नागरिक उन्मुक्ति पार्टिका सचेतक अरुणकुमार चौधरी जेल चलान

धनगढी । प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरीलाई जेल चलान गरिएको छ । हिजो साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज विहान १० बजे कैलाली जिल्ला अदालतमा उपस्थीत गराई कैद पूर्जी लिएर धनगढी कारागारमा चलान गरिएको हो ।
फरार प्रतिवादीको सूचीमा रहेका चौधरीलाई बिहीबार बाँकेको कोहलपुरको बैजनाथपुरबाट पक्राउ गरिएको थियो । चौधरीलाई प्रहरीले पक्राउ गरेर नेपालगञ्जबाट जहाजमा पहिला काठमाडौ लगेको थियो । काठमाडौबाट उनलाई जहाजमै धनगढी लगेको हो । चौधरी नौ वर्षसम्म आगजनी मुद्दामा दोषी ठहर फरार प्रतिवादी रहेको खुलेको छ ।
गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएर उनले सांसद पद जितेका हुन् । यसअघि पनि उनले दुई पटक निर्वाचन लडिसकेका थिए । ती दुबै चुनाव उनले हारेका थिए ।
कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईँले प्रतिनिधिसभा सदस्य रहेको अरुण चौधरीसहित पर्शराम चौधरी र वीर बहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।

वि.सं २०७० बैशाख ९ गते कैलाली जिल्ला अदालतले सांसद अरुण कुमार चौधरी सहित परशुराम चौधरी र बिर बहादुर चौधरी गरी तीन जनालाई ६ महिना कैद सजाय सुनाएको थियो । त्यती बेला ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने समेत फैसला भएको थियो । अदालतले फैसला गरेपनि यस अघि तीन जनालाई पक्राउ गरेर क्षतिपूर्ति उपलब्ध गराउन प्रहरीले कुनै पहल गरेको थिएन ।

Leave A Reply

Your email address will not be published.