धनगढी । शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन तथा प्रकृति र संस्कृतिको सम्मानलाई मूल आधार मानेर स्थापित चैतन्य पाठशालाले एसईई दिएका विद्यार्थी लक्षित निःशुल्क क्षमता विकास अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।
‘चैतन्य विद्यार्थी क्षमता विकास अभियान’ नाम दिइएको यो कार्यक्रम २०८३ साल वैशाख ६ गतेदेखि सुरु हुने जनाइएको छ। संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिने यस अभियानमार्फत करिब १ हजार जना एसईई सहभागी विद्यार्थीहरूलाई निःशुल्क तालिम प्रदान गरिनेछ।
चैतन्य पाठशालाका प्रमुख कार्यकारी अधिकृत गणेशराज जोशीका अनुसार विद्यार्थीहरूको व्यक्तित्व विकास, सीप अभिवृद्धि तथा भविष्य उन्मुख क्षमता विकासमा टेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो।
अभियानअन्तर्गत व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, प्रस्तुतिकरण तथा नेतृत्व विकास, योग तथा ध्यानमार्फत मानसिक सन्तुलन, अङ्ग्रेजी भाषा (सम्प्रेषण र लेखन) सम्बन्धी तालिम प्रदान गरिनेछ। यसैगरी सूचना तथा सञ्चार प्रविधि अन्तर्गत कम्प्युटर, ग्राफिक डिजाइन, डिजिटल मार्केटिङ, भिडियो सम्पादन तथा प्रोग्रामिङका तालिमसमेत समावेश गरिएका छन्।
त्यसैगरी आतिथ्यता क्षेत्र अन्तर्गत बेकरी, बारिस्टा, कुकिङ तथा खेलकुदतर्फ फुटबल, क्रिकेट र बास्केटबलका प्रशिक्षण कार्यक्रमहरू पनि सञ्चालन गरिनेछन्।
कार्यक्रम सीमित सिटका आधारमा सञ्चालन गरिने भएकाले ‘पहिला आउनेलाई प्राथमिकता’को आधारमा सहभागी छनोट गरिने जनाइएको छ। तालिम सम्बन्धित विषयका विज्ञ प्रशिक्षकहरूबाट सञ्चालन गरिनेछ भने प्रशिक्षण सम्पन्न पश्चात् सहभागीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिनेछ।
कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीहरूले एसईई प्रवेशपत्र, अभिभावकको नागरिकताको प्रतिलिपि तथा विद्यालयको सिफारिसपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने प्रमुख कार्यकारी अधिकृत जोशीले जानकारी दिनुभएको छ।