कैलाली वहुमुखी क्याम्पसका उम्मेदवारहरुका परिकल्पना र विद्यार्थी राजनितिको बाटो ।

जयन्त सिंह भाट, धनगढी ।

विद्यार्थी नेता भनेको सचेत र भोलिको देशको नेतृत्व लिन सक्ने जिम्मेवार व्यक्ति हुन् । विगत वा वर्तमानलाई हेर्दा विद्यार्थी राजनितिले सहि गोरेटोतिर सोझिनु आवश्यक रहेको प्रष्ट छ ।
यसै पृष्ठभुमिमा लामो अन्तराल पछि यतिवेला देश स्वतन्त्र विद्यार्थी युनियनको चुनावी संघारमा छ । विद्यार्थी नेताहरु आफ्ना परिकल्पना र प्रतिवद्धता लिएर मत माग्दै चुनावको तयारीमा जुटीरहेका छन । यसैविच सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली वहुमुखी क्याम्पसमा पनि चुनावी सरगर्मी बढिरहेको छ ।
यही चैत्र ८ गते (वुधवार) स्ववियू निर्वाचन हुँदै छ र त्यसकै तयारीमा विद्यार्थी नेता, संगठन र उमेदवारहरु चुनावी मैदानमा आफ्ना एजेण्डाहरु रिझाईरहेका छन । त्यसो त क्याम्पस र विश्वविद्यालयका समस्या न्युनिकरण, सुधार तथा शैक्षिक गुणस्तरियता विगत देखिका विद्यार्थी नेताहरुका साझा मुद्दा नै हुन तर समय र परिस्थिति वदलिरहेको अवस्थामा आफ्ना एजेण्डाहरु परिमार्जन गर्दै डिजिटल अवधारणालाई प्रथमिकता दिनुपर्ने नेकपा एमाले निकट (अनेरास्ववियु)को तर्फबाट सचिव पदका उमेदवार रमेश बोहरा वताउनुहुन्छ ।

विद्यार्थी नेतृत्वले नेता धेरै जन्माए पनि क्षमतावान र इमान्दार कार्यकर्ता जन्माउन असमर्थ छ । यस्तो परिपाटीले न त राजनितिमा लागेर पछिल्लो समय विद्यार्थीको क्षमताको विकास गर्न सकेका छन, न उत्कृष्टताको प्रमाणपत्र । यसर्थ भर्खरै स्थापित हुँदै गरेका विद्यार्थी नेता वा तमाम विद्यार्थीले क्षमता र चेतनाको विकास गर्नु त छँदैछ दीर्घकालीन राजनीतिलाई समेत नियालेर आफुलाई राम्रोसँग ढाल्दै जाने नेकपा माओवादी निकट (अखिल क्राीन्तकारी)का तर्फबाट सभापतिका उमेदवार पवन सुनार वताउनुहुन्छ ।

 

विद्यार्थी संगठन सँधै पार्टीको प्रतिपक्ष हुनुपर्छ प्रवक्ता होईन, विद्यार्थी संगठन र नेताले व्यवहारमुखी र दुरदर्शी शैक्षिक एजेन्डा बोकेर राजनीति गर्नुपर्छ । क्याम्पसमा राजनिति गर्नेहरुले विद्यार्थीको मन जित्न मजबुत शैक्षिक एजेन्डा प्रयोग गर्नुपर्ने भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका तर्फबाट सभापति पदका उमेदवार नविन शाहुले क्याम्पसमा पुस्तक अभावको समस्या समाधान देखि छत्रबास सञ्चालन गर्न पहल गर्ने र मुख्य गरी बाहिरी जिल्लाबाट आएर भाडामा बस्ने विद्यार्थीहरुका समस्यालाई मध्यनजर गर्दै समस्या परेर र भोगेर आएका व्यक्तिहरुबाट मात्रै यी मुद्दा सम्वोधन गर्न सम्भव भएकाले आफ्नो उम्मेदवारी रहेको वताउनुभयो ।

यस्तै नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संगठन ( ने.वि.संघ.) को तर्फबाट सभापति पदका उमेदवार हरिस खत्रिले विद्यार्थीका समस्या समाधान गर्न लागिपर्ने र जिते पनि क्याम्पसमा पुस्तक अभावको समस्या समाधान नभएसम्म नेतृत्व नसम्हाल्ने अठोटमा आफुहरु रहेको वताउनुभयो ।

