सूचना तथा प्रसारण विभागद्वारा धनगढीमा पत्रकारिताका विद्यार्थीका लागि अभिप्रेरणा कार्यक्रम आयोजना

धनगढीः सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा प्रसारण विभागको आयोजनामा कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीहरुका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम आयोजना गरिएको छ।

पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीहरु यस क्षेत्रमा कम संलग्न हुने र बाहिरी व्यक्तिहरु पत्रकारितामा बढ्दो रूपमा सक्रिय हुँदा व्यवसायिकता तथा गुणस्तरमा गिरावट आएको पृष्ठभूमिमा विद्यार्थीहरुलाई अभिप्रेरणा प्रदान गर्न कार्यक्रम सञ्चालन गरिएको सूचना तथा प्रसारण विभागकी निर्देशक पूर्णिमा उपाध्यायले बताउनुभयाे। विभागको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत आमसञ्चार तथा पत्रकारिता अध्ययन गरेका विद्यार्थीहरुलाई व्यवसायिक पत्रकारितातर्फ प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयाे।

तीनदिने कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न स्रोत व्यक्तिहरुमार्फत आमसञ्चार क्षेत्रका अवसर र चुनौती, समाचार लेखन सीप, मिडिया आचारसंहिता, सूचना तथा प्रसारण विभागबाट प्रदान हुने सेवा प्रक्रिया तथा नेपालमा डिजिटल मिडियाको वर्तमान अवस्था, यसका अवसर र चुनौतीबारे प्रस्तुति र अन्तरक्रिया गरिने निर्देशक उपाध्यायले बताउनुभयाे।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पछिल्लो समय पत्रकारितामा व्यवसायिकता खस्किँदै गएको उल्लेख गर्दै विद्यार्थीहरुलाई खोज पत्रकारितातर्फ उन्मुख हुन आग्रह गर्नुभयाे। उहाँले मिडियामा बढ्दो अल्छीपनाले एउटै समाचार विभिन्न माध्यममा जस्ताको तस्तै प्रकाशन हुने प्रवृत्ति देखिएको भन्दै समाजलाई सचेत बनाउने र सामाजिक विकृतिमाथि केन्द्रित पत्रकारिता गर्न सुझाव दिनुभयाे।

‘अहिले मिडियामा अलि व्यवसायिकता छैन, अल्छिपना छ, एउटै खालको समाचार सबै मिडियामा जस्ताको तस्तै आउँछ, स्थानीय मिडियामा त्यस्तो अभ्यास देखिन्छ तर तपाईहरु खोज पत्रकारिता र समाजलाई सचेत गराउने पत्रकारिता गर्नु आवश्यक छ। विशेष गरी सामाजिक विकृतिहरुमाथि चासो राखेर कलम चलाउनुहोस्।’ उहाँले भन्नुभयाे।

त्यस्तै सूचना तथा प्रसारण विभागका महानिर्देशक छबिन्द्र पराजुलीले जिम्मेवार र समाजलाई सही दिशामा डोर्याउने पत्रकारिताको विकासका लागि यस्ता तालिम प्रभावकारी हुने बताउनुभयाे।

कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोकबहादुर बिष्टले क्याम्पसले विद्यार्थीहरुको सीप विकाससँगै रोजगारी सुनिश्चित गर्न विभिन्न सरकारी निकायहरुसँग इन्टर्नशिपका लागि समन्वय गरिरहेको जानकारी दिनुभयाे। साथै, आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक क्षमता विकासका लागि क्याम्पसमा आवश्यक उपकरणसहित सञ्चार ल्याबको व्यवस्था गरिएको पनि उहाँले बताउनुभयाे।

कार्यक्रमकाे उद्घाटन सत्रमा प्रेस काउन्सिल नेपालका सदस्य पदमराज जोशी, हुलाक निर्देशनालय कैलालीका शाखा अधिकृत जितेन्द्र विक, आमसञ्चार तथा पत्रकारिताका प्राध्यापकहरु, सूचना तथा प्रसारण विभागका प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे। सोमबारदेखि बुधबारसम्म सञ्चालन हुने उक्त कार्यक्रममा कैलाली बहुमुखी क्याम्पस, सुदूरपश्चिमाञ्चल क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयकाे केन्द्रीय क्याम्पसमा स्नातक तहमा आम सञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको छ।

Leave A Reply

Your email address will not be published.