शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नवौं वार्षिक साधारण सभा सम्पन्न

धननगढी । धनगढी उपमहानगरपालिका वडा नं. १,५,७ केहि भु–भाग वडा नंं.८ को पुरै भु–भागलाई लक्षित गरी खानेपानीको अपुर्ति गर्ने उद्देश्यले वि.सं. २०६४ सालबाट पुर्व सांसद नारदमुनि रानाको अध्यक्षतामा शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन भएको थियो । त्यस यता उक्त समितिको ८ पटक साधारण सभा सम्पन्न भई ३ वटा कार्य समिति बनिसकेका छन् । उपभोक्तको माग बमोजिम नेपाल सरकारको मापदण्ड अनुसार सर्वशुलभ शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्य लिएको यस समितिको शनिबार ९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । करिब ५ हजार घरधुरीका १ लाख बढी जनसंख्यालाई लक्षित गरी खानेपानी तथा सरसफाई डिभिजन कार्यलयको सहयोगमा ५० प्रतिशत सरकारी अनुदान ४५ प्रतिशत नगर विकास कोषको ऋण तथा ५ प्रतिशत उपभोक्ताको लगानीमा रु १८ करोड १२ लाख २६ हजार बढी लागतमा उक्त आयोजना निर्माण गरिएको हो ।

वार्षिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को फागुन सम्ममा लक्षित जनसंख्याको ३५३१ घरधुरीमा धारा जडान गरी निरन्तर सेवा प्रवाह हुँदै आएको छ । खानेपानीको शुद्धतालाई मध्यनजर गर्दै खानेपानी ट्याङकीमा क्लोरीन पाउडर प्रयोग भइरहेको छ भने हालसम्म झन्डै १२ सय उपभोक्तको गुनासो सम्बोधन गरी मर्मत तथा चुहावट नियन्त्रण गरिएको उपभोक्ता समितिका अध्यक्ष राजेश कुमार खातीले बताउनु भयो । यस्तै उपभोक्तको सहजता र पारदर्शिताको लागि हाल E-Sewa बाट खानेपानीको बिल तिर्न सक्ने व्यवस्था पनि मिलाइएको छ । साधारण सभामा आर्थिक वर्ष २०७९÷८० को लागि अध्यक्ष खातीले रु २ करोड ५० लाख ४० हजार बढीको बजेट अनुमोदनका लागि पेश गर्नूभएको छ ।

यसै बिच वि.सं. २०७६ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीको अवलोकन पश्चात नेपाल सरकारको खानेपानी तथा ढल निकास विभागबाट यस आयोजनाको लागि रु २ करोड ५७ लाखमा स्काडा जडान गरी सेवा सुचारु भएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा पुर्व मन्त्री नारद मुनि रानाको निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषबाट रु ५० लाख २८ हजारमा ३०० घनमिटर ( ३ लाख लिटर ) को सतही पानी ट्याङकी पनि निर्माण गरिएको छ ।
वार्षिक प्रतिवेदन अनुसार वर्तमान कार्य समितिबाट नगर विकास कोषको साँवा रु २ करोड ५७ लाख २८ हजार र ब्याज रु १ करोड ९२ लाख ८७ हजार गरी जम्मा रु ४ करोड ५० लाख १६ हजार बढी रकम भुक्तानी गरीएको छ ।

Leave A Reply

Your email address will not be published.