धनगढी – सुदूरपश्चिम प्रदेशमा आज पुसे पन्ध्र पर्व मनाइँदै छ । हरेक वर्ष पुस १५ गतेलाई सुदूरपश्चिममा विशेष महत्त्वका साथ मनाउने गरिएको छ ।
पुसे पन्ध्रका अवसरमा गाउँका सबै जना एक ठाउँमा जम्मा भएर रातभर देउडा खेल्ने, आगो तापेर जाग्राम बस्ने, दन्त्यकथा, आइनै बातै सुन्ने सुनाउने, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल खाने प्रचलन छ।
यद्यपि सुदूरपश्चिमका पहाडी भूभागबाट तराइ झरेकाहरूमा भने विस्तारै यो पर्वको मौलिकता कम हुँदै गएको बुढापखाले चिन्ता व्यक्त गर्नु भएको छ । तर पनि पछिल्लो समयमा विभिन्न संघसंस्था लगायत विद्यालय र क्याम्पसहरुले विभिन्न कार्यक्रम गरि पुसे पन्ध्र मनाउँदै आएका छन् ।
यस्तै धनगढी-७ देवहरिया रहेको साइपाल शिक्षा सदनले साईपाल फुड फेस्टको आयोजना गरेको छ । विद्यार्थीहरुलाई पढाईमा मात्रै अगाडि बढाउनुभन्दा पनी बाहिरी ज्ञानको जानकारी गराउने मनसायले उक्त फेस्टको आयोजना गरीएको स्कुलका प्रधानाध्यापक कर्ण बहादुर ऐरले बताउनुभयो ।
सुदूरपश्चिममा पुस १५ को रातलाई ‘ठूली रात’को रुपमा मनाइन्छ । यो दिन गाउँका सबैजना एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने चलन छ ।
हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्त्वका साथ हेरिने बैतडीको सुर्नया गाउँपालिकाकी स्थानिय, सरिता बोहराले बताउनुभयो ।
हाम्रो समाजमा विशेष महत्त्व बोकेको पुस पन्ध्र पछिल्लो समय प्रविधिको विकाससँगै केही लोप हुँदै गएको भएतापनि अझै पनि यो पर्वलाइ सुदूरपश्चिममा महत्त्वका साथ मनाइँदै आइरहेको कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति, यमराज जोशीले बताउनुभयो ।
पुस १५ देखि उत्तरायण सुरु हुने तथा दिन बढ्ने र रात घट्दै जाने मान्यता छ । पुस पन्ध्रको सांस्कृतिक एवम् सामाजिक महत्व रहेको छ । यो रात बूढापाकाबाट अर्ती उपदेश सुन्ने, मनोरञ्जन गर्ने र कन्दमुल खाने गरिन्छ ।
सुदूरपश्चिममा रातभर विभिन्न पौराणिक र लोककथा, गाउँखाने कथा र गीत संगीतसमेत सुन्ने–सुनाउने गरेर भरपुर मनोरञ्जन लिने पर्वका रूपमा यसलाई लिइन्छ ।
रेडियो केएमसी संवाददाता, गिरिजा प्रसाद पनेरुले तयार पारेको रिपोर्ट ।