धनगढी । कैलालीको कैलारी गाउँपालिका ७ को रामपुरमा आइतबार आगलागी हुँदा ७१ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।
आइतबार दिउँसो गहुँको नल बाल्न सल्काइएको आगो बस्तीमा पस्दा रामपुरस्थित विपतपुर मुक्त कमैया शिविरमा भएको आगलागीबाट ७१ कच्ची घर जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
सो घटनाबारे जानकारी पाउनासाथ प्रदेशबाट ७५ थान टेन्ट लगी सो स्थान तर्फ जिल्ला प्रशासन कैलालीको टोली गएको सुरचना अधिकारी शिबराज जोशीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार आइतबार दिउँसो साढे १ बजेदेखि सुरु भएको आगलागी साँझ साढे ४ बजे मात्रै नियन्त्रणमा आएको थियो । एक्कासी भएको आगलागीले स्थानीयवासीको लत्ताकपडा, खाद्यान्न, चौपाया जलेर नष्ट भएका छन् ।
शरीरमा भएको लत्ता कपडाबाहेक सबै सम्पत्ति जलेर नष्ट भएपछि स्थानीयको बिचल्ली भएको छ । तर, मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिनुभएको छ । जिल्लाको निकै दुर्गममा रहेको सो बस्तीमा तत्कालै अग्नि नियन्त्रक स्रोतसाधन पुग्न नसक्दा ठूलो क्षति भएको स्थानीयवासीले बताएका छन् ।
आगलागी भएको निकै समयपछि मात्रै टीकापुर, धनगढी, घोडाघोडी नगरपालिकाबाट गएको दमकल र कैलारी गाउँपालिकाको एक्स्काभेटरको सहायता तथा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको लामो प्रयासले आगो नियन्त्रणमा आएको हो ।