कैलाली बहुमुखी क्याम्पसमा अभ्यास शिक्षण अभिमुखीकरण: विद्यार्थीलाई व्यवहारिक शिक्षण तयारीमा जोड

धनगढी । कैलाली बहुमुखी क्याम्पसमा शिक्षा संकाय आठौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूका लागि अभ्यास शिक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

अभ्यास शिक्षण समितिको आयोजनामा भएको उक्त कार्यक्रमले विद्यार्थीहरूलाई विद्यालयमा जाने पूर्व तयारी, शिक्षण विधि, कक्षा व्यवस्थापन तथा व्यवहारिक सीपका बारेमा विस्तृत जानकारी प्रदान गरेको हो ।

अभ्यास शिक्षण समितिका अध्यक्ष तथा उपप्राध्यापक डा. मान बहादुर जोराले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै अभ्यास शिक्षणलाई केवल औपचारिक प्रक्रिया नभई भविष्यका शिक्षक उत्पादन गर्ने महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने बताउनुभयो ।

उहाँले विद्यार्थीहरूले विद्यालयमा गएर वास्तविक शिक्षण अनुभव प्राप्त गर्नु नै यस कार्यक्रमको मुख्य लक्ष्य रहेको उल्लेख गर्नुभयो । साथै उहाँले शिक्षक प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन निरन्तर सुधार आवश्यक रहेकोमा जोड दिनुभयो ।

त्यसैगरी सुदूरपश्चिम विश्वविद्यालय शिक्षा संकायका डीन प्राध्यापक डा. भवान सिंह चलाउनेले अभ्यास शिक्षणले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने अवसर दिने बताउनुभयो ।

उहाँले आधुनिक शिक्षा प्रणालीमा शिक्षक केवल ज्ञान दिने व्यक्ति नभई मार्गदर्शक र प्रेरणादायी व्यक्तित्व हुनुपर्ने औँल्याउनुभयो ।

साथै उहाँले समयअनुकूल शिक्षण शैली अपनाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो र यस सम्बन्धी विस्तृत प्रस्तुकरण पनि दिनुभएको थियो ।

त्यस्तै कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोक बहादुर बिष्टले अभ्यास शिक्षणलाई क्याम्पसको गुणस्तर सुधारसँग प्रत्यक्ष रूपमा जोडिएको प्रक्रिया भएको बताउनुभयो ।

उहाँले विद्यार्थीहरूको शिक्षण क्षमता विकास गर्न अभ्यास शिक्षण अनिवार्य आधार भएको उल्लेख गर्दै यसलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन क्याम्पस निरन्तर लागिरहेको जानकारी दिनुभयो ।

उहाँले विद्यालयस्तरमा जाने विद्यार्थीहरूलाई आत्मविश्वासी, अनुशासित र जिम्मेवार बनाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

अभ्यास शिक्षण समितिले शिक्षण गुणस्तर सुधार गर्न विद्यालयका प्रधानाध्यापकहरूसँग निरन्तर अन्तरक्रिया गर्दै विद्यार्थीहरूलाई समयसापेक्ष अभिमुखीकरण प्रदान गर्दै आएको जनाएको छ । समितिले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

Leave A Reply

Your email address will not be published.