मध्यपश्चिम विश्वविद्यालयद्वारा सुदूरपश्चिमका सामुदायिक क्याम्पस लक्षित पाँचदिने तालिम

धनगढी। मध्यपश्चिम विश्वविद्यालयको तालिम इकाइको आयोजनामा सुदूरपश्चिम प्रदेशका सामुदायिक क्याम्पसहरूका प्राध्यापक तथा शैक्षिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पाँच दिने “फ्याकल्टी क्यापासिटी डेभलपमेन्ट प्रोग्राम फर कम्युनिटी क्याम्पसेज अफ सुदूरपश्चिम प्रोभिन्स” मंगलबारदेखि कैलाली बहुमुखी क्याम्पसमा सुरु भएको छ।

सुदूरपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसंगको सहकार्य तथा विश्वविद्यालय अनुदान अयोगको सहयोगमा आयोजित उक्त कार्यक्रमको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक यज्ञराज पाठकले गर्नुभएको हो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपकुलपति पाठकले उच्च शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक तथा प्राध्यापकहरूको क्षमता विकास अपरिहार्य रहेको बताउनुभयो। उहाँले विश्वविद्यालयहरूबीच सहकार्य, अनुभव आदान–प्रदान र नवीन शिक्षण पद्धतिको प्रयोगमार्फत शैक्षिक क्षेत्रलाई थप प्रभावकारी बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

सामुदायिक क्याम्पसहरूले स्थानीय स्तरमा उच्च शिक्षा विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले बदलिँदो शैक्षिक परिवेशअनुसार आफूलाई अद्यावधिक गर्दै लैजान शिक्षकहरू सक्षम हुनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपति प्राध्यापक डा. ध्रुवकुमार गौतमले शिक्षण, अनुसन्धान र सामुदायिक सेवाबीच सन्तुलन कायम गर्दै उच्च शिक्षालाई समयानुकूल बनाउन प्राध्यापकहरूको दक्षता अभिवृद्धि आवश्यक रहेको बताउनुभयो। उहाँले विश्वविद्यालय र सामुदायिक क्याम्पसबीचको सहकार्यलाई थप मजबुत बनाउँदै शैक्षिक गुणस्तर वृद्धि गर्न यस्ता तालिम प्रभावकारी हुने उल्लेख गर्नुभयो।

यस्तै सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार  प्राध्यापक डा. गोविन्दसिंह बिष्टले प्रदेशका सामुदायिक क्याम्पसहरूले विभिन्न चुनौतीका बीच पनि उच्च शिक्षा प्रवाह गरिरहेको उल्लेख गर्दै क्षमता विकाससम्बन्धी कार्यक्रमले शिक्षकहरूको पेशागत दक्षता बढाउन सहयोग पुग्ने बताउनुभयो। उहाँले आधुनिक शिक्षण प्रविधि, अनुसन्धान संस्कृति र नेतृत्व विकासमा केन्द्रित यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोकबहादुर विष्टले कार्यक्रमको स्वागत गर्दै सामुदायिक क्याम्पसहरूमा कार्यरत प्राध्यापक तथा शिक्षण जनशक्तिका लागि तालिम उपलब्ध हुनु सकारात्मक पक्ष भएको बताउनुभयो। उहाँले यसबाट सहभागीहरूले प्राप्त ज्ञान र सीपलाई आफ्नो संस्थामा प्रयोग गरी शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो।

यस्तै नेपाल पब्लिक क्याम्पस संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष ईश्वरबहादुर सोडारीले सामुदायिक क्याम्पसहरूको शैक्षिक क्षमता अभिवृद्धिका लागि विश्वविद्यालयस्तरबाट यस्ता कार्यक्रम सञ्चालन हुनु सराहनीय रहेको बताउनुभयो। उहाँले प्रदेशभरिका सामुदायिक क्याम्पसबीच अनुभव आदान–प्रदान तथा सहकार्य विस्तारमा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न सामुदायिक क्याम्पसका प्राध्यापक, उपप्राध्यापक तथा शैक्षिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूको सहभागिता रहेको छ। पाँच दिनसम्म सञ्चालन हुने तालिममा शिक्षण सिकाइका नवीन विधि, अनुसन्धान तथा प्रकाशन, नेतृत्व विकास, शैक्षिक व्यवस्थापन र उच्च शिक्षाका समसामयिक विषयमा प्रशिक्षण तथा छलफल गरिने आयोजकले जनाएको छ।

मध्यपश्चिम विश्वविद्यालय तालिम इकाइकी संयोजक कल्पना पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सहभागी वक्ताहरूले सामुदायिक क्याम्पसहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवद्र्धन तथा दक्ष जनशक्ति उत्पादनका लागि यस्ता क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

आयोजकका अनुसार तालिममा सहभागीहरूले प्राप्त ज्ञान, सीप र अनुभवलाई आफ्ना–आफ्ना क्याम्पसमा प्रयोग गरी शैक्षिक वातावरणलाई थप सुदृढ बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.