 

यो संगै शान्त र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न क्याम्पस प्रशासनले सुरक्षा व्यवस्था कडा परिएको र हालको अवस्थामा कुनै चुनौती नरहेको कैलाली वहुमुखी क्याम्पसका प्रमुख प्राध्यापक डा. धर्मराज उपाध्यायले वताउनुभयो । आसन्न चुनावका लागि ४ हजार ३ सय ४५ विद्यार्थी मतदाता रहेको कैलाली वहुमुखी क्याम्पसमा मतदाताले पनि सहि तरिकाले मतदान र आफ्नो जिम्मेवारी पालना गरी चुनाव सफल पार्नुपर्ने उहाँको भनाई छ ।

 

अब हुनुपर्ने विद्यार्थी राजनिति ।

बलियो र दुरदर्शी नेताको अभावमा देशले अपेक्षित छलाङ मार्न नसकिरहेको अवस्थामा अबको विद्यार्थी राजनीति फरक हुनुपर्छ । नेताहरू कसरी हुर्किएर स्थापित हुन्छन भन्नेसँग अन्त्यमा देशले पाउने राम्रा वा नराम्रा नतिजा जोडिएको हुन्छ।

क्याम्पसहरुमा विद्यार्थी संगठन र नेताको भूमिका क्याम्पसको सुदृढीकरण र मजबुत शैक्षिक एजेन्डा उठान गर्नुको सट्टा सामान्य विषयवस्तुको माग राखेर क्याम्पसमा तालाबन्दी र भौतिक संरचना तोडफोड गर्ने तर्फ कदापी केन्द्रित हुनु हुँदैन । विद्यार्थी राजनीतिमा चाहिएको मुख्य परिवर्तन नै यहि मानसिकता र शैलीको राजनीतिबाट माथि उठ्नु हो । अबको विद्यार्थी राजनीति परिवर्तन हुनुपर्छ । संगठनले क्याम्पसभित्र लोकतान्त्रिक अभ्यासका उत्कृष्ट नमुना प्रस्तुत गर्नुपर्छ । आफ्ना विषयगत दक्षताका मुद्दालाई मुख्य रुपमा राजनैतिक अस्त्र बनाउन सक्नुपर्छ । हिजोको खराब राजनितिले आज पिरोलिरहेको तितो सत्य हामीमा छ। विद्यार्थी संगठन सत्यको पक्षमा बलियो हुन सकेको भए सायद देश लामो समयसम्म संक्रमणकालमा नरहन सक्थ्यो।

क्याम्पसहरुमा स्वभाविक र राम्रो नेतृत्वलाई प्रोत्साहन गर्नुभन्दा एउटै र आफू निकट व्यक्तिलाई वर्षौंसम्म पटकपटक भर्ना गराएर नेतृत्वमा राख्दा स्वभाविक नेतृत्व विकासक्रम पनि रोकियो। क्याम्पसमा स्नातकोत्तर भर्ना हुनलाग्दा समेत एउटा निवेदन लेख्न नजान्ने विद्यार्थी भेटिन्छन् । तसर्थ अबको विद्यार्थी राजनीति र अभियान शिक्षा ,स्वास्थ र रोजगारी सम्बन्धि मौलिक हक कार्यान्वयनका लागि सोझिनुपर्छ ।मुलुकलाई चाहिने जनशक्ति उत्पादन हुनेगरी शैक्षिक पुनस्र्थापना गर्नुपर्ने विषयमा आवाज उठाउनुपर्छ। शिक्षालाई श्रमसित, श्रमलाई सीपसित, सीपलाई उत्पादनसित र उत्पादनलाई समृद्धिसित जोड्न विद्यार्र्थी आन्दोलन केन्द्रित हुनु जरुरी छ। अबको विद्यार्थी राजनिति र नेतृत्वले हिजोबाट पाठ सिक्दै भोलिलाई मध्यनजर गरेर नयाँ राजनितिको विकास गर्नु अत्यावश्यक छ।

Leave A Reply

Your email address will not be published.