“ केएमसी जोर्नल” को नयाँ अंक सार्वजनिक

क्याम्पसमा अनुसन्धानमा आधारित क्रियाक्लापका लागि ईन्क्युवेशन सेन्टर पनि स्थापना गरिएको छ ।

धनगढी । रिसर्च म्यानेजमेन्ट सेल कैलाली बहुमुखी क्याम्पसद्वारा आवधिक रुपमा प्रकाशित हुने म्यागजिन “ केएमसी जोर्नल” को नयाँ अंक सार्वजनिक गरिएको छ ।

नितान्त अनुसन्धानात्मक लेखहरु प्रकाशित गरिने उक्त म्यागजिनको पाचौँ संस्करणको दोस्रो अंक सन् २०२३ आज एक कार्यक्रमकाबिच क्याम्पसमा सार्वजनिक गरिएको हो । यस अंकमा विभिन्न अनुसन्धानकर्ताहरुका नेपाली र अंग्रेजी दुबै भाषाका २२ ओटा अनुसन्धान पत्रहरु समेटेर प्रकाशित गरिएको छ । रिसर्च म्यानेजमेन्ट सेलका संयोजक सह–प्राध्यापक मोहन सिंह साउँदले विश्वविद्यालयका सबै क्याम्पसहरुमा शिक्षण सिकाईसंगै अनुसन्धानलाई शैक्षिक पद्धतिका रुपमा विकास गर्न अति आवश्यक रहेको वताउनुभयो । उहाँले भन्नुभयो “ आर्टिकल प्रकाशन गर्नु अपरिहार्य छ, किन भने जति बढी अनुसन्धान गर्न सक्यो, आर्टिकलहरु प्रकाशित गर्न सक्यो, उति बढी संस्थाको अन्तर्राष्ट्रिय स्तर वृद्धि हुन्छ, प्रतिष्ठा बढ्ने हुन्छ त्यसैले यसलाई निरन्तरता दिन प्रोत्साहित गर्नुपर्छ। ”

यस्तै क्याम्पस प्राध्यपक संघ सुदुरपश्चिम विश्वविद्यालयका अध्यक्ष डा.राजेन्द्रबिर चन्दले आर्टिकलको सार्थकतालाई अझै प्रभावकारी बनाउन विद्यार्थी र प्राध्यापकहरु सबैले यसमा केन्द्रित हुनुपर्ने बताउनुभयो । त्यसका लागि बिद्यार्थीहरुलाई जोड्नु पर्नेमा उहाँको जोड छ । त्यस्तै उहाँले विश्वविद्यालयको शैक्षिक पद्धतिलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो । क्याम्पसको तर्फबाट अभिभावक र विद्यार्थीहरुबिचमा गरिएको एक अध्ययनले सुदुरपश्चिम विश्वविद्यको शैक्षिक प्रणलीबारे सङ्किर्ण बुझाई रहेको देखाएको छ ।

उहाँले भन्नुभयो “ चार ओटा अध्ययन प्रतिवेनहरुको निष्कर्षमा विश्वविद्यालयको पढाईबारे अभिभावक र विद्यार्थीहरुमा कमजोर बुझाई रहेको पाईयो, पछिल्लो समय सामुदायिक क्याम्पसलाई ध्वस्त पार्ने र निजि कलेजहरुलाई स्थापित गर्ने अभ्यास र क्रियाक्लापहरु हुन थालेका छन, त्यसैले संस्था राम्रो बनाउने तर्फ सबैले जिम्मेवारी वोध गर्नु आवश्यक छ, शैक्षिक सुधारका निम्ति क्याम्पसमा कम्तिमा दैनिक ५ देखि ७ घण्टा अध्यापन गर्ने निति लागु गर्न जरुरी छ ।”

कार्यक्रममा वोल्दै स्ववियु सभापति यमराज जोशीले विद्यार्थी र समाजलाई नयाँ के दिन सकिन्छ भन्नेबारे प्राध्यापकहरुले चिन्तन गर्नुपर्ने बेला आएको वताउनुभयो । उहाँले भन्नुभयो “ कुनै पनि प्राध्यापकले कुनै राजनितिक दलका समर्थनमा सामाजिक सञ्जालमा अनावश्यक अभिव्यक्ति राख्नु भन्दा अनुसन्धानमा जोड दिनुपर्छ, अनि विश्वविद्यालयका पदाधिकारीहरुले आफ्नो मात्रै पदोन्नती तर्फ केन्द्रित भएको देखिन्छ, तर विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिएको देखिदैन ” विद्यार्थीका समस्या समाधानमा विश्वविद्यालयले जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड छ ।

क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्टले विद्यार्थीहरु क्याम्पसको पढाई छोडेर विदेश पलायन हुने प्रचलन डरलाग्दो रुपमा बढिरहेकोले विश्वविद्यालयले बजार केन्द्रित कोर्ष निर्माणमा जोड दिन आवश्यक रहेको औँल्याउनुभयो । हाल क्याम्पसमा दैनिक १५ देखि २० जना विद्यार्थीहरु विदेशका लागि सिफारिस लिन आउने गरेका उहाँले वताउनुभयो ।

सुदुरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले क्याम्पसले सञ्चालन गर्न चाहेका फरक अवधारणलाई वार्षिक योजना तथा कार्यक्रममा समेट्न आग्रह गर्नुभयो । विश्वविद्यालयको निति अनुरुप खर्चका सिमाहरु तोकिएको र आन्तरिक स्रोत न्युन भएकाले पुर्व योजना बनाउनुपर्ने उहाँको भनाई छ । यस्तै अनुसन्धान र आर्टिकल प्रकाशनका लागि विश्वविद्यालयले आर्थिक रुपमा सघाउने पनि उहाँले वताउनुभयो ।

यस्तै कार्यक्रममा प्रमुख अतिथि रहनु भएका सुदुरपश्चिम विश्वविद्यालयका उप–कूलपति डा. अम्मराज जोशीले हामीले प्राज्ञिक उन्नयनको कार्यलाई प्रखरतापुर्वक विकास गर्न आवश्यक रहेकाले अनुसन्धानलाई निरन्तरता दिन आग्रह गर्नभयो । अबको समय विश्वविद्यालयले नयाँ तरिकाले अगाडी बढ्ने वा बन्द हुने स्थिति रहेकाले विश्वविद्यालयको निति कडा रुपमा लागु गरिने उहाँको भनाई छ । अनुसन्धानमा विद्यार्थीहरुलाई पनि संलग्न गराउन उहाँको आग्रह छ । उहाँले भन्नुभयो “ विद्यर्थी र प्राध्यापक दुबैको उन्नयनका लागि अनुसन्धान आवश्यक रहेकोले त्यसरी नै अगाडी बढ्न म अनुरोध गर्छु, अब प्राध्यापकहरुलाई समय र पहुँचका आधारमा होईन क्षमताका आधारमा अवसर दिईन्छ, विद्याथीहरु सबै विदेश जाने प्राध्यापकले बढुवाका लागि धर्ना दिएर हुँदैन।” विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसहरुमा आर्टिकल प्रकाशन अनिवार्य गरिएको उहाँले वताउनुभयो ।

क्याम्पसमा अनुसन्धानमा आधारित क्रियाक्लापका लागि ईन्क्युवेशन सेन्टर पनि स्थापना गरिएको छ । कार्यक्रममा स्नातकोत्तर तहका सबै संकायका विद्यार्थीहरुलाई थेशिस र प्रस्तावना लेखनबारे कार्यशाला पनि आयोजना गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.