धनगढी। ईस्वी संवतको नयाँ वर्ष सन् २०२४ को पहिलो दिन आज राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ । नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
नेपाली टोपीको साइनो बङ्लादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन्
यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धूमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन्। यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ।
नेपालमा थुप्रै जातीय तथा सांस्कृतिक टोपीहरु प्रचलनमा छन् । त्यसका साथै थुप्रै मौसमी र फेसनेवल टोपीहरु भित्रिरहेका छन् । विशेषतः कालोटोपी, भाद्गाउँले टोपी र ढाकाटोपीलाई नेपाली टोपीको रुपमा चिनिँदै आएको छ । विगतदेखि नै विश्व समुदायले पनि यही टोपीलाई नेपाली टोपी भनेर बुझ्दै मान्दै आएका छन् ।
नेपाली टोपीको प्रवर्द्धन गर्ने उद्धेश्यसहित अन्तराष्ट्रिय नेपाली टोपी दिवस मनाइरहँदा हामीमाथि थुप्रै प्रश्नहरु बारम्बार आउने गरेका छन् । टोपी लगाउँदैमा राष्ट्रवादी भइन्छ र ? आधुनिक युगमा पनि टोपीबाटै चिनाउन खोज्नु सही हो र ? विदेशी मितिमा नेपाली टोपी दिवस मनाउनुको के अर्थ ? स्वाङका लागि मात्रै टोपी लगाउनुको के अर्थ ? पुरुषले लगाउने टोपी महिलाले किन लगाए ? लगायतका आलोचनात्मक जिज्ञासाहरु पैदा भएका छन् ।