धनगढी। धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा बिबिए फेष्ट सुरु भएको छ। व्यवस्थापन संकाय अन्तर्गत बिबिए शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा फेष्ट सुरु गरिएको हो।
सोमबार आयोजित उद्घाटन कार्यक्रममा सहायक क्याम्पस प्रमुख सहप्राध्यापक डा. शिवप्रसाद सापकोटाले फेष्टको औपचारिक उद्घाटन गर्नुभयाे। उहाँले शैक्षिक ज्ञानसँगै व्यवसायिक सोच विकास गर्न विद्यार्थीले कक्षाकोठाबाहिरका गतिविधिमा सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिनुभयाे। “पाठ्यक्रममा आधारित सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने अवसर यस्ता कार्यक्रमहरूले प्रदान गर्छन्,” उहाँले भन्नुभयाे।
डा. सापकोटाले बिबिए फेष्टजस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, अनुशासन र सहकार्यको भावना विकास गराउने उल्लेख गर्दै व्यवस्थापन शिक्षा प्रभावकारी बनाउन यस्ता रचनात्मक गतिविधि निरन्तर हुनुपर्ने बताउनु भयाे।
फेष्ट अन्तर्गत विद्यार्थीहरूले विभिन्न शैक्षिक, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गर्नेछन्। फेष्ट संयोजक रोहित विक्रम भट्टका अनुसार इन्डोर तथा आउटडोर खेलकुद गतिविधि समावेश गरिएका छन्। जसमा क्रिकेट, फुटबल, कबड्डी, म्युजिकल चेयर, निशानाबाजी खेल, डोरी तान्ने खेल लगायतका प्रतियोगिता हुनेछन्।
त्यसैगरी व्यवसायिक तथा बौद्धिक गतिविधि अन्तर्गत बिजनेस क्विज, सेल्स पिचिङ, प्यानल डिबेट, स्केच विश्लेषण, विज्ञापन प्रतियोगिता, कविता प्रतियोगिता तथा विभिन्न मनोरञ्जनात्मक खेलहरू सञ्चालन गरिनेछ। फेष्टको अवसरमा दुई दिनसम्म क्याम्पस परिसरमा स्टल स्थापना गरी विभिन्न व्यवसायिक गतिविधिहरू पनि सञ्चालन गरिने उहाँले जानकारी दिनुभएकाे छ।
व्यवसायिक सिप, नेतृत्व क्षमता र व्यवस्थापन दक्षता विकास गर्ने उद्देश्यले फेष्ट आयोजना गरिएको संयोजक भट्टले बताउनुभयाे।
यस्तै बिबिए कार्यक्रमका संयोजक उपप्राध्यापक दीपकराज पन्तले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सिप विकास आवश्यक रहेको उल्लेख गर्दै यस्तो कार्यक्रमले उद्यमशील सोच र आत्मनिर्भर क्षमताको विकासमा सहयोग पुग्ने बताउनुभयाे।
विद्यार्थीहरूको पहलमा हरेक वर्ष आयोजना गरिने बिबिए फेष्टले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्दै नेतृत्व र व्यवसायिक क्षमताको विकासमा योगदान दिँदै आएको उपप्राध्यापक पन्तले बताउनुभयाे।
बिबिए फेष्ट वैशाख २५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।