र समन्वयमा आइतबार सम्पन्न भएको हो।