धनगढी। परम्परागत विवाहको चर्चा परिचर्चा गरिरहँदा आधुनिक विवाह र परम्परागत विवाहको बिच ठुलो खाडल रहेको कुरालाई जो कोही पनि स्वीकार गर्न तयार हुनेछन् । परम्परागत विवाह, भेषभूषा, रीतिरिवाज, चालचलन अहिलेको तुलनामा अर्गानिक तर परम्परागत नै हुने गर्दथ्यो । म साहित्य तथा राजनीति शास्त्रको विद्यार्थी नभए पनि मैले सामाजिक सञ्जालमा लेखेका आत्माकथाहरुबाट मेरा शुभचिन्तक सम्पूर्ण पाठकहरुबाट पाएको सल्लाह सुझाव र थप जिज्ञासाले गर्दा म हौंसिएको पनि छु । पाठकहरुबाट पाएको यही हौंसलाले गर्दा मेरो जीवनका केही थप आत्मकथाहरु लेखूँ लेखूँ लागिरहेको छ । यसरी मैले सामाजिक सञ्जालमा आत्मवृत्तान्त यहाँहरु समक्ष पेस गर्ने जमर्काे गर्दा यो मेरो साहित्य बिनाको कोरा शब्दहरु पढेर पाठकहरुले खिल्ली पो उडाउने हुन कि ? भन्ने मनमा संकोच त लागि नै रहेको छ । तर पनि यो लेखले भावीपुस्ताको मनमा भने आश्चर्यवोध र प्रेरणाको स्रोत बन्ने छ भन्ने विश्वास लिएको छु । भावीपुस्तालाई यो लेखमा के रहेछ त ? पढीहालौं न त भनेर जिज्ञासा पक्कै पनि पलाउन सक्छ । साथैै भावीपुस्ताले यस लेखको अध्ययन पश्चात् आफ्नो जीवनमा अनुकरण गर्ने प्रयास समेत गर्नेछन् भन्ने पङ्त्तिकारको बुझाई रहेको छ ।
हुन त मैले विवाह प्रसङ्गलाई यस लेखमा उल्लेख गर्न खोजेको हुँ । तर कहाँबाट कसरी सुरु गर्ने ? केही अडकल आइरहेको छैन हजुर. जे पो होला बिषय प्रवेशगर्ने अनुमति मागे है । कुरा वि. सं. २०४६ साल मंसिर १७ गते बिहिवारको हो । त्यो दिन मेरो लागि एक नौलो अनुभव, बचपनबाट जवानी अवस्थामा प्रवेश गरेको स्वर्णिम युग थियो कि भन्ने लागिरहेको छ । विवाहित जोडीहरुले यो लेख पढ्दा आफूलाई कुन दर्जा र युगसँग तुलना गर्नु हुन्छ , त्यसमा मेरो भन्नु केही छैन । मनमा कत्ति पनि कुरा नलुकाई मेरो विवाहको बेलीविस्तार लगाउन गइरहेको छु।
आफू निकट भविष्यमा कसैको पति, कसैको भिनाजु , कसैको ज्वाइँ –जमाई) बन्ने र ससुराली घर हुने जोसजाँगर र उमंगले म फुरुङ्ग भने नभएको होइन । मंसिर महिनाको सुरुवात सँगै विवाहको लागि तयारी हुन थाल्यो । रासनपानी, गरगहना, लत्ताकपडा, पैंसाटाका आदिको जोहो मिलाए आमाबुवा लगायत छरछिमेकीहरूले । गाउँका अंकल –काका), दाजुहरु, बाजे विभिन्न नातापर्ने मेरा अग्रजहरु कोही कोथला –सनपाटबाट निर्मित ठुलो थैलो) मा गहुँ, मकै हालेर घट्ट गए, कोही विवाहको लागि सरसामान किनमेल गर्न जौलजिबी गए त बुवा गरगहाना बनाउन दार्चुला जानु भयो । वल्लापल्ला घरमा आन्टी –काकी, बौजू –भाउजू), दिदी, फुपूहरुले ओखलमा धान कुट्नु भयो । करिब हप्तादिनमा विवाहको लागि चाहिने सरजाम –सामान) तयार भयो । घर लिपपोत –रातो माटोले भित्र पट्टि र बाहिर कमेरो र रातो माटो) गरियो । विवाहमा सघाउनु हुने सम्पूर्णलाई नमन गर्दछु । अहिलेको जस्तो विवाहकार्ड छाप्ने चलन थिएन । सञ्चार प्रविधिको विकास भएको थिएन । जोला जनै र सुपारीसहित आफ्ना इष्टमित्रहरु –मामा, फूपू, दिदी) आदि सबै सबैलाई स्वयम् घरमै गएर विहेको लागि न्युतो –निमन्त्रणा) दिईयो । जनै र सुपारीको पोका पारेर गाउँघर, टोल, छिमेकमा पनि न्युतो दिइयो ।
