धनगढी । बैतडी र दार्चुला जिल्लाको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजनाले परीक्षण सुरु गरिएको छ। अपी पावर कम्पनीले निर्माण गरेको यो आयोजनाको शुक्रबार देखि परीक्षण सुरु गरिएको हो ।
दार्चुलाको मार्मा गाउँपालिका- १, किमबगडमा बाध बाधेर ६ किलोमिटर तल मार्मा गाउपालिका- २, घट्टीगाडमा रहेको विद्युत गृहमा पानी खसालेर परीक्षण सुरु गरिएको कम्पनीका प्रवन्ध निर्देशक सन्जीव न्यौपानेले बताउनु भयो । आयोजनाको ६ हजार एक सय मिटर लामो पेन्सटक पाइपलाईन, तीनवटै टरबाईन, जेनरेटर र अन्य उपकरणहरुको परीक्षण सफल भएको उहाँले बताउनु भयो । निर्माण सम्पन्न भएपछि आयोजनाको प्राविधिक टोलीले बिहीवारदेखि पुर्ण तयारीका साथ उपकरण र भौतिक संरचनाहरुको परीक्षण सुरु गरेको थियो।
शुक्रवार विद्युत गृहमा पानी खसालेर मेसिनहरुको परीक्षण सुरु गरिएको आयोजनाको निर्माण तर्फका प्रमुख ईन्जिनियर मनिश सिंह ठगुन्नाले बताउनु भयो । शनिवार देखि परीक्षणका रुपमा विद्युत उत्पादन गरि बलाचस्थित सब स्टेसनबाट राष्ट्रिय प्रशारण लाईनमा जोडिने उहाँले बताउनु भयो ।
करीब आठ अर्ब लागतमा निर्माण भएको अपर चमेलियाले ३० महिनामै आयोजना सम्पन्न गरेको हो। अबको करिब २ सातापछि व्यावसायिक उत्पादन थाल्ने र आईतवार आयोजनाको उद्धघाटन हुने प्रवन्ध निर्देशक न्यौपानेले बताउनु भएको छ ।