धनगढी । कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा निम्न माध्यमिक तह (निमावि) अध्यापन अनुमति पत्र तयारी कक्षाको उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कक्षामार्फत सहभागी विद्यार्थीहरूले निमावि तहको अध्यापन अनुमति पत्र परीक्षाको तयारी गर्न सक्नेछन्।
स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सन्तोष पन्तको सभापतित्वमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास मन्त्री सरस्वती खड्का प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा सामाजिक विकास मन्त्रालयका प्रमुख कुलराज सोती विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
त्यसैगरी, प्राध्यापक संघका सभापति तथा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक राजेन्द्रवीर चन्द, सह–प्राध्यापक प्रयागराज जोशी, प्रमुख प्रशिक्षक नवराज पाण्डेय तथा स्ववियु पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
एक महिनासम्म सञ्चालन हुने उक्त तयारी कक्षामा प्रमुख प्रशिक्षक नवराज पाण्डेयले प्रशिक्षण दिनुहुनेछ। कार्यक्रममा बोल्दै उहाँले पाठ्यक्रमअनुसारका सम्पूर्ण विषयवस्तु, सम्भावित प्रश्न तथा परीक्षा केन्द्रित सामग्री समेटेर प्रशिक्षण प्रदान गरिने जानकारी दिनुभयो।
स्ववियु अध्यक्ष सन्तोष पन्तले उद्घाटनका दिन अभिमुखीकरण तथा प्रारम्भिक प्रशिक्षण सञ्चालन गरिएको र भोलिदेखि नियमित कक्षा सुरु हुने बताउनुभयो। उहाँका अनुसार कक्षा दैनिक दिउँसो ३:३० बजे क्याम्पसको कन्फरेन्स हलमा सञ्चालन हुनेछ।
क्याम्पसमा अध्ययनरत तथा अध्यापन अनुमति पत्र परीक्षाको फारम भरेका वा नभरेका सबै विद्यार्थीहरूलाई कक्षामा सहभागी हुन आग्रह गरिएको छ।
स्वतन्त्र विद्यार्थी युनियनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत उक्त तयारी कक्षा सञ्चालन गर्न लागेको जनाएको छ। अध्यापन अनुमति पत्रको विज्ञापन प्रकाशित भएको समयमा सञ्चालन गरिएको यस कार्यक्रमबाट कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत धेरै विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ।
स्वतन्त्र विद्यार्थी युनियनले आगामी दिनमा पनि विद्यार्थी हितका यस्ता शैक्षिक तथा क्षमता विकाससम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।