विवाह लगन नजिकै आइपुग्यो सरजामको जोहो गर्दै । मंसिर १६ गते साँझ सेलरोटीसहितको दशमी मनाउनु भयो सबैले । अझ रोचक कुरा त भन्नै विर्सेछु न्युतेर – निम्तालु) घरमा आइपुग्ने बित्तिकै अक्षता पिठाँको टीकाले स्वागत गरी मुखविटाल –घिउ मिलाएको गुड) दिइन्थ्यो । दुध हालेर बनाएको चियासँगै गुडको कट्कीले स्वागत गरिन्थ्यो । साँच्चिकै त्यो दिन मुखैमा पुग्यो र म ब्यौलो (बेहुला) हुने भए । १७ गते बिहानै सबै न्युतेरहरु घरमा टुप्लुक्क आइपुगे । टाढाबाट आउने न्युतेरहरु त दशमीकै दिन आइसकेका थिए । जन्तीजाने तयारी हुन थाल्यो । म त त्यो दिनको राजा नै भैहाले, अरु न्युतेरहरु कोही ताइपश्चर –सेलरोटी) लगाउन थाले, कोही ध्वजा पताका लगाउन –पतंग) थाले, कोही केलाका थुम –बोट) बाट निर्मित गेट बनाउने त कोही चाहा –चिया) पकाउने, कोही भाँडा धुने –बौजू, काकी आदि), कोही उखु पेल्ने सबै काम एकै छिनमा सकियो । डोली –तापदानी) पताकाहरुले सजाइयो । मसकिबिन बजाउँदै केशर अंकल पनि पारी दोबाटामा देखिए । विवाहमा मसकिबिन बजाउने अंकल अहिले यो धर्तीमा हुनु हुन्न, वहाँलाई श्रद्धासुमन अर्पण गर्न चाहन्छु । बरेती जाने सबै बरेतीहरु तयार भए ।
अब यहाँहरुलाई ब्यौलाको बारेमा खुल्दुली पनि भयो होला । सरसफाईमा त म सानै उमेरदेखि ध्यान दिने गर्दथे । कपाल, नङ काटैकै थिएँ । दाह्री जुङ्गा आएको थिएन । अहिलेको तडकभडक भन्दा त्यतिबेला पक्कै पनि फरक थियो भन्नमा द्विमत नहोला । सबै कुरा भन्यो भने पाठकहरु हाँस्ने पो हुन कि या ब्यौलाको खिल्ली उडाउने पो हुन कि भनेर मनमा कता कता संकोच लागिरहेकोछ । अहिलेको जस्तो बेहुलाको लागि विशेष पोसाक कोट, पाइन्टको खासै चलन थिएन । अब राजालाई एलटी ज्याकेट, बेलीबटन पाइन्ट, ढाका रोपी, खाकीको जुत्ता, मुकुट, रिवन चस्मा, घाँटीमा दुबो र रुपैयाँको माला, कम्मरमा सानो खुकुरी, मुखमा कुरमुली –सिन्दुर, पिठोबाट निर्मित बुट्टा) छेकेर सजाइयो । म राजाले साच्चिकै ब्यौलाको पदवी पाए । त्यतिबेला फोटो खिच्न पनि क्यामेराको व्यवस्था कहाँ हुनु र हजुर ! गाउँले परिवेश । जन्ती बटिन्या –तयार) बेला महिलाहरु सगुना फाग गाउदै र ब्राह्मण जयदत्त अवस्थी अंकल बेदपाठ सहितको मन्त्रोच्चारणले अभिषेक गर्दै ब्यौलालाई बिदाई गर्नु भयो र अब ब्यौलो डोलीमा बसेर मसाकिबिनको धूनमा करीब १५० जनाको हाराहारीमा बरेती –जन्ती) बुवा, भणरे, पतरे, मुखिया सहितको गुल्म –जत्था) दिउँसो २ बजेतिर ब्यौली –बेहुली) जमुनाको घर बाराको लागि प्रस्थान भयौं ।
