धनगढीमा पृथ्वी जयन्तीका अवसरमा अन्तरक्रिया कार्यक्रम [फोटोफिचर]

धनगढी – धनगढीमा पृथ्वी जयन्तीका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

धनगढीको कैलाली बहुमुखी क्याम्पसको सेमिनार हलमा केएमसी सिर्जनशील क्लबको आयोजना र जागौँ युवा संस्था, धनगढीको सहकार्यमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा पृथ्वीनारायण शाह विस्तारवादी कि दूरद्रष्टा भन्ने शिर्षकमा वक्ताहरूले आफ्नो विचार राख्नुभएको छ ।

कार्यक्रममा दिनेश एफएमका सह सम्पादक नारायण अवस्थीले तत्कालीन समयमा भएका राम्रा र नराम्रा कुराहरू सिकेर अहिलेका सत्तामा रहेकाले राज्य कसरी असफल हुने गर्थे, कस्तो षड्यन्त्र अपनाइन्थ्यो र कसरी राज्य सफल हुने गर्थ्यो भन्ने कुरा सिक्न जरुरी रहेको बताउनुभयो ।

प्रजा बलियो भए मात्रै राज्य बलियो हुन्छ भन्ने सन्देश दिनुहुने पृथ्वीनारायण शाह वास्तवमै दूरद्रष्टा भएको ऐश्वर्य विद्या निकेतनका शिक्षक नरेन्द्र भट्टले बताउनुभयो ।

‘घुस लिन्या र दिन्या देशका शत्रु हुन्’ भन्ने पृथ्वीनारायण शाहको भनाइलाई आजका पुस्ताले शिरोधार्य गर्नुपर्ने सुदूरपश्चिमाञ्चल एकेडेमीका पूर्व क्याम्पस प्रमुख कटक जप्रेलले बताउनुभयो ।

आज पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती, पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीकाे कोखबाट जन्मिनुभएका पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएकाले उहाँको जन्मजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियोे । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार भएको थियो ।

पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेका इतिहास छ ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोटमा विजय हासिल गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाण्डौं उपत्यकामा विजय हासिल गर्नुभएको थियो ।

उपत्यकामा विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो । उहाँका दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।

 

Leave A Reply

Your email address will not be published.