कैलाली बहुमुखी क्याम्पसमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु स्ववियुद्वारा सम्मानित

धनगढी।  कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पसमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको छ।

बुधबार आयोजित ‘उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम’को दोस्रो संस्करणमार्फत स्नातक तथा स्नातकोत्तर तहका विभिन्न संकाय र सेमेस्टरमा उत्कृष्ट नतिजा हासिल गर्ने ७० जना विद्यार्थीलाई सम्मान गरिएको हो।

स्ववियु अध्यक्ष सन्तोष पन्तका अनुसार क्याम्पसमा शैक्षिक उत्कृष्टता प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा प्रत्येक सेमेस्टरमा सबै संकायमध्ये उच्चतम जीपीए ल्याउने विद्यार्थीहरूलाई विशेष रूपमा सम्मान गरिएको थियो। जस अन्तर्गत प्रथम सेमेस्टरमा होटल म्यानेजमेन्ट (बीएचएम) संकायबाट ३.९० जीपीए हासिल गरी सर्वोत्कृष्ट नतिजा ल्याउने पबिना चौधरी र जयन्ती कुमारी चौधरी सम्मानित हुनुभयो। दोस्रो सेमेस्टरमा पनि सोही संकायकी पबिना चौधरी ३.८५ जीपीएसहित उत्कृष्ट हुनुभयो।

तेस्रो सेमेस्टरमा प्राकृतिक स्रोत व्यवस्थापन संकायका सितल खड्का ४.०० जीपीए प्राप्त गरी सर्वोत्कृष्ट विद्यार्थी घोषित हुनुभयो। छैटौँ सेमेस्टरमा व्यवस्थापन संकायअन्तर्गत बीबीएस कार्यक्रममा अध्ययनरत नरेशराज भट्ट ३.६६ जीपीएसहित सर्वोत्कृष्ट विद्यार्थीका रुपमा सम्मानित हुनुभयो।

त्यसैगरी, आठौँ सेमेस्टरमा विज्ञान तथा सूचना प्रविधि संकायका सुवास गिरी, अभिषेक जोशी र निराजन चौधरीले समान ४.०० जीपीए प्राप्त गरी सुदूरपश्चिम विश्वविद्यालयमै प्रथम स्थान हासिल गर्दै सर्वोत्कृष्ट विद्यार्थीका रूपमा सम्मान पाउनुभयो।

स्नातकोत्तर तहतर्फ पहिलो सेमेस्टरमा मानविकी संकायका प्रदीप बोगटी ३.७० जीपीए सहित सर्वोत्कृष्ट विद्यार्थी घोषित हुनुभयो। तेस्रो सेमेस्टरमा व्यवस्थापन संकायअन्तर्गत एमबीए कार्यक्रममा अध्ययनरत पवन अवस्थी ३.६६ जीपीए सहित सर्वोत्कृष्ट विद्यार्थीका रूपमा सम्मानित हुुनुभयो।कार्यक्रममा बोल्दै होटल म्यानेजमेन्ट संकायका विभागीय प्रमुख उपप्राध्यापक नरेन्द्र शाहले विद्यार्थीहरूले कक्षा पढाइमा देखाएको मेहनत, नियमित अनुशासन, आत्मप्रेरणा र समय व्यवस्थापन नै उनीहरूको सफलताको मुख्य आधार भएको उल्लेख गर्नुभयो। उहाँले यस्तो गुण विद्यार्थीलाई जीवनका अन्य क्षेत्रमा पनि सफल बनाउन महत्वपूर्ण हुने बताउनुभयो।

त्यसैगरी, क्याम्पस प्रमुख सहप्राध्यापक डा.लोकबहादुर बिष्टले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई मात्र होइन क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थी समुदायलाई प्रेरित गर्ने र आगामी दिनमा अझै बढी परिश्रम र समर्पणका साथ अध्ययन गर्न उत्प्रेरित गर्ने बताउनुभयो। उहाँले यस किसिमको सम्मान कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास बढाउने, प्रतिस्पर्धात्मक भावना जागृत गर्ने र उहाँहरुको प्रतिभालाई प्रकट गर्ने महत्वपूर्ण माध्यम भएको पनि जोड दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्टले सबै सम्मानित विद्यार्थीहरूलाई बधाई दिंदै उनीहरूले हासिल गरेको उत्कृष्ट प्रदर्शन केवल व्यक्तिगत उपलब्धि मात्र नभई क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयको गौरव पनि भएको बताउनुभयो। साथै उनले विद्यार्थीहरूलाई आगामी दिनमा अझ उच्च स्तरको उपलब्धि हासिल गर्न निरन्तर परिश्रम गर्न र आफ्ना लक्ष्य प्राप्तिका लागि पूर्ण समर्पण देखाउन प्रेरित गर्नुभयो।

सम्मानित हुने सम्मपूर्ण विद्यार्थीहरुको सुची:  

Leave A Reply

Your email address will not be published.