धनगढी । जहाँ इच्छा त्यहाँ उपाय भनेझैं कैलाली बहुमुखी क्याम्पसले क्याम्पस हाताभित्र करेसाबारी निमार्ण गरेको छ । क्याम्पसले आफ्नो खाली रहेको करिब १० कट्ठा जमिनमा तरकारी लगाएको हो । पहिले यस क्यामपसको धेरै जग्गा खाली रहेकोमा हाल उक्त खाली रहेको जमिनलाई सदुपयोग गर्ने उदेश्यले तरकारी खेती संचालन गरिएको हो । उक्त करेसाबारीमा हाल फर्सी, कांक्रा, लौका,भिन्डी, तोरैया, बोडी तथा मकै लगायतका तरकारीहरु लगाइएको छ । विशेष गरेर क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरुलाई बजारको दर भन्दा सहुलियत रुपमा तरकारी उपलब्ध गराउने उद्देश्यले तरकारी खेती गरिएको क्याम्पस प्रशासनले जानकारी दिएको छ । अहिले उक्त करेसाबारीमा रसायनिक मलको प्रयोग नगरी उत्पादन गरिएका अर्गानिक तरकारीहरु बिक्रिवितरण भइरहेका छन् । विशेषगरी सुदुरपश्चिमका सात पहाडी जिल्लसहित देशका अन्य ठाँउबाट उच्च शिक्षाका लागि ठुलो संख्यामा यस क्याम्पसमा विद्यार्थीहरु अध्ययन गर्न आउने भएकाले विद्यार्थीहरुसँग आर्थिक अभावका कारण बजारबाट तरकारी किन्न सकिने अवस्थामा सस्तो मुल्यमा तरकारी उपलब्ध गराइरहेको कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा.धर्मराज उपाध्यायले बताउनुभएको छ । क्याम्पस प्रमुखले विद्यार्थीहरुलाई बजार मुल्य भन्दा करिब ३० प्रतिशत कम मुल्यमा तरकारी उपलब्ध गराइने समेत बताउनुभयो ।
क्याम्पस प्रमुखका अनुसार यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई रोजगारी समेत प्रदान गर्न सकिने बताउनुभएको छ । करेसाबारी संगसंगै क्याम्पसमा हुने अन्य प्राविधिक तथा गैरप्राविधिक कामहरुमा पनि विद्यार्थीहरुलाई छोटो समयका लागि रोजगारी प्रदान गर्न सकिने गरी योजना बनाइ रहेको समेत उहाँबताउनु हुन्छ ।
क्याम्पसले अहिले पढाईसँगै कमाईको अवधारणालाई आत्मसात गर्दै विद्यार्थीको ब्यवहारिक सिकाइको रुपमा करेसाबारीमा तरकारी लगाएकाले आगामी दिनमा विद्यार्थीहरुलाई आकर्षित गराई करेसाबारीको क्षेत्र समेत बढाइने क्याम्पसको प्राध्यापक इकाई कमिटिका सभापति डा. लोक बहादुर बिष्ट बताउनुहुन्छ । उहाँले करेसाबारीमा विद्यार्थीहरुलाई काममा लगाई कमाउने वातावरण निर्माण गर्न सकिने बताउनुभयो ।
हाल करेसाबारीमा क्याम्पसमा कार्यरत कार्यालय सहयोगीले नै काम गरिरहेका छन् । करेसाबारीमा अहिले गोडमेल गर्न,सिचाई गर्न, खनजोत गर्ने जस्ता काम गर्ने जनशक्तिको समेत आवश्यकता छ । छोटो समयका लागि काम गर्न चाहने विद्यार्थीहरुलाई समेत अवसर प्रदान गरिने छ कुरा हाल करेसाबारीमा काम गर्दै आउनु भएका पनिराम चौधरीको भनाई छ ।
क्याम्पसले सञ्चालन गरेको उक्त करेसाबारीमा विद्यायार्थीहरुलाई नै काम गर्न प्रोत्साहन गर्ने क्याम्पस प्रशासनको योजना रहेको छ । पढाइका साथै कामविद्यार्थीले आर्थिक आर्थिक लाभ समेत प्राप्तगर्ने भएकोले क्याम्पस प्रशासनले त्यसै अनुरुपको योजना अघि सारेको छ । विद्यार्थीको सहभागिता तथा माग बमोजिम आगामी दिनहरुमा करेसाबारीको क्षेत्र विस्तार गरी पढ्दै कमाउँदैको सरकारी अवधारणालाई कार्यान्वयनमा ल्याउने क्याम्पसको योजना रहेको छ ।