मेरो विवाह गुल्म –जत्था) घरबाट माथि उकालो छानागैर हरि अंकलको घरको माथिबाट हुँदै मसकीबिनको संगीतमय धुन र वेकुल –बिगुल) को मिठो ध्वनिसंगै माथि उकालो सचिव अंकलको घरबाट हुँदै ठुलीखाली चौरमा रमाइलो गर्दै पुगियो । बरेती बिस्तारै कछुवाको गतिमा अगाडि सर्दै गरेको रोचक दृश्यले साँच्चिकै म ठुलै मान्छे भएछु कि क्या हो ? मनमनै गदगद भैरहेको थिएँ । बरेती जाने बाटो बाटोमा रामायण, महाभारत, गीताका पुस्तक राखिएका थिए त कतै स्याउला र कतै सल्लाको हरियो पिरोल विछ्याइएको देखिन्थ्यो । कतै बाटो बाटोमा महिला दिदीबहिनीहरु सगुना – सगुन) गाइरहेका थिए । बाटोमा राखिएका पुस्तक, स्याउला, पिरोलमा गच्छे अनुसार रुपैयाँ पैंसा राख्ने, गुडको भेल्ली दिने काम दान सिंह काका –चक्कीवाला) गरिरहनु भएको थियो । एवम प्रकारले बरेती –जन्ती) स्याउलेको लेक, लोदयाकोसैन, ऐरिछाना, बुरौंस्या, जेठीबौरानीका ढुङ्गा, लटिनाथ मन्दिर जयपूर, चौपाता हुँदै ब्यौली –जमुना) को घरको माथि लेकमा पुगियो । लेकबाट तल पाती –बारा) मा मानिसहरुको चहलपहल भैरहेको देखियो । बरेतीहरुले एकछिन विश्राम गरेर भाइ रुपेन्द्र लगायतका फुच्चे –केटाकेटी) हरुलाई ब्यौलीको घरमा सभ्य तरिकाले प्रस्तुत हुन बुवा लगायतका सिन्याडीका पतरे बाजेले निर्देशित गर्नु भयो । फुच्चेहरुले पनि हँमा हँ मिलायो र एकछिनको विश्राम पछि राजा र प्रजा –जन्ती र बेहुला) हरु ओरालो जमुनाको घरतिर प्रस्थान भयौं । करिव साँझको ७ः०० बजेतिर मन्द उज्यालोमा गैसको चहकिलो प्रकाशको साथमा ब्यौलीघर पुगियो । यो लेख पढ्ने साना बाबू नानीहरुलाई फुच्चे भन्ने शब्दले घोचेको हेपेको अनुभूति हुन सक्छ, मायाले फुच्चे शब्द प्रयोग गरेको व्यहोरा पनि अनुरोध गरे है ।
ब्यौली घर पनि लिपपोत गरि ध्वजा पताकाले सु–सज्जित बाहिर आगनमा केराका थुम –बोट) द्वारा निर्मित जग्गे –विवाह मण्डप) मा ब्राह्मण लगायत को को हुन, सबै सबै थिए । तापदानीमा सवार ब्यौलो घर आगनको छेउमै पुग्दा ब्यौली घरका दुईजना लख्खा जवानले तापदानी काँध हाल्दै जग्गे नजिक पुगायो र ब्यौली पक्षबाट पनि तादानीमै सवार एकजनाले वरमाला पहिराए । तापदानीबाट ओर्लिएपछि जग्गेमा जानू पर्ने हुँदा जुत्ता फुकालियो र जग्गेमा गए । दुवै पक्षबाट गर्नु पर्ने काम सम्पन्न गरी कोरसौलामा जानको लागि जुत्ता लगाउन खोजेको त जुत्ता त हराइसकेको रहेछ । टाउकोमा कलश बोकेका साली हुनगइरहेका ५÷७ जना साना साना नानीहरु खिल्खिल्ती हाँस्न पो थाले । अब पर्याे फसाद ! त्यसपछि के भयो होला भन्ने पाठकलाई जिज्ञासा भएमा यस पछिको लेखमा उल्लेख गर्ने बाचा गर्दै अहिलेलाई बिट मारे है ।
धन्यवाद !
