राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने तयारी

धनगढी । निर्वाचन आयोगले २५ फागुनमा राष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेको छ। यसबारे आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा सोमबार छलफल समेत गरेका छन् ।राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले भोट हाल्न पाउने छन्।

वहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि सकिन लागेकोले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन गरिन लागेको हो। आयोग स्रोतका अनुसार प्रधानमन्त्रीसँग परामर्श गर्दा अरु चुनावमा जस्तो बाटो अपनाउने समझदारी भएको छ । ‘स्थानीय तह र संघ तथा प्रदेशको निर्वाचन पनि (कार्यकाल सकिनु) एक साता अघि निर्वाचन ग¥यौं’ स्रोत भन्छ, ‘राष्ट्रपतिको निर्वाचन पनि एक साता अघि गर्दा ठीकै होला भन्ने कुराकानी भएको छ।’ प्रधानमन्त्री र कानुनविद्हरुसँग भएको परामर्शपछि आयोगले फागुन अन्त्यतिर राष्ट्रपति निर्वाचन गर्ने तयारी गरेको छ।

‘यदि पहिलो चरणमा कसैको बहुमत आएन भने दोस्रो चरणको निर्वाचन गर्नुपर्ने हुन्छ, त्यो समय पनि राख्छौं,’ एक आयुक्त भन्छन्,‘तर २८ फागुनभित्र नयाँ राष्ट्रपति चुनिसक्ने तयारी छ।’ उच्च स्रोतका अनुसार २५ फागुनमा हुने लगभग पक्का छ। यस्तै नेपाली कांग्रेसले कुनै पनि बहानामा राष्ट्रपति निर्वाचन नसार्न सरकार र निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास, धुम्बाराहीमा सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्नेमा जोड दिएको छ। ‘राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ, कुनै पनि कारणबाट यसलाई पछि सार्ने काम हुनुहुन्न,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भन्छन्, ‘ऐनमा समस्याहरु छन् भने त्यसलाई समयमै समाप्त पारेर निर्वाचन प्रक्रिया अगाडि बढाउन सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छौं ।’ डा. महतका अनुसार राष्ट्रपतिको चुनाव फागुन २९ गतेबाट पनि उता लैजाने प्रयास हुन थालेको छ, त्यसलाई कांग्रेसले कुनै हालतमा स्वीकार गर्दैन। कांग्रेसले बैठक राखेर सरकार र निर्वाचन आयोगलाई खबरदारी गरेपछि दुईवटा प्रश्न उठेको छ ।

Leave A Reply

Your email address will not be published.