धनगढी। कैलाली बहुमुखी क्याम्पसमा महिला आत्मरक्षा तालिम सफलतापूर्वक सम्पन्न भएको छ। स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसको आयोजनामा तथा केएमसी वुमन सेलको सह–आयोजनामा उक्त तालिम सञ्चालन गरिएको हो।
चार दिनसम्म सञ्चालन भएको तालिम चैत १५ गतेदेखि १८ गतेसम्म क्याम्पसको मेगा हलमा आयोजना गरिएको थियो। तालिममा ३०० भन्दा बढी छात्राहरूको उत्साहजनक सहभागिता रहेको थियो। तालिमका प्रमुख प्रशिक्षक प्रकाश चन्द रहनु भएको थियो भने प्रशिक्षिकाका रूपमा ऐश्वर्या बिष्ट र वर्षा साउदले आत्मरक्षाका व्यावहारिक तथा सीपमूलक विधिहरूको प्रशिक्षण प्रदान गर्नुभएको थियो।
कार्यक्रमका अवसरमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सन्तोष पन्तले महिलामाथि बढ्दो हिंसा, दुव्र्यवहार र असुरक्षाका घटनालाई ध्यानमा राख्दै यस्ता आत्मरक्षा तालिम अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले शैक्षिक संस्थाले केवल पठन–पाठनमा मात्र सीमित नरही विद्यार्थीको सुरक्षा, आत्मविश्वास र नेतृत्व विकासमा समेत ध्यान दिनुपर्ने धारणा राख्नुभयो। अध्यक्ष पन्तले आगामी दिनमा पनि महिलाको सशक्तीकरण लक्षित यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
केएमसी वुमन सेलकी अध्यक्ष वर्षा सुनारले महिलाको आत्मरक्षा, उच्च मनोबल निर्माण, महिला साक्षरता तथा सुरक्षाका लागि यस्ता तालिम प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले आत्मरक्षा सीपले महिलालाई आत्मनिर्भर, आत्मविश्वासी र सजगतर्फ उन्मुख गराउने विश्वास व्यक्त गर्नुभयो।
तालिममा सहभागी छात्राहरूलाई सम्मानस्वरूप प्रमाणपत्र तथा टिसर्ट प्रदान गरिएको थियो। तालिमले महिलालाई व्यवहारिक रूपमा आत्मरक्षाका सीप सिक्न सहयोग पुगेको आयोजकले जनाएको छ।
तालिममा सहभागी छात्राहरूले कुनै पनि प्रकारको दुव्र्यवहार वा असहज परिस्थितिमा आफूलाई सुरक्षित राख्न सक्षम भएको अनुभूति भएको प्रतिक्रिया दिएका छन्।