सत्यराज जोशीको अङ्ग्रेजी पुस्तक ‘कर्मपथ’ माथि परिचर्चा

धनगढी । सत्यराज जोशीद्वारा लिखित अङ्ग्रेजी भाषाको पुस्तक कर्मपथ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। आइतबार धनगढीस्थित जनपुस्तकालय हलमा आयोजित कार्यक्रममा पुस्तकका विषयवस्तु, शैली र दार्शनिक पक्षबारे छलफल गरिएको हो।

परिचर्चामा कर्मपथ बारे कैलाली बहुमुखी क्याम्पसका अङ्ग्रेजी विषयका प्राध्यापक डा. ठाकुर ढुङ्गेल र सह–प्राध्यापक डा. सिताराम भट्टलगायत समिक्षकहरूले टिप्पणी गर्नुभयो। समिक्षक ढुङ्गेलले पुस्तक पढ्न सहज रहेको बताउँदै सहायक शिर्षक र तस्बिरमार्फत विषयवस्तु स्पष्ट पारिएकाले पाठकलाई बुझ्न सजिलो भएको उल्लेख गर्नुभयो।

लेखक सत्यराज जोशी अङ्ग्रेजी साहित्यका अनुसन्धानकर्ता समेत हुनुहुन्छ। उहाँले मलेसिया, श्रीलंका र भारतलगायत देशहरूमा आफ्ना अनुसन्धान प्रस्तुत गरिसक्नुभएको छ। पुस्तक अनुसन्धानमा आधारित रहेको लेखक जोशीले कार्यक्रममा जानकारी दिनुभयो।

समिक्षकहरूका अनुसार कर्मपथले मानिसलाई आफूले गरेको काममा विश्वास राख्दै निरन्तर कर्ममा लागिरहन प्रेरित गर्छ। कर्म परिणामका लागि मात्र नभई निरन्तर प्रक्रियाका रूपमा बुझ्नुपर्ने सन्देश पुस्तकले दिएको उनीहरूको भनाइ छ। सह–प्राध्यापक भट्टले जोशीलाई चिन्तकका रूपमा चित्रण गर्दै पाश्चात्य र पूर्वीय दर्शनलाई जोड्ने प्रयास पुस्तकको विशेष आकर्षण भएको बताउनुभयो।

कार्यक्रममा लेखक जोशीले महाभारत र रामायणबाट कर्मप्रतिको आफ्नो सोच विकसित भएको उल्लेख गर्दै “किन?” भन्ने प्रश्नको उत्तर खोज्दा “कसरी?” भन्ने बाटो आफैं खुल्ने विश्वास व्यक्त गर्नुभयो।

धनगढी उपमहानगरपालिका–१२ का स्थायी बासिन्दा जोशी पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै अध्ययन, अध्यापन तथा अनुसन्धानको क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ।

Leave A Reply

Your email address will not be published.