परम्परागत विवाह भाग –२ (दुई)
यो विवाह संस्मरण भाग – २ पनि मैले सामाजिक सञ्जालमा संप्रेषण त गरि सकेकोछु । तर यसपटक भने मैले यस लेखमा केही नौलोपन ल्याउने तथा थप्नैपर्ने छुटेका कुराहरू पाठक समक्ष पस्कने जमर्काे गरेकोछु । मैले मेरो विवाहको बेलिबिस्तार लगाउँदै जाने क्रममा म बेहुला (राजा) करीब १५० जना जन्ती –बरेती) को साथमा रङ्ग तमासा सहित बेहुली –रानी) जमुनाको माइतीघर पुगेर डोली पर्छेर कोरसौलामा जानेबेला जुत्ता हराएर फसाद परेपछि अब के भयो होला त ? भन्ने पाठकहरूको जिज्ञासा तथा खुल्दुली भने पक्कै पनि मेटाउने प्रयास गर्नेछु । जमुनाको माइती पक्षका समाजसेवी एवम् नेता पनि दाइ श्री झुसाल सिंह धामीज्यूले केटाकेटीलाई हकार्दै बेहुलापक्षबाट कलश भेटी राखेपछि जुत्ता फिर्ता गरियो । बेहुलाको जुत्ता हराउनु वा लुकाउनुमा जमुनाका साँखाहरूको कुनै कुनियत भने थिएन है । जुत्ता लुकाउने त्यहाँको परम्परा जस्तै रहेछ । बेहुली पक्षका जमुनाका दाइ अहिले यो धर्तीमा हुनु हुन्न । उहाँको बैकुण्ठ बासको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
बेहुला पक्षका बरेतीहरूलाई कोरसौलामै चियापानले सत्कार गरेपछि करिब रातको १० बजेतिर जन्ती बरेतीहरूको खाना तयार भयो । परम्परागत विवाह जस्तै खानापनि परम्परागत नै थियो । खानाका परिकारहरू के के थिए ? कसले पकायो ? कसरी बरेतीहरूले खाना खाए भन्ने सन्दर्भ यसपछिको भाग – ३ मा उल्लेखगर्ने छु । आफू त बेहुला (राजा) भएकोले विशेष सत्कारका साथ गलैंचा (दन) मा बसेर पलेटी कसेर सेलपुरी, लाउन, हलुवा, केराको अचार, कोइरालको अचार, तरकारी, सायद बेहुला घरबाट लगिएकै धिनाली (दही) हुनु पर्छ ! मज्जाले भविष्यका सपनाहरू बुन्दैएक कसैको श्रीमान, कसैको भेना, कसैको ज्वाँई वन्दैगरेको आनन्दानुभूति सहित खाएको अहिले पनि स्मरण छ । खाना खाएर बरेतीहरू सुत्नको लागि कोही तल्लोघरमा गए, कोही कतै गए त कोही गैसको उज्यालोमा कोरसौलामा नै बसेर दहल पगड तास खेल्न थाले सायद ! म बेहुला, सिन्याडी पतरे बाजे, ब्रहृमण जयदत्त काका, धरमसिंह दादा, बुवा, दानसिंह काका, दामोदर अंकल, पुरन प्रधान बाजे, मामा लगायतका ८÷१० जना हामी जमुनाकै घरमा सुते । सुत्ने व्यवस्था धेरै राम्रो गरेको थियो हाम्रो लागि । भित्र कोठाको छेउको भकारीको माथि गैसको चहकिलो प्रकाशमा सफा बुट्टेदार गलैचा (दन) ओछ्याएको र सुकिला सिरक ओड्नको लागि व्यवस्था गरिएको थियो । यस्तो राम्रो व्यवस्थापनको लागि जमुना र जमुनाका माइतीहरूलाई धन्यवाद नदिइ रहन सक्दैन । बाहिर कोही दोहोरी खेल खेल्दैछन्, कोही केहिकाममा व्यस्त छन् भने हामी भने कोलाहलका बाबजुद पनि निदाएछौं । एक कुरा त भन्नै बिर्सेछु ः हामी सुत्ने भकारीको छेउमा सलाई र याक चुरोटको बट्टापनि राखिएको थियो । सुत्नुभन्दा अगाडि अम्मलीहरूले चुरोट पनि खाँदै गरेको दृश्य अहिले पनि मानस पटलमा ताजै छ । शुभरात्री !!
रातीको ३ः०० बजेतिर जयदत्त काकाले उठ सबैजना, ४ः०० बजेको विहेको लगन छ भनेर आवाज (डाँको) लगाएपछि आँखा मिच्दै हामीहरू उठ्यौं । जग्गे (विवाह मण्डप) मा सबै सरजामहरूको व्यवस्थापनको काम पनि सकियो । विवाह कर्मकाण्डको लागि गोठ खाली गरेर गोठमा नै जग्गे बनाइएको थियो । गोठको जग्गेमा गर्ने सबै कर्मकाण्ड बेहुला बेहुली पक्षका ब्राह्मण तथा आपन्तहरूले वाडोबाट नै बेहुला बेहुलीको देखाभेट नभइकनै बेहुलीको हातको बुढी औंला समात्ने, बेहुलीले बेहुलाको खुट्टा धुने, जुठो खाने खुवाउने, गरगहना लगाउने लगायतका सबै कर्महरू एकैछिनमा सकेर बाहिर विवाह मण्डपमा विहेको लागि सरोकारवाला सबैजना आयौं ।
विवाह मण्डपमा बेहुला बेहुली (जमुना) …
गोठ भित्रको बिहेको कर्मकाण्ड सकेर राजा (बेहुला) कमिज, पाइन्ट, एलटी जाकेट, खाकीको जुत्ता, कम्मरमा सानो खुकुरी भिरेको, घाँछीमा दुबो र रुपैयाँको माला, ढाकाको टोपी, रिवन चश्माद्वारा सुसज्जित राजा र गरगहना, साडी ब्लाउज, रातो सुइटर, रातो चमकदार घुम्टोद्वारा सजिएकि लजालु स्वभावकी बेहुली जमुनालाई दुबै पक्षका प्रजाहरूले राजा र जमुनालाई एक अर्काेबाट नछुट्टिने गरेर व्यसाडो ( बेहुला र बेहुलीले कम्मरमा बाध्ने करिब अढाई तीन मिटर लामो कपडा) ले तयार पारे पछि सबैजना बाहिर विवाह मण्डपमा भेला भए । विहे हेर्नकोलागि साली हुनैलागेका जुत्ता लुकाउने जमुनाका साँखाहरू लगायत धेरै जनाको उपस्थिति भयो ।
विवाह मण्डपको सजावट सम्बन्धी पनि थोरै चर्चागर्नु सान्दर्भिक हुन्छ । मण्डपको चारकुनामा चारवटा केराका थुम गाडिएका थिए । रातो, हरियो, पहेंलो, सेतो, कालो रङ्गद्वारा निर्मित झट्ट हेर्दा दन (गलैंचा) जस्तै देखिने बुट्टेदार बेती, बेतीको माथि झुल चन्दन लगाएको र मण्डपको चारैतिर रङ्गीचङ्गी ध्वजा पताकाहरूले सिङ्गारेको थियो । विवाह मण्डपको चारैतिर तल पराल बिछाएर माथि रङ्गीबिरङ्गगी दनहरू गैसको चहकिलो प्रकाशमा मनमोहक र आकर्षक देखिएको थियो । दनहरूको बाहिर मण्डपको चारैतिर बेहुला बेहुलीले परिक्रमा गर्नकोलागि ठाउँ छोडेर लामवद्ध भएर दर्शकहरू उभिएका थिए ।
विवाह मण्डपमा राजा र जमुनाको विवाहको पूर्ण तयारी !
परम्परागत विवाह भाग – ३ (तीन)
गरगहना र विहे पोशाकमा रहेका दुलाहा दुलहीको लागि विवाह मण्डपको एकछेउमा राम्रो बुट्टेदार दनको आसन वनाइएको थियो । गोठ भित्र गरिने सम्पूर्ण कर्मकाण्ड सकेर ब्यासाडोमा बाधिएका हामी राजा रानी शंख घन्टको माङ्गलिक ध्वनीसंगै बेदीमा प्रज्वलित अग्नीको चारैतिर सुल्टो (दाहिने हात बेदीतर्फ पर्नेगरी) परिक्रमा गराएर पूर्वाभिमुख बस्न लगाइयो । उक्त आसनमा राजा र जमुनालाई बस्न भनियो र हामी पनि थचक्क बस्यौं । दुलाहा दुलहीको छेउमा ब्राह्मण जयदत्त अंकल र जमुनाको माइती पक्षका ब्राह्मण मण्डपको अर्काे पट्टी बसे । राजाका बरेतीमा आएका जन्ती (बरेती) दौंतरीहरू र जमुनाका दौंतरीहरू पनि दुलाहा दुलहीको नजिकमै बसेर एक अर्काेमा जिस्किने, हाँसोठट्टा गर्ने लगायतका कुराहरू भइरहेका थिए । अब हामी वरवधुलाई गणेश, कलश, ब्राह्मण, अग्नि र जन्ती (बरेती) हरूलाई साक्षी राखेर वेदीको वरिपरि हातमा धानको लाभा (लया) सहित व्यासाडोमा बाधिएका हामी राजारानीले राजाले रानीको कुममा दुबैहात राखेर र बेहुली रानीले हातमा लयाको दुनोलाई दुबैहातले छर्छर निफन्दै गर्दै पाँचपटक परिक्रमा गर्न लगाइयो र हामीले पनि निर्देशानुसार सबै काम गर्याैं । परिक्रमागर्दा जमुनाको भाइ÷दाइले धानको लाभा सहितको टोकरी हातमा समाइ दिन्छन् । ब्राह्मणले पनि मन्त्रोच्चारण सहित अग्नीमा हवन गर्दछन् ।
विवाह मण्डपमा वेदीको वरिपरि पाँचपटक परिक्रमा गरिसकेपछि मण्डप छेउमा एउटा टोकरी (दुनो) मा सातवटा बत्ती बालेको थियो । एक प्रज्वलित बत्तीलाई अलग राखेर बाँकि छवटा बत्ती एकैपटक निभाउन बेहुली जमुनालाई ब्राहृमण जयदत्त काकाले निर्देशन दिनु भयो र जमुनाले पनि सात कदम अगाडि हिडेर सोही अनुसार बत्ती एकैचोटी निभाउनु भयो । एकैपटक बत्ती निभाएको देख्दा दर्शक बरेतीहरूले ताली बजाएको गडगडाहट आवाजको अहिले पनि ताजा स्मरण छ । बाँकी अलग राखेको बत्तीको फूल अक्षताले पुजन गर्न निर्देशन भयो ब्राह्मण काकाबाट । सो काम पनि सम्पन्न भयो । बत्ती निभाउनुको कारण के रहेछ त भन्ने पाठकको जिज्ञासामा उक्त बत्ती निभाएपछि अर्की सौता भित्रीदैन भन्ने धार्मिक मान्यता रहेछ ।
बत्ती निभाउने काम सम्पन्न भएपछि बेहुली जमुनाको घुम्टो उघारेर कपालमा तेल हाल्न र काइयोले कोर्नु भन्ने ब्राह्मण पक्षबाट निर्देशन भयो र निर्देशानुसार सो काम पनि पूरा गरे । यसरी मैले बेलीबिस्तार लगाउने क्रममा निर्देशानुसार नै कपाल कोरे, तयार पारिएको सेतो सिन्दुर पाटोमा सिउँदोमा सिन्दुर हाले र सिन्दुरको टीका स्वयम् पनि लगाए । एवम् प्रकारले मैले बेहुली जमुनालाई आफ्नो खल्तीबाट केही पेवाधन पनि दिए । साथै मैले मायाले बोलाउने निजी नाम पनि राखे “जमुना“ । मैले पेवाधनको रुपमा दिएको रु. ५००÷= अहिले पनि जमुनाले आफ्नो पुरानो पर्समा सुरक्षित राखेकी छे भन्दा पाठकज्यूहरूलाई पत्यार लाग्छ कि लाग्दैन । तर रु. ५००÷= ( पाँचसय) अहिलेसम्म पनि सुरक्षित राखेको देख्दा अचम्मित भने पक्कै पनि छु । जमुनाले गुडको तीन भाग लगाइन । एकभाग आफ्नोलागि, एकभाग मेरोलागि र एकभाग अतिथिहरूको लागि । आफूले खाइन, मलाई पनि खुवाइन र एक अर्काेको जुठो गुड खाने खुवाउने काम पनि सम्पन्न भयो ।
म राजा र जमुना उभियौं र जमुनाको पछाडि राजा पनि टाँसिएर ५÷७ पाइला पछाडी सर्याैं । राजा र जमुनालाई मेरो अति नै मिल्ने साथी जस्तै नाताले अंकल सँगै पढ्ने गोविन्द अंकलले हामीलाई अँगालोमा अठ्याउँदै ध्रुवताराको अवलोकन गराउँदै जमुनाले दुनामा राखिएको धानको लया आकाश तर्फ फालिन र अंकलले जोरले भूईँमा पछार्नु भयो । दर्शकहरूबाट तालीको गडगडाहट आवाज सहित ध्रुव तारा अवलोकन गर्ने काम पनि सम्पन्न भयो । यसरी राजा र जमुनाको विवाह सम्पन्न गर्नमा सघाउने सम्पूर्णलाई हार्दिक धन्यवाद सहित नमन गर्दछु ।
परम्परागत विवाह भाग – ४ (चार)
सबै जन्ती बरेतीहरूलाई साक्षी राखेर जमुनाको सिउँदोमा सिन्दुर हालि विवाहमण्डपमा विधि विधान सम्मत तरिकाले पाँचपटक परिक्रममा गरेर सबै काम सम्पन्न भइसकेपछि अब जमुना मेरी भइन र म उनको भए । साली हुनैलागेका जुत्ता चोरहरु पनि नाताले साली भए । अब भने राजा साँच्चिकैको भिनाजु भए । कोही जेठान त कोही साला ! सासुससुरा सबै भए । विवाह मण्डपको विवाहको समापन पछि बिहान २०४६ साल मंसिर १८ गते शुक्रबार बिहानको घामको किरणसँगै राजा रानी सहित जन्ती बरेतीलाई पठाउने सुरसार हुन थाल्यो ।
हिजो जन्तीको आगमन जस्तै कोही भतेडीमा आगो बालिरहेका छन् त कोही फोंला (तामाको गाग्रो) मा पानी भरी रहेका देखिन्छन् । चर (तामाको ठुलो ताउलो) मा चामल हालेर पखाली रहेका देखिन्छन् । परम्परागत विवाह जस्तै खाना पनि परम्परागत नै हो । कोही सिलोटमा मसला पिस्दैछन् । एकैछिनमा दालभात तरकारी तयार भयो । जमुनाका माइती घरमा आमन्त्रित सबै र बेहुला राजाका प्रजा (बरेती) हरूले पनि खाना खानु भयो । एलटी जाकेट, बेलीबटन पाइन्ट, ढाका टोपी, घाँटीमा दुबो र रुपैयाँको माला, कम्मरमा खुकुरी भिरेको बेहुला राजा र घाँटीमा गलोबन्द र चरेवा पोते, नकवाली बुलाकी, फुली, हातमा पाउजी र खुट्टामा पैंडा साडी ब्लाउज र सुइटरमा सुसज्जित घुम्टो भित्र लुकेकी लजालु स्वभावकी बेहुली जमुनालाई बेहुला घर पठाउने तयारी हुन थाल्यो । दिउँसो करीब १२ः०० बजेसम्म सबैले खाना खाइसकेको हुनु पर्दछ सायद ! जन्ती बरेतीहरू, ससुराली पक्षका सबै आमन्त्रित गाउँले तथा अन्य इष्टमित्रहरू जमुनाको माइतीघर बाराको आगनमा एकत्रित भए । राजा र जमुनाको तापदानी ध्वजा पताका (पतङ्ग) हरूले सजाइयो । एकछिन पछि मसाकीविन बजाउने केशर अंकल पनि बिचमा टुप्लुक्क आइपुग्नु भयो । करीब एक घण्टा जति उहाँले सङ्गितमय धुनमा मसाकीविन बजाउनु भयो । दर्शकहरू मन्त्रमुग्धभएर मसाकीविनको धुनमा मस्त छन् भने कोही नाची रहेका देखिन्छन् । कृष्णको मुरली धुन जस्तै मसाकीविनको धुनमा मस्त बरेतीहरू कोही केशर अंकलको टोपीमा रुपैयाँका नोट राखिरहेका छन् भने कोही टोपी तलबाट रुपयाँ छिराइ रहेका छन् ।
सबै तयारी गर्दागर्दै दिउँसोको करीब ३ बजी सकेको हुनु पर्दछ । अब जन्तीलाई विदाइ गर्ने कार्यक्रमको सुरुवात हुँदैछ । बाँकी कुरा विशेषगरी जमुनासँगको यस पछिको भाग – ५ मा उल्लेख गर्नेछु । पढ्न नछुटाउनु होला । धन्यवाद
परम्परागत विवाह भाग – ५ –पा
राजा र जमुनालाई बेहुला घर पठाउने तयारी भइरहेको छ । बेहुला पक्षका बरेतीहरूलाई टीका र दक्षिणा ग्रहणकालागि आमन्त्रण गरिन्छ । बरेतीहरू पालैपालो भित्र गएर कोही अक्षता सहितको रातो टीका लगाउदै खल्तीमा लिफापा च्याप्दै बाहिर आइरहेका र कोही टीका लगाउन भित्र गइरहेका देखिन्छन् । एकैछिनमा टीकाटालोको काम सम्पन्न हुन्छ । ध्वजा पताकाले सुसज्जित तापदानीमा राजा र जमुनालाई बसाइयो । मसाकीविनको सङ्गितमय धुनमा जन्तीबरेतीहरू लामवद्धभएर बाराबाट उकालोतर्फ लागे । जमुनाको स्याक्कु स्याक्कु, हींहींहींको रोदनले आँखा नरसाएका भने होइन । बिस्तारै जन्ती कछुवाको गतिमा अगाडि बढ्दै माथि उकालोमा पुग्छ । राजाको घरबाट आउँदा उकालो चढे जस्तै जमुनाको घरबाट आउँदापनि उकालो नै चढ्नु पर्ने रहेछ ।
हाम्रो विवाह जत्था घरबाट माथि उकालो हुँदै माथि लेकमा मसाकीविनको संगीतमय धुन र वेकुल ( बिगुल) को मिठो ध्वनिसंगै अगाडि बढ्दै जान्छ । बरेती बिस्तारै कछुवाको गतिमा अगाडि सर्दै गरेको रोचक दृश्यले साँच्चिकै म ठुलै मान्छे भएछु कि क्या हो ? मनमनै गदगद भैरहेको थिएँ । बरेती जाने बाटो बाटोमा रामायण, महाभारत, गीताका पुस्तक राखिएका थिए त कतै स्याउला र कतै सल्लाको हरियो पिरोल विछ्याइएको देखिन्थ्यो । कतै बाटो बाटोमा महिला दिदीबहिनीहरु सगुना ( सगुन) गाइरहेका थिए । बाटोमा राखिएका पुस्तक, स्याउला, पिरोलमा गच्छे अनुसार रुपैयाँ पैंसा राख्ने, गुडको भेल्ली दिने काम दान सिंह काका (चक्कीवाला) गरिरहनु भएको थियो । एवम् प्रकारले बरेती (जन्ती) चौपाता, जयपुर, जेठीबौरानीका ढुङ्गा, बुरौंस्या, ऐरीछाना, लोदेको सैन, स्याउले, ठुलीखालीहुँदै बेलुकी ८ः०० बजेतिर माथि सचिव अंकलको घरनेर पुगियो । कोही भतेडीमा हलुवा पकाई रहेका छन् त कोही केही अन्य काम गरिरहेका देखिन्छन् । करिब ८ः१५ बजेतिर जन्ती बेहुला घरमा पुग्यो । जमुनालाई भित्र्याउनकोलागि ढोकाको देलीमा ब्राह्मण जयदत्त अंकलले मन्त्रोच्चारणसहित केही कर्महरू गरे । ईजा, काकी, ठुली ईजा, लगायतका जमुनाका सासुहरूले केही कामहरू जमुनासँग गरेको देखिन्थ्यो । आमन्त्रितहरू सबैलाई खाना खुवाउने लगायतका कामहरू सम्पन्न भए । शुभरात्री …!! यसपछिको भाग – ६ मा जमुनासँगको जीवनको यथार्थ, बोलीचाली, गृहस्थी आदि सम्बन्धी भलाकुसारी उल्लेख गरिनेछ ।
क्रमश ..
मान सिंह धामी –भौनबाटी )
उप–प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
स्थायी ठेगाना
मालिकार्जुन गाउँपालिका – ४ हुनैनाथ गोठ्युडी –कोटबुङ्गा ) दार